२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

कृषि क्षेत्रको प्रवर्द्धन र व्यावसायिक वातावरण निर्माणमा हाम्रो ध्यान केन्द्रित हुनेछ

कृषि क्षेत्रको प्रवर्द्धन र व्यावसायिक वातावरण निर्माणमा हाम्रो ध्यान केन्द्रित हुनेछ

उसन बज्राचार्य, उपाध्यक्ष (वाणिज्य), ललितपुर उद्योग वाणिज्य संघ

नेपालको व्यावसायिक वातावरणमा कोभिड–१९ ले निकै ठूलो असर पुर्याएको छ । यस किसिमको असरलाई न्यूनीकरण गर्ने कार्यमा व्यावसायिक संघसंस्थाले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राख्छन् ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित उपाध्यक्ष उसन बज्राचार्य ।

कोभिड–१९ बाट थिलोथिलो भएको अर्थतन्त्रलाई अब कसरी माथि उकास्ने भन्ने सम्बन्धमा सबै व्यवसायीहरु चिन्तामा छन् । यसै परिस्थितिमा देशकै सम्पूर्ण व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सम्पन्न भएको छ । सोही महासंघको प्रभावशाली जिल्ला संघ अन्तरगत पर्ने ललितपुर उद्योग वाणिज्य संघको निर्वाचन पनि भर्खर सम्पन्न भइ नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

ललितपुर जिल्लालाई औद्योगिक एवं व्यावसायिक दृष्टिकोणले समेत एक सशक्त जिल्ला मानिन्छ । यस जिल्लामा हुने आयस्रोतको मुख्य माध्यम भनेको व्यापार नै हो । हस्तकला लगायत उत्पादनमूलक उद्योगमा अग्रणी स्थानमा रहेको यो जिल्लाका उद्योगी व्यवसायीहरुका समस्या समाधान एवं संघमा एकीकृत गर्ने कार्यको जिम्मेवारी नयाँ कार्यसमितिमा परेको छ ।
नयाँ कार्यसमितिमा वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफल व्यवसायी उसन बज्राचार्यले पाएका छन् । उनी मूलतः निर्यात कार्यमा संलग्न व्यवसायी हुन् । सिवी आर्टस् नामक कम्पनी सञ्चालन गर्दै आएका उनी ललितपुरको व्यावसायिक वातावरणसँग परिचित व्यक्ति हुन् । विगत ३ दशक पहिले देखि ललितपुर उद्योग वाणिज्य संघमा साधारण सदस्यको रुपमा संलग्न भई विभिन्न भूमिकामा रहँदै संस्थागत योगदान पुर्याउँदै आएका उनले कोषाध्यक्ष एवं महासचिव सम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

अघिल्लो कार्यसमितिमा रहँदा उनले निर्यात प्रवर्द्धन एवं नीतिगत पहल सम्बन्धी उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अहिलेको कार्यसमितिमा वाणिज्य क्षेत्रका सदस्यहरुको हकहितको लागि काम गर्नुपर्नेमा आफू बढी केन्द्रित हुने बताउँछन् । ललितपुर उद्योग वाणिज्य संघमा हाल करिब १७ सय रहेका सदस्यहरुलाई बढाएर यही कार्यकालमा नै ३÷४ हजार हाराहारीमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउँदै आफू सोही बमोजिम आन्तरिक तयारीमा जुटेको समेत बताए । यद्यपि ती कार्यक्रमहरुलाई छलफल र औचित्यताको आधारमा संघका साझा कार्यक्रमको रुपमा अघी बढाउने समेत उनले बताएका छन् ।

कृषिलाई प्राथमिकता दिनुपर्छः
ललितपुर क्षेत्रलाई व्यावसायिक कृषिमा अग्रसर बनाई यस सम्बन्धी काम गर्ने सम्बन्धमा आफू लगायतको कार्यसमिति ललितपुर महानगरपालिका लगायत अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गर्दै अघी बढ्नुपर्नेमा उनी जोड दिन्छन् । संघको अग्रसरतामा कृषि क्षेत्रलाई अघी बढाउन प्रभावकारी तवरले काम गर्नसके ग्रामीण क्षेत्रका व्यक्तिहरुको अवस्था माथि उठ्ने र समग्र विकासमा पनि ठूलो योगदान पुग्ने उनको धारणा छ ।

साथै ललितपुर उद्योग वाणिज्य संघ सबै किसिमका व्यवसायीहरुको साझा संगठन भएकोले सबै पक्षलाई सम्बोधन हुने गरी न्यायोचित तवरले व्यवसायीहरुका समस्या समाधानमा नवनिर्वाचित कार्यसमिति सक्रियतापूर्वक अघी बढ्ने समेत उनले बताए । सबै किसिमका व्यवसायीलाई सम्बोधन गर्न संघ अन्तरगत कृषि समिति, महिला समिति, हस्तकला समिति, वाणिज्य समिति लगायत विभिन्न उपसमितिहरु निर्माण गरी अबको उद्योग वाणिज्य संघलाई व्यवसायीहरुको साझा संघको रुपमा पहिचान कायम गर्नुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् ।

पछिल्ला दिनहरुमा कोभिड–१९ को कारण नेपालको निर्यात एवं व्यावसायिक वातावरण कमजोर बन्दै गएको अवस्था र नेपाल सरकारले समेत कृषि क्षेत्रलाई विशेष प्राथमिकताको साथ अघी बढाइरहेको परिप्रेक्ष्यमा नेपालमा कृषि क्षेत्रको सम्भावना आगामी दिनमा अझ राम्रो हुँदै जाने उनी बताउँछन् ।

चक्रपथ भन्दा बाहिरका ठाउँहरुमा कृषिको सम्भावना राम्रो हुँदाहुँदै पनि कृषि क्षेत्रमा युवाहरुको चासो बढ्न नसकेको अवस्थालाई दृष्टिगत गर्दै बज्राचार्यले कृषि क्षेत्र समेत राम्रो सम्भावना भएको क्षेत्र हो भन्ने सन्देश पैदा गर्न संघको भूमिका सशक्त बन्नुपर्नेमा विशेष जोड दिए । संघले उद्यमीहरुलाई जागरुक गराउन पहलकदमी लिएको खण्डमा कृषि प्रतिको जागरण असम्भव नभएको उनको धारणा छ ।

को हुन् उसन बज्राचार्य ?
नेपालमा हाल हस्तकला अन्तरगत पर्ने मुर्ति एवं चाँदीजन्य सामानहरु उत्पादन तथा निर्यात सम्बन्धी काम गर्दै आएका व्यवसायी हुन् उसन बज्राचार्य । वि.सं २०४१ देखि ललितपुुर उद्योग वाणिज्य संघमा साधारण सदस्य देखि अघी बढाएको उनको व्यावसायिक यात्रा निकै सफलतापूर्वक अघी बढेको छ । सिबी आर्ट नामक निजी व्यवसाय सञ्चालन गर्दै आएका उनी आइएसओ प्रमाणित गराई गुणस्तरीयतामा सुनिश्चित गर्न सफल छन् ।

विभिन्न देशहरुमा हुने अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागि भई आफ्ना उत्पादनहरुको निर्यात प्रवर्द्धन गर्दै आएका उनले व्यवसायीहरुका समस्या समाधानमा विशेष पहलकदमी लिनेमा ललितपुरको व्यावसायिक क्षेत्र आशावादी छ ।

साथै आफू पनि व्यवसायीका चाहना बमोजिम सक्रियतापूर्वक गतिविधिहरु अघी बढाउन क्रियाशिल रहनेमा बज्राचार्यले प्रतिबद्धता जनाए । त्यसको लागि संघको नेतृत्व ललितपुरका व्यवसायीहरुका खास समस्याहरु पहिचान गरी ती समस्याहरु समाधान गर्न एवं व्यावसायिक प्रवर्द्धनकाे लागि गर्नुपर्ने कार्यहरुलाई प्राथमिकताको आधारमा अघी बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij