
ललितपुर क्षेत्रमा साना, मझौला हुँदै ठूलो क्षमताका उद्योगहरु समेत सञ्चालनमा छन् । उद्योगका क्षमता र प्रकृति अनुरुप समस्याहरु पनि पृथक छन् । अधिकांश उद्योगहरुले नयाँ प्रविधिलाई आत्मसात् गर्न सकेका छैनन् । प्रविधिको प्रयोगबाट उत्पादकत्व बढाउन सकिन्छ भन्ने सम्बन्धमा व्यवसायीहरुलाई जागरुक बनाउनु जरुरी छ ।
ललितपुर क्षेत्रमा अधिकांश साना र घरायसी व्यवसायहरु सञ्चालनमा छन् । यस्ता व्यवसायका सञ्चालकहरुलाई कर तथा राजस्व सम्बन्धी नीतिगत व्यवस्था सम्बन्धमा खासै जानकारी हुँदैन । यी सबै व्यवसायीहरुलाई कर शिक्षाको दायरामा ल्याइ सक्षम र कुशलतापूर्वक व्यवसायमा संलग्न हुने वातावरण सृजना गर्न जरुरी छ ।
युवा र उद्यमशिलताः
अहिले नेपाली युवाहरु नेपालमा नै अवसर हुँदाहुँदै पनि रोजगारीका लागि विदेशिन बाध्य छन् । नेपालमा यस सम्बन्धमा राज्यले उपयुक्त व्यवस्था गर्न नसक्दा युवाहरु रोजगारीको लागि उपयुक्त विकल्पको वैदेशिक रोजगारी नै चयन गर्न बाध्य हुनुपरेको हो ।
पछिल्ला दिनहरुमा नेपाल सरकारले आफ्ना योजनाहरु युवा लक्षित बनाउँदै लगेको पनि छ । हातमा सीप भएका युवाहरुलाई लक्षित गरेर राज्यले वैदेशिक रोजगारीबाट नेपालमा फर्किएका तथा अन्य सीपमूलक युवाहरुलाई लक्षित गरेर विभिन्न किसिमका आकर्षिक कार्यक्रमहरुमा संलग्न बनाउने उद्देश्यले बजेट विनियोजनको काम समेत शुरु गरेको छ । त्यो सबै युवाहरुको पहुँचमा भने पुग्न सकेको छैन ।
साथै नेपाल सरकारले ल्याएका सबै नीतिहरु अहिले सम्म सही तवरले कार्यान्वयनमा समेत आउन सकेका छैनन् । यसले गर्दा हामीले चाहेर पनि युवाहरुलाई नेपालमा उद्यमशिल क्रियाकलापमा संलग्न गराउन सकिएको छैन । 
अबको आवश्यकताः
नेपालमा नै रहेर कुनै पृथक किसिमले काम गर्न चाहने युवाहरुलाई उनीहरुको क्षमता र योग्यतालाई आधार आधार बनाइ सोहीबमोजिम लगानी गर्ने वातावरण बन्नु जरुरी छ । यस्तो वातावरण बन्न सकेको खण्डमा नेपाली युवाहरुलाई ठूलो हद सम्म रोजगारीको लागि नेपालमा नै रोक्न सकिन्छ ।
सानो लगानीबाट पनि काम गर्न सकिने थुप्रै क्षेत्रहरु नेपालमा पनि छन् । तर त्यस्ता कार्यक्रमहरुलाई सफल पार्न सबैभन्दा पहिले युवाहरुमा आत्मविश्वास जगाउनु जरुरी छ । पुँजी र प्रविधिहरु त दोस्रो पक्ष हुन् ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij