२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाली कागजको प्रयोगलाई प्रोत्साहित गरिनुपर्छः व्यवसायी शेषराम श्रेष्ठ

नेपाली कागजको प्रयोगलाई प्रोत्साहित गरिनुपर्छः व्यवसायी शेषराम श्रेष्ठ

शेषराम श्रेष्ठ, नमस्ते पेपर ह्याण्डिक्र्याट (भक्तपुर)

शेषराम श्रेष्ठले घरेलु कागज उत्पादन सम्बन्धी तालिम लिएपश्चात् कागज उत्पादन क्षेत्रमा संलग्न भएका हुन् । केही समय विभिन्न कम्पनीहरुमा संलग्न रही काम गरेका उनले शुरुका दिनमा त आफ्नै घरबाट नै कागज उत्पादन सम्बन्धी कार्य गर्दै आएका थिए । तर पछि कागज उत्पादन कार्यमा व्यावसायिक तवरले नै संलग्न हुने मान्यताले उनले ‘भिजिट नेपाल’ कार्यक्रम चलिरहेको समयमा यस कार्यलाई गति दिएका हुन् ।

घरेलु उद्योगको रुपमा सञ्चालन गर्न सकिने कागजको मुख्य कच्चा पदार्थ लोक्ता हो । यो नेपालका विभिन्न जिल्लाहरुबाट सङ्कलन गरिन्छ । हस्तकला अन्तरगत पर्ने कागज उद्योग मुख्यतः पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । साथै नेपालमा उत्पादित हाते कागजको मुख्य बजार भनेको अन्तर्राष्ट्रिय बजार हो । पछिल्ला बर्षहरुमा केही मात्रामा नेपालमा पनि विभिन्न महत्वपूर्ण अवसरहरुको लागि नेपाली कागजमा आधारित सामानहरु समेत प्रयोग गर्न शुरु गरेका छन् । खासगरी गिफ्ट आइटम, ज्वेलरी बक्स, विवाहमा निमन्त्रणा कार्ड लगायतका सामानहरु समेत अहिले नेपालीहरुको समेत रोजाइमा प्रयोग गर्न थालेका छन् ।

तर नेपाल सरकारले भने अझै पनि स्वदेशी सामानको उपयोगलाई विशेष महत्व दिन सकेको छैन । राज्यले स्वदेशी वस्तुको उपयोगलाई विशेष महत्व दिन सकेको खण्डमा मात्र हाम्रो अवस्था सुधार हुन सक्छ ।

कागज उद्योगमा विश्व बजारमा आउने उतारचढावको प्रभाव
नेपालमा उत्पादन भएका सामानहरु बिक्री गर्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आउने उतारचढावहरुले पनि असर नपारेका होइनन् । तर अहिलेको कोरोना महामारीले विश्वव्यापी रुपमा सृजना गराएको परिस्थिति नै मैले व्यावसायिक क्षेत्रमा संलग्न रहेको लामो यात्राको क्रममा भोग्नुपरेको समस्या हो । अहिले यो समस्या सबैजसो उद्योगमा परेको छ ।

कागज उद्योगहरु
नेपालमा अहिले काठमाडौं उपत्यकामा थुप्रै कागज उद्योगहरु सञ्चालनमा छन् । कागज उद्योग नेपालका सबैजसो क्षेत्रहरुमा फैलिएको छ । कोरोना सङ्कट शुरु हुनु भन्दा पहिले नेपालमा कागज उद्योगहरु राम्रो तरिकाले नै चलेका थिए । तर लकडाउन भन्दा पछाडि भने यस उद्योगको अवस्था बन्द जस्तै रह्यो ।

सबै रङमा कागज उत्पादन
नेपाली हाते कागजहरु ग्राहकको रुचि र आवश्यकता बमोजिम उत्पादन गर्न सकिन्छ । संखुवासभा, दोलखा लगायतका जिल्लाहरुमा उत्पादन भएका लोक्तालाई काठमाडौंमा ल्याई ती सामानहरु उपत्यकाका उद्योगहरुलाई विक्री गर्ने काममा थुप्रै सप्लायर्सहरु संलग्न छन् । उद्योगले उत्पादन गरेका सामानहरु विभिन्न एक्सपोर्टरहरुले बाह्य बजारमा निर्यात गर्दछन् ।

हातको बढी प्रयोग
सानो क्षमतामा कागज उत्पादन गर्ने उद्योगले मुख्यतः हातबाट नै यी सामानहरु उत्पादन गर्नुपर्छ । अलि ठूलो क्षमतामा उद्योग सञ्चालनको लागि विभिन्न मेसिनहरु आवश्यक पर्छन् । सबैजसो मेसिनहरु साधारण किसिमका नै हुन् । जुन् स्थानीय बजारका वर्कशपहरुमा नै उत्पादन हुने गर्छन् ।

कसरी उत्पादन हुन्छ कागज  ?
लोक्ता शुरुमा काठ जस्तो निकै कडा हुने गर्छ । त्यसलाई २४ घण्टा पानीमा भिजाएर नरम बनाइन्छ । त्यसपछि कास्टिक मिसाएर ५ देखि ७ घण्टा सम्म निरन्तर पकाइन्छ । यसपछि लोक्तालाई निकै राम्रोसँग पखालेर त्यसमा भएका अनावश्यक पदार्थहरु हटाउनुपर्छ । साथै थोरै रसायन राखिन्छ । उक्त रसायनले कागजलाई सेतो बनाउँछ । यसपछि भोलिपल्ट कागज पेल्नुपर्छ । त्यसपछि आफ्नो आवश्यकता अनुसारको साइजमा कागज तयार गर्नको लागि काठको फ्रेममा राखेर तयार गरिन्छ । यसरी तयार भएको कागजलाई घाममा सुकाउनुपर्छ । यदि रंगिन कागज आवश्यक छ भने सोही बमोजिमका रंगहरु उचित मात्रामा मिश्रण गर्नु जरुरी रहन्छ । यसरी तयार भएको कागजलाई आवश्यकता बमोजिमका विभिन्न हस्तकलाजन्य वस्तु उत्पादनको लागि प्रयोगमा ल्याउन सकिन्छ ।

नेपालमा सञ्चालनमा रहेका केही कागज उद्योगहरुले अढाइ सय भन्दा बढीलाई समेत रोजगारी उपलब्ध गराएका छन् । तर अन्य साधारण लगानीमा सञ्चालनमा रहेका उद्योगहरुले भने २५÷३० जना व्यक्तिहरुलाई रोजगारी दिँदै आएका छन् ।

समस्याः
नेपालमा उत्पादन हुने सामानहरु चिनियाँ सामानहरुसँग प्रतिष्पर्धामा उत्रिन गाह्रो छ । नेपालमा उत्पादन हुने सामानहरु सबैजसो हातबाट नै उत्पादन हुने गर्छन् । जसले गर्दा हाम्रो लागत निकै महँगो पर्ने गर्छ । तर चीनले अधिकांश सामानहरु आधुनिक मेसिनबाट नै उत्पादन गर्छन् । हातबाट निर्माण हुने कागजकाे प्रयाेगलाइ बढाउन राज्यले विशेष पहल गर्नुपर्छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा नेपालमा कागजको प्रयोग बढाउनको लागि केही पहल गर्नुभएको थियो । नेपाल सरकारले नेपालमा नै उत्पादन भएका सामानहरुको उपभोग बढाउनको लागि सोही बमोजिमको नीति तय गर्न सकेको खण्डमा मात्र हामीले समग्रमा राम्रो लाभ हासिल गर्न सकिन्छ । साथै नेपालमा यस क्षेत्रमार्फत ठूलो मात्रामा रोजगारी समेत सृजना गर्न सकिन्छ । सबैजसो कच्चा पदार्थ नेपालमा नै उपलब्ध हुने कागज उद्योगलाई थप प्रवद्र्धन गर्न सकेको खण्डमा हाम्रो अवस्था अझ सुधार हुन सक्छ । हस्तकला अन्तरगत पर्ने पेपर क्राफ्ट पश्मिना, थाङ्का लगायत भन्दा पछाडि ५-६ औं स्थानमा पर्छ । पेपर मानिसहरुको लागि प्रत्यक्ष आवश्यकताको सामान होइन । सजावटको लागि प्रयोगमा आउने हाते कागजजन्य उत्पादन मूलतः नेपालको लागि अतिरिक्त आवश्यकताको वस्तु अन्तरगत पर्ने गर्छ । नेपालमा लेखपढको लागि अधिकांश प्रयोगमा आउने कागजहरु सबै भारतबाट नै आउने गरेका छन् । तर नेपालीहरुले सर्वसाधारणको आवश्यकतालाई लक्षित गरी कागज उत्पादन गर्न सकेका छैनन् ।

अन्त्यमा,
नेपालमा उत्पादन हुने सामानहरुको लागत बढी भएको कारण स्वदेशी उद्योगहरु समस्यामा छन् । उत्पादन लागतको तुलनामा बिक्री मूल्य कम भएको कारण समेत नेपाली उद्योगीहरुले राम्रो लाभ लिन सकेका छैनन् । साथै हाते कागज क्षेत्रमा रहेका थुप्रै समस्याहरु समाधानको लागि व्यवसायीहरु आपसमा संगठित हुनुपर्नेमा समेत व्यवसायीहरुले पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij