
गोपाल सिंह नेपालमा लामो समय देखि निर्माण क्षेत्रमा संलग्न रहेका व्यक्ति हुन् । पछिल्लो समय उनी प्रयोजन इन्भेष्टमेन्ट एण्ड कन्स्ट्रक्सन प्रा.लि सञ्चालन गर्दै आएका छन् । उक्त कम्पनी गोपाल सहितका ५ जना व्यक्तिहरुको सामुहिक लगानीमा सञ्चालनमा रहेकाे छ । यस कम्पनीले मुख्यतः कमर्सियल र रेसिडेन्सियल घरहरु निर्माण गर्दै आएको छ । सडक र अन्य निर्माणजन्य कामहरुमा समेत यो कम्पनी संलग्न छ । अबका दिनमा कम्पनीले आफ्ना क्रियाकलापहरु हाइड्रोपावर तर्फ पनि केन्द्रित गर्न लागेको छ । सोहीबमोजिम कम्पनीले चीनबाट सामानहरु आयात गर्ने विभिन्न कम्पनीहरुसँग आवश्यक सामाग्री बारे छलफल शुरु गरेको छ । आफ्नो सानै देखिको रुचि हाइड्रोपावर क्षेत्रमा काम गर्नुपर्छ भन्ने भएको र अहिले आफूहरु त्यस तर्फ संलग्न हुन लागेकोमा गर्व महसुस भएको गोपालले बताए ।
निर्माण क्षेत्रका अनुभवी व्यक्तिहरुबाट सञ्चालनमा रहेको यस कम्पनीले अहिले ललितपुरको नख्खु स्थित ‘कालिदास कमर्सियल बिल्डिङ’ नामक व्यावसायिक भवन निर्माण सम्बन्धी काम गरिरहेको छ । जुन यस कम्पनीको जिम्मेवारीमा सम्पन्न हुन लागेको सबैभन्दा ठूलो व्यावसायिक भवन हुनेछ । कम्पनीका निर्देशक गोपाल सिंह निर्माण क्षेत्रमा २७ बर्ष लामो अनुभव समेटेका व्यक्ति हुन् । यसरी नै कम्पनीका अन्य निर्देशकहरुले समेत निर्माण क्षेत्रमा लामो अनुभव समेटेका छन् ।
साथै निर्माण सम्बन्धी आवश्यक पर्ने अधिकांश सामानहरु आफ्नो कम्पनीको स्वामित्वमा नै रहेको कारण आफूहरुलाई निर्माण कार्यमा कुनै असहजता नरहने गोपाल सिंहले बताए । साथै कतिपय नयाँ विकसित प्रविधिहरु थप गर्दै जाने योजनामा समेत कम्पनी रहेको छ ।

निर्माणको लागि आवश्यक सामाग्रीहरु
भवन निर्माणको लागि आवश्यक पर्ने आधारभूत सामानहरु बालुवा, गिटी, रड, सिमेन्ट लगायत नै हुन् । कुनै भवन निर्माण गर्दा भवनलाई दिगो र गुणस्तरीय बनाउनको लागि गुणस्तरीय सामाग्रीहरुकै प्रयोग गर्नुपर्ने हुन्छ । निर्माण व्यवसायीले सेवाग्राहीबाट कामको जिम्मेवारी लिइसकेपछि आफूलाई आवश्यक पर्ने सामानहरु विभिन्न कम्पनी र सप्लायर्सहरुसँगको सहकार्यमा उपलब्ध गराउनुपर्छ । आफूहरुले पनि विभिन्न अलग–अलग गतिविधिहरुमा संलग्न कम्पनी र सप्लायर्सहरुबाट सामानहरु जुटाएर आफ्नै जिम्मेवारीमा सम्पूर्ण निर्माण कार्य पूरा गरी सम्बन्धित सेवाग्राहीलाई हस्तान्तरण गर्दै आएको गोपालले बताए ।
|व्यावसायिक यात्रा
शुरुका दिनमा सबकन्ट्रयाक्टरको रुपमा आफूहरुले निर्माण कार्य शुरु गरेको गोपाल बताउँछन् । विस्तारै एक पछि अर्को गर्दै काम सिक्दै र अनुभव हासिल गर्दै जाने क्रममा नै अहिलेको सफलता प्राप्त हुन सकेको उनले बताए । निकै सानो क्षमताबाट शुरु भएको यात्रा अहिले व्यावसायिक भवन हुँदै जलविद्युत आयोजना निर्माण गर्ने क्षमता सम्म विस्तार हुन सकेकोमा उनी खुसी व्यक्त गर्छन् । सामुहिक आपसी सहकार्यबाट यो सफल हुन सकेको उनी स्वीकार्छन् ।

निर्माणाधिन कालिदास कमर्सियल बिल्डिङ
अहिले प्रयोजन इन्भेष्टमेन्ट एण्ड कन्स्ट्रक्सनबाट निर्माणाधिन अवस्थामा रहेको कालिदास कमर्सियल बिल्डिङ ७ हजार वर्ग मिटर क्षेत्रफलको भवन हो । यस विल्डिङको लागत करिब ९ करोड अनुमान गरिएको छ । गत फागुन देखि काम शुरु भएको यस भवनको निर्माण कार्यमा लकडाउनले निकै ठूलो असर पु¥यायो । विगत २ महिना देखि यस भवनले पुनः गति पाएको छ । आगामी करिब ११ महिनामा यो भवन पूरा हुने अपेक्षा गरिएको छ । भवनको परिकल्पना डा. कृष्णगोपाल महर्जनले गरेका हुन् । जुन भवन व्यावसायिक प्रयोजनको लागि निर्माण भएको हो ।
निर्माण क्षेत्रमा भोग्नुपर्ने समस्या
निर्माण क्षेत्रमा काम गर्ने व्यवसायीले नियमानुसार निश्चित रकम बैंक ग्यारेन्टीमा राख्नुपर्ने हुन्छ । विभिन्न सामान तथा उपकरण खरिदको लागि शुरुमा नै ठूलो रकम जोहो गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा आफ्नो लगानी डुब्ने जोखिम समेत त्यत्तिकै रहन्छ । निर्माणको काम जोखिमयुक्त काम समेत हो, जहाँ आफूले पूर्ण रुपमा जोखिम मोलेर काम गर्नुपर्ने हुन्छ । काम गर्ने क्रममा सधैं नाफा नहुन पनि सक्छ । नाफा घाटा जे भएपनि आफ्नो कामलाई राम्रोसँग सम्पन्न गर्छु भन्ने आँट लिने व्यक्तिले मात्रै ढिलोछिटो सफलताको यात्रा तय गर्न सक्छ, गोपालले बताए ।

प्रविधिमा आएको परिवर्तन
निर्माण क्षेत्र विगत २ दशकको तुलनामा अहिले निकै नै परिष्कृत हुँदै गएको छ । केही दशक पहिले सम्म निर्माण सम्बन्धी काम गर्नुपर्दा राम्रा मेसिनहरु उपलब्ध हुने अवस्था थिएन । जसले गर्दा हातकै सहाराले काम गर्नुपथ्र्यो । विगतमा डण्डी काट्ने साधारण कामको लागि ह्याक्सोविलेड प्रयोग गरिन्थ्यो । अहिले क्वाटर ब्लेड र ग्लाण्डरको माध्यमबाट सजिलै यो काम गर्न सकिन्छ । जुन प्रविधिमा आएको परिवर्तनबाट सम्भव भएको हो । अहिले नेपालमा हुने निर्माण कार्यमा पनि नयाँ प्रविधिहरुको आयात र प्रयोग त भइरहेको नै छ । तैपनि विश्वबजारमा विकास भएका उच्च क्षमतामा काम गर्न सकिने नयाँ आधुनिक उपकरणहरु नेपाली बजारमा भित्र्याउन भने अझै पनि सकिएको छैन ।
अन्य समस्या
नेपालमा निर्माण सम्बन्धी काम गर्नको लागि अहिले समयमा आवश्यक निर्माण सामाग्रीहरु उपलब्ध हुन सक्ने अवस्था समेत छैन । जसले गर्दा आफूले सम्पन्न गर्नुपर्ने काम समयमा सम्पन्न हुने अवस्था नरहन सक्छ । निर्माण व्यवसायीको लागि यसले निकै ठूलो असर पुर्याउँछ । विभिन्न समयमा हुने बन्द हड्तालको प्रभाव पनि निर्माण क्षेत्रलाई बढी नै पर्ने गर्छ । विगतमा निर्माण क्षेत्रमा काम गरिरहेका कम्पनीहरुसँग चन्दा माग्ने मात्र नभई निर्माण कार्यलाई नै विभिन्न त्रासहरु देखाएर कामलाई प्रभावित पार्ने काम समेत हुँदै आएको थियो । अहिले यस किसिमको प्रचलनमा केही कमी भने आएको छ ।
राज्यबाट निर्वाह गरिनुपर्नेे भूमिका
राज्यले निर्माण क्षेत्रलाई व्यवस्थित गर्न नीतिगत रुपमा आफ्ना कामहरुमा सहजीकरण गर्नु जरुरी छ । कुनै व्यावसायिक क्षेत्रमा सफल हुनको लागि शिक्षा मात्र प्रयाप्त हुँदैन । उद्यमशिल क्रियाकलापमा लाग्न चाहने व्यक्ति व्यवस्थापन कलामा पनि सक्षम हुनुपर्छ । कुनै व्यावसायिक कामको लागि शुरुमा नै लगानी आवश्यक रहन्छ । लगानी संकलनको लागि व्यक्तिको कार्यक्षमतालाई समेत आधार मानेर लगानी गर्ने प्रचलन विकास हुनु जरुरी छ । तर यस बारेमा नेपाल सरकारले समेत खासै चासो राखेको पाईंदैन । जसले गर्दा क्षमता भएपनि आवश्यक लगानी जुटाउन नसक्ने युवा वर्ग आफ्नो कार्यदक्षता प्रस्तुत गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij