
सुजन बज्राचार्यले ललितपुर उद्योग वाणिज्य संघको यस पटकको चुनावमा वाणिज्य समूहबाट उम्मेदवारी दिएका छन् ।
सानै उमेरमा वहुआयामिक पहिचान बनाइसकेका बज्राचार्य कुल बज्र ह्याण्डिक्राफ्टका सञ्चालक हुन् । भर्खर ३२ बर्षकै उमेरमा आफ्नो लगानी विभिन्न क्षेत्रहरुमा विविधिकरण गर्न सफल उनी एक सफल युवा उद्यमी हुन् ।
मनोज न्याछ्यों नेतृत्वको प्यानलको सम्भवतः आफू नै कान्छो उम्मेदवार हुनसक्ने दावी गर्छन् उनी ।
आफ्नो हितको लागि मात्र नभई केही सामाजिक योगदान पुग्ने गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्छ भन्ने मान्यता राख्ने बज्राचार्यको लगानी हस्तकला, मिडिया तथा इभेन्ट म्यानेजमेन्ट कम्पनी, पर्यटन एवं होटल लगायत विविध क्षेत्रमा विविधिकरण भइसकेको छ ।
ललितपुर महानगरपालिका अन्तरगत वडा नम्बर १६ को विपत व्यवस्थापन युवा समितिका महासचिव समेत रहेका उनले युवाहरुलाई लक्षित गरेर निरन्तर रुपमा उद्यमशिलता जागरण एवं प्रोत्साहनमुलक गतिविधि सञ्चालनमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
यसपटकको उम्मेवारी बारे बताउँदै उनी अब आफू युवाहरुका मुद्दालाई ललितपुर उद्योग वाणिज्य संघमार्फत उठाउन एकीकृत रुपमा सम्बोधन गर्ने योजना सहित आफूले उम्मेदवारी दर्ता गरेको बताए ।
हालको कार्यसमितिमा समेत प्र्रचारप्रसार उपसमितिमा सहसंयोजकको भूमिकामा रही उनले मिडिया क्षेत्र अन्तरगत पर्ने प्रचारप्रसारमूलक गतिविधिहरु बढाउन पहल गरेका छन् । यस अन्तरगत स्मारिका प्रकाशन, क्यालेण्डर प्रकाशन एवं अन्य गतिविधि सञ्चालित छन् । यी गतिविधिहरुबाट व्यवसायीहरुलाई सूचना र जानकारीहरु प्राप्त गर्न सहयोग पुगेको छ ।
उपयुक्त अवसर पहिचान गर्न नसक्दा निराश बन्दै गएका युवाहरुलाई उत्साहित गर्न नयाँ सोच र सम्भावना बोकेका आशावादी युवाहरुलाई नै परिचालन गर्नुपर्छ भन्ने उनको धारणा छ ।
युवाहरुलाई विभिन्न साधारण गतिविधि, कार्यक्रम र प्रशिक्षणहरु प्रदान गरेर पनि आशावादी बनाउन सकिन्छ र आशावादी स्वभावका युवाहरुबाट असाधारण उपलब्धि हासिल गर्न सकिन्छ भन्ने बज्राचार्यको बुझाई छ । यसकारण विभिन्न तालिमहरु सञ्चालन गरेर युवाहरुलाई व्यवसायिक मानसिकता विकास गर्नुपर्नेमा उनको जोड छ ।
हस्तकला नगरीको रुपमा समेत चिनिने ललितपुर क्षेत्रमा त कामका अत्यन्तै धेरै सम्भावनाहरु छन् । क्राफ्ट सिटीको रुपमा समेत घोषणा भइसकेको ललितपुरका युवाहरुलाई आवश्यक तालिम उपलब्ध गराई काममा लगाउने हो भने कोही पनि वेरोजगार बस्नुनपर्ने समेत बज्राचार्य बताउँछन् ।
उनी भन्छन्, ‘हरेक घरका युवाहरुलाई कुनै न कुनै उद्यमशिल गतिविधिहरुमा संलग्न गराउँ । तालिमहरु आवश्यक परे उद्योग वाणिज्य संघ, युवा समूहहरु र जागरुक मानसिकताका युवाहरु त्यसको लागि सहजीकरण गर्न तयार छौं ।’
आफ्ना युवालक्षित योजनाहरु उद्योग वाणिज्य संघको निर्वाचनमा निर्वाचित हुन सकेको खण्डमा सफल हुन सक्ने बताउँदै उद्योगी व्यवसायीहरुलाई सहयोगको लागि उनी आग्रह गर्छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij