२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपालमा नै सम्भावना छ, यहीँ बसेर केही गराैंः उद्यमी जेम्स श्रेष्ठ

नेपालमा नै सम्भावना छ, यहीँ बसेर केही गराैंः उद्यमी जेम्स श्रेष्ठ

जेम्स श्रेष्ठ, निर्देशक, हातले फेयर ट्रेड फेल्ट

एसएलसीसम्मको अध्ययन भीएस निकेतनबाट पूरा गरी कक्षा १२ लिटल एन्जल्सबाट उत्तीर्ण गरेका जेम्स श्रेष्ठले क्यानडाको टोरन्टोबाट तीन वर्षे बिजनेस कोर्ष गरेका छन् । तीनवर्षे बिजनेस कोर्ष पूरा गरेपछि उनी नेपाल फर्किए । उनले क्यानडामा पनि व्यवसायी गरेर बस्ने अवसर नपाएका होइनन् । तर त्यो अवसरलाई छोडेर नेपालमै बिजनेस गरेर बुबालाई सहयोग गर्ने इच्छा उनमा पलायो । त्यस कारण उनी नेपालमै पारिवारिक व्यवसायतिर उन्मुख भए । उनले यो बिजनेसमा चलाउन थालेको झन्डै ११ वर्ष भइसकेको छ । यिनै आरोहअवरोह पार गरेर अहिले उनी यो अवस्थामा आइपुग्न सफल भएका छन् । आज यसैमा काम गर्दा आफूलाई गर्व लाग्ने उनी बताउँछन् ।

व्यवसायको थालनी
आफ्नै देशमा बिजनेस कम्पनी चलाएर बेरोजगार दाजुभाइ, दिदीबहिनीलाई रोजगारी दिलाउन पाएकोमा गर्व लागेको उनी बताउँछन् । अहिले उनको कम्पनीमा प्रत्यक्ष रुपमा तीनसय जनाले रोजगार पाएका छन् भने अप्रत्यक्ष रुपमा झन्डै दुई हजार भन्दा बढी लाभान्वित भएका छन् ।

उद्योग सञ्चालनका लागि आर्थिक, प्राविधिक र कानुनी कठिनाइहरु
‘सुरुका दिनमा जुन बेला देश माओवादी द्वन्द्वले जलिरहेको थियो, ती दिनहरु त सम्झिन पनि मन लाग्दैन’, श्रेष्ठले अनुभव सुनाए । त्यसपछि लोडसेडिङका बेला पनि त्यस्तै कठिनाइको सामना गर्नुपरेको उनको गुनासो छ । श्रेष्ठ भन्छन्, ‘यो फ्याक्ट्रीको कच्चा पदार्थ भनेकै साबुन पानी हो । तर हामीले हरेक दिन पानी किनेर चलाउनुपर्छ ।’ त्यसपछि बत्तिको जसरी व्यवस्था हुनुपर्ने हो, त्यसको लागि सरकारले उद्योग, व्यवसायलाई जसरी सहजता दिनुपर्ने हो त्यो दिन सकेको छैन ।

श्रेष्ठ थप्छन्, भारत, बंगलदेश लगायत अन्य मुलुकहरुमा उद्योगलाई छुटहरु दिएर धेरै सहायता दिने चलन छ । तर नेपाल सरकारको त्यो पोलिसी छैन । अन्य मुलुकहरुमा उद्योग व्यवसायको लागि भौतिक पूर्वाधारदेखि अन्य सुविधाहरु राज्यले दिने गरेपनि नेपालमा भने त्यो छैन । जसले गर्दा हाम्रो मुलुकमा चाहीँ भौतिक पूर्वाधारदेखि सबै काम आफ्नै लगानीमा गर्नुपर्छ ।

श्रेष्ठले आफ्नो उद्योगबाट उत्पादन गर्ने वस्तुहरु
श्रेष्ठले सञ्चालन गरिरहेको हातले फेयरबाट सय प्रतिशत फेल्टका आइटमहरु मात्रै उत्पादन हुन्छन् । यी सतप्रतिशत भेँडाको उनबाट निर्मित हुन्छन् । जुन न्यूजिल्याण्डबाट आयात गरिन्छ । त्यसलाई विभिन्न खाले प्रोसेसिङ गरेर क्रिस्मसको सजावटदेखि लिएर पञ्जाहरु, ह्याटहरु, कार्पेटहरु बनाउने गरिन्छ । जुन सामानहरु घरायसी कामकाजमा पयोग हुन्छन् ।

निर्यात हुने देशहरु
यहाँ उत्पादित सबैजसो फेल्टजन्य सामानहरु सबैभन्दा धेरै अमेरिकातिर निर्यात हुन्छ । यसको मुख्य मार्केट अमेरिका हो, त्यसपछि युरोप, अष्ट्रेलिया, जापानमा पनि निर्यात हुने गर्छन् । यी सामानहरु भारतको कलकत्ता हुँदै पानी जहाजमा कन्टेनरमार्फत निर्यात हुने गर्दछन् । कहिलेकाहीं छिटो सामान चाहिएको खण्डमा मात्रै प्लेनबाट समेत निर्यात गरिन्छ ।

सामानका डिमान्डको माध्यम
सामानको मुख्य डिमान्ड हुने माध्यम ट्रेडफेयरहरु नै हुन् । उनी अगाडि थप्छन्, ‘हामी विभिन्न समयमा हुने अन्तर्राष्ट्रिय टे«डफेयरमा सहभागी हुन्छौं ।’ आफूहरु जर्मनीमा र अर्काे अमेरिकामा हुने ट्रेडफेयरमा सहभागि हुने गरेको समेत श्रेष्ठले बताए ।

नेपालको अर्थतन्त्रप्रति श्रेष्ठको धारणा
‘यहाँ सम्भावना नभएको होइन प्रशस्त छ ।’ श्रेष्ठ निर्धक्कसँग भन्छन् । गर्न सकिने कामहरु हेन्डिक्राप्टमा मात्रै नभएर धेरै क्षेत्रमा छन् । मुख्य कुरा यहाँका युवा शक्तिहरुलाई कसरी प्रयोग गर्ने र सीपमुलक बनाउने भन्ने नै ठूलो समस्याको विषय हुने गरेको छ । अहिलेका युवा शक्तिहरु बाहिरी मुलुकमा गएर सस्तोमा श्रम बेचिरहेकोप्रति उनको गुनासो छ । अरु मुलुकका मान्छेले नगरेको काम नेपालीहरुले सस्तोमा गर्ने उनको ठम्याई छ । यो परिपाटीलाई रोक्न र नेपालमै ती युवा शक्तिहरुलाई रोजगारमुलक बनाउनको लागि सरकारले छुट्टै प्याकेज पोलिसी ल्याउनुपर्ने उनी सुझाउँछन् । त्यसको लागि ती युवाहरुलाई उद्योग खोल्नको लागि सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने पनि श्रेष्ठको सुझाव छ । उनीहरुलाई सस्तो ब्याजदरमा लोड दिएर हुन्छ कि, ठाउँ उपलब्ध गराउँदा हुन्छ कि, उद्योग स्थापना गराएर हुन्छ कि जसरी पनि युवाशक्तिलाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सीपसहितको प्याकेज कार्यक्रम ल्याउँदा राम्रो हुने श्रेष्ठको सुझाव छ ।

उनी थप्छन्, ‘यसरी युवाशक्तिलाई मुलुकभित्रै आयआर्जनको बाटो खुलाउन सके धेरै सम्भावना भएको मुलुक नेपाल हो’ उनी बताउँछन् । कृषि उत्पादन र पशुपालनको क्षेत्रमा त अझ धेरै सम्भावना भएको नेपाल हो, यसमा सरकारको राम्रो नीति बजेट तर्जुमा गर्छुपर्छ, उनी थप्छन् ।

युवाशक्तिलाई सल्लाह सुझाव
नेपालमा एउटा मान्छेले राम्रो काम गर्न थाल्यो भने सबै उसको खुट्टा तान्न थाल्ने चलन नेपालमा भएको श्रेष्ठको अनुभव छ । त्यो राम्रो होइन । उनको अनुभवमा कुनै काममा सफल हुनको लागि एदमै मेहनत गर्नुपर्छ । आफूमा काम गर्ने इच्छाशक्ति भयो भने सरकारको खासै सहयोग पनि चाहिँदैन । नीति राम्रो बनाइदिए पुग्छ । सबैभन्दा ठूलो कुरा केही गर्छु भन्ने उच्च मनोबल हुनुपर्छ । नेपालमा बसेर केही गर्न सकिँदैन भन्ने नेगेटिभ एटिच्यूड छ त्यसलाई मनबाट झिकेर फालिदिनुपर्ने श्रेष्ठको सुझाव छ ।

वाल्यकालदेखिको योजना
वाल्यकालमा यस्तो बन्छु भन्ने कुनै योजना नभएको तर काम गर्दै जाँदा यहाँ आइपुगेको उनी बताउँछन् । उनी आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘मैले त बाहिरै जान्छु, उतै बढ्छु र बाहिरै केही गर्छु भन्ने सोचेको थिएँ । पछि बुबाको उमेर ढल्किँदै गयो, त्यसपछि मलाई ‘एकचोटी आएर हेरेर केही गर न’ भन्नुभयो । मैले पनि एकचोटी हेरौं न त भनेर गर्दै जाँदा पाँच÷दश वर्षहुँदै यहाँसम्म आइपुग्दा समय बितेको थाहै भएन ।”विस्तारै यहीं उद्योगमा रमाउन थालेँ, उनले आफ्नो वाल्यकालको अनुभव सुनाए । यसरी उद्योगमा टर्नओभर बढाउँदै लगेर पहिलाको भन्दा अझ परिमर्जित र आधुनिक रुपमा अगाडि सफल भएकोमा उनी खुसी व्यक्त गर्दछन् ।

सुरुको लगानी र अहिलेको उपलब्धी
पचास लाखबाट सुरु गरेको कम्पनी अहिले आएर दश करोड हाराहारीमा पुगेकोमा उनी खुसी व्यक्त गर्दछन् ।  त्यसमा उनले थप हाते कागजको सुरुआत गरेका छन् त्यो छुट्टै हो ।

गर्न सकिने कामहरु हेन्डिक्राप्टमा मात्रै नभएर धेरै क्षेत्रमा छन् । मुख्य कुरा यहाँका युवा शक्तिहरुलाई कसरी प्रयोग गर्ने र सीपमुलक बनाउने भन्ने नै ठूलो समस्याको विषय हुने गरेको छ । अहिलेका युवा शक्तिहरु बाहिरी मुलुकमा गएर सस्तोमा श्रम बेचिरहेकोप्रति उनको गुनासो छ । अरु मुलुकका मान्छेले नगरेको काम नेपालीहरुले सस्तोमा गर्ने उनको ठम्याई छ ।

वृत्ति विकासको लागि भावी योजना
वृत्तिविकास भावी रणनीतिको कुरा गर्दा जति मार्केट लिनुपर्ने हो । त्यति लिननसकेकोमा उनी असन्तुष्टि पोख्छन् । त्यसको लागि पहिलो लगानी अर्को बाहिरी मार्टिङ पोलिसीमा जसरी सोचिएको हो त्यो अनुसारको गर्न सकिएको छैन, उनले बताएँ । तर, उनी पहिला आफूले जुन सिराबाट अगाडि बढिरहिएको हो त्यसैलाई राम्रो गर्ने अनि मात्रै अर्को सिराबाट अगाडि पढ्ने विश्वास लिएको बताउँछन् । त्यसको लागि अमेरिका, पाजान मात्रै नभएर अन्य युरोपियन मुलक र चाइनालाई पनि गन्तव्य बनानुपर्ने धारणा राख्छन् । उनी अगाडि थप्छन्, ‘हाम्रो सामान चाइनाको मार्केटमा लगेर कसरी प्रमोट गर्ने भनेर सोचिरहेका छौं ।’ त्यसको लागि अझ मानिसहरु हायर गरेर नयाँ–नयाँ टेक्नोजलीको तालिम लिएर नयाँ–नयाँ आइटम कसरी उत्पादन गर्ने भनेर योजना बनाएको उनले बताए । अहिले डिजिटल मार्केटिङको युग भएकाले त्यसमार्फत कसरी फोकस गर्ने भनेर अगाडि बढिरहेको बताउँछन् ।

नेपालको अर्थतन्त्रलाई कसरी टेवा पुर्याउँछ भन्ने प्रश्नमा उनी भन्छन्, ‘हाम्रो उत्पादन पूर्ण रुपमा एक्सपोर्ट ओरियन्टल भएकाले नेपालको अर्थतन्त्रमा त्यति सरोकार राख्दैन । तर सहुयित लोनदेखि विभिन्न किसिमका सुविधा दिएमा सरकारलाई पनि टेवा पुग्न सक्छ ।

वृत्तिविकासको लागि भावी रणनीति
कम्पनीको वृत्तिको लागि स्टाफको संख्या बढाउँदा राम्रो हुने उनको धारणा छ । त्यसको लागि भौतिक पूर्वाधारको जरुरी भएको पनि उनले बताए । भौतिक पूर्वाधारको लागि जग्गाको आवश्यकता पर्छ । त्यसको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । यसको अलावा स्टाफहरुलाई क्वालिटीको तालिम दिनुपर्ने हुन्छ । त्यो भयो भने काम क्वालिटीको हुने उनको अनुभव छ । फेयर ट्रेडमा कसैलाई भेदभाव नगरिकन सबैलाई समान व्यवहार गरिने गरेको उनले भने । यसमा उचित तलब, सुविधाहरु पनि त्यत्तिकै आवश्यक कुरा हुन् । स्टाफहरुको भविष्यको लागि कसरी राम्रो गर्न सकिन्छ भनेर पनि सोच रहेको श्रेष्ठले बताए ।

लोक्ता आयात हुने मुख्य बाग्लुङ जिल्ला हो । त्यसपछि दोस्रो भनेको बाह्रविसे पनि हो । अरु जिल्लामा पनि पाइन्छ तर हाम्रो आउने बाग्लुङ र बाह्रबिसे हो, उनले भने । यसको गाउँबाटै कागज तयारी भएर आउने गर्छ ।

मासिक कर्मचारी खर्च
मासिक कर्मचारी खर्च मात्रै लगभग ३५ लाख रहेको श्रेष्ठले भने । यो बाहेक हाते कागजको लागि मासिक लगभग १२ लाख स्टाफ खर्च हुने गरेको पनि उनले बताए ।

कर्मचारीको बेसिक तलब
सरकारले तोकेको न्यून तलब बराबर नै यस कम्पनीका कर्मचारीको तलब सुविधा दिने गरिएको छ, श्रेष्ठ निधक्कसंग भन्छन् । कर्मचारीलाई तलब दिँदा सबै सरकारको नियम अनुसार बैंकमार्फत गरिने गरेको श्रेष्ठको भनाइ छ । ज्यालादारी काम गर्ने कामदारहरुले पनि यो उद्योगमा न्यूनितम १५ हजारदेखि बढीमा ३५ हजार हाराहारी मासिक कमाउने छन्, श्रेष्ठ भन्छन् ।

हाते कागजको नेपाली बजार
श्रेष्ठ भन्छन्, ‘हाते कागजको मुख्य कच्चा पदार्थ लोकता हो ।’ यो तीन हजरा पाँचदेखि पाँच हजारसम्मको अल्टिच्युटमा उत्पादन हुने विरुवा हो । अहिले सबै मान्छेहरु विदेसिने ट्रेनले लोक्ता कलेक्सन गर्ने मान्छे अभाव भएको उनी बताउँछन् । लोक्ता कलेक्सन नै नभएपछि त्यसको उत्पादन बढ्ने कुरै भएन । मुख्य चुनौतिको विषय त्यो हो, उनी अगाडि भन्छन् । हाते कागजको बजारको कुरा गर्दा अहिले सबैतिर डिजिटलको जमाना भएकाले यसको प्रयोग कम भएको छ । प्रयोग कम भएपछि बजार त खस्किने नै भयो । बजर खस्किएपनि गर्नै नसक्ने भने होइन, उनी जोड दिन्छन् ।

लोक्ताहरु आयात हुने जिल्लाहरु
लोक्ता आयात हुने मुख्य बाग्लुङ जिल्ला हो । त्यसपछि दोस्रो भनेको बाह्रविसे पनि हो । अरु जिल्लामा पनि पाइन्छ तर हाम्रो आउने बाग्लुङ र बाह्रबिसे हो, उनले भने । यसको गाउँबाटै कागज तयारी भएर आउने गर्छ । हाम्रो मासिक ४०, ५० हजार कागज गाउँबाटै तयार भएर आउने श्रेष्ठ बताउँछन् । त्यसपछि यहाँ त्यसलाई रङ्ग्याएर काटकुट गर्ने काम हुन्छ ।

कागज ल्याउन लागत
माथि भनिएजति कागज एक पटकमा ल्याउन २० देखि २५ लाख लागत हुने श्रेष्ठले बताए । यो लागतमा २० प्रतिशत आम्दानी हुने पनि उनले खुलाए ।

फेल्ट र हातेकागज कुन मुनाफायुक्त  
मुनाफाको हिसावले त हाते कागजभन्दा फेल्ट नै बढी मूल्यवान् हुने उनले अभुव सुनाए । हाते कागजको लगानी पनि बढी भएको र यसबाट उत्पादन हुने सामानेले अन्तर्राष्ट्रिय बजार पाउन गह्रो हुने श्रेष्ठको बुझाइ छ । अहिले डिजिटल जमाना भएको र धेरै सामान चाइनाले उस्तै निकाल्ने भएकाले पनि हाते कागजको प्रयोग कम हुँदै गएको श्रेष्ठको बुझाई छ ।

फेल्टको कुरा गर्दा नेपालमा हातले बुनेर बनाएको वस्तुजस्तो क्वालिटीको चाइनाले उत्पादन गर्न सक्दैन । भारतमा सुरुआत भएको छ, त्यो नेपालको भन्दा धेरै फरक भएको छ । त्यो नेपालको जस्तो क्वालिटीको नभएको उनको दावी छ । अर्को किर्कींस्थान पनि उत्पादन हुने तर नेपालको भन्दा धेरै महंगो हुने पनि उनले बताए । तुलनात्मक रुपमा नेपालमा हातेकागजभन्दा पनि फेल्टमा धेरै राम्रो भएको उनी दावी गर्दछन् । यहाँबाट उत्पादन हुने कागजको आइटम सबै विदेशमै जाने उनले बताए । उनी थप्छन्, ‘हामीकोमा उत्पादन हुने कागजका सबै आइटमहरु फ्रान्स र अमेरिका जान्छन् ।’ यी सामानहरु हरेक वर्ष उनीहरुले अर्डर गर्ने र मार्केटिङ पनि गर्ने काम गरेको श्रेष्ठ बताउँछन् । ती मुलुकमा हाते कागजको उत्पादन बाहिर जाने वार्षिक ५ करोडजतिको हुने पनि श्रेष्ठले बताए । त्यसबाट कम्पनीलाई वार्षिक २० देखि ३० लाख रुपैयाँ आम्दानी हुने पनि उनले खुलाए ।

अन्त्यमा,
सरकारी कामकाजी काममा त अनिवार्य नेपाली कागजको प्रयोग गर्नुपर्ने भनिएको छ । त्यसको अलावा पाठ्यपुस्तकमा पनि नेपाली कांगज नै प्रयोग गर्नुपर्ने नीति बनाउने हो भने अर्थतन्त्रलाई पनि टेवा पुर्याउन सक्ने उनले सुझाए । पैसालगायत अन्य कापी, कितावमा पनि नेपाली कागजलाई अनिवार्य गर्ने हो भने नेपाली अर्थतन्त्रलाई टेवा पुर्याउन सक्ने श्रेष्ठले सुझाए । उनका अनुसार अहिले नेपालमा भएका जति कलेज, स्कुलहरु छन् । तिनमा नेपाली कागजको प्रयोग हुने हो भने कागजमा नेपाल आत्मनिर्भर हुन्छ । त्यसबाट नेपालीले युवाहरुले रोजगारी पनि पाउँछन् । त्यसैले यसमा सरकारको चासो जानुपर्ने श्रेष्ठ सुझाव छ । त्यसैले नेपालीमा आफ्नो देशको उत्पादनप्रति माया हुनुपर्छ । त्यो हुने हो भने युवाहरुको लागि रोजगारी सिर्जना हुनुका साथै आफ्नो देशको उत्पाखनले पनि बजार पाउँछ । देशको पहिचान पनि हुन्छ ।

(प्रस्तुतीः कालिका महत)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij