
सिंगिङ बऊल उत्पादन क्षेत्रमा लामो समय देखि संलग्न रहँदै आएका व्यक्ति हुनुहुन्छ सुनिल उदास । भोजपुरको टक्सारमा जन्मिनुभएका सुनिल उदास मुलतः अध्ययनकै सिलसिलामा काठमाडौं प्रवेश गर्नुभएको हो । मेटल सम्बन्धी नै काम गर्ने परिवारमा जन्मिनुभएका सुनिलले अध्ययनको अलावा आफैं व्यावसायिक क्षेत्रमा संलग्न हुने उद्देश्यले यस कार्यमा पाइला अघी बढाउनुभएको हो । आफ्नो पारिवारिक व्यवसायको रुपमा सञ्चालित धातु सम्बन्धी कार्यलाई परिमार्जन गर्दै नयाँ तवरले सञ्चालन गर्ने क्रममा सिंगिङ बउल क्षेत्र उहाँको व्यावसायिक क्षेत्र बन्न पुगेको हो ।
आफ्नो व्यवस्थापनमा सञ्चालित नेपालिज क्राफ्ट सेलर नामक कम्पनी मार्फत उहाँले यी सामानहरु उत्पादन गर्दै आउनुभएको छ । नेपाली मौलिकता झल्काउने यी सिंगिङ बउलहरु मूलतः आध्यात्मिक कार्यसँग सम्बन्धित रहन्छन् । खासगरी बौद्ध धर्मसँग आस्था राख्ने विदेशी पर्यटकहरुले यी सामानहरुलाई आफ्नो रोजाइमा पार्दै आएका छन् ।
नेपालमा हुने पुजापाठ एवं अन्य धार्मिक कार्यहरुमा मुख्यतः शङ्ख र घण्टाहरुको प्रयोग गर्ने प्रचलन छ । नेपालमा मनाइने अलग–अलग पर्वमा पृथक–पृथक किसिमका बाजाहरु बजाइने प्रचलन छ । त्यसरी नै सिँगिङ बउललाई पनि एक प्रकारको बाजाको रुपमा नै लिन सकिन्छ । जुन जुन बौद्ध धर्माबलम्बीहरु बीच योग, ध्यान, तनाव व्यवस्थापन र थेरापी लगायतमा प्रयोग हुने गर्छ ।
तनाव व्यवस्थापन र शान्ति प्राप्तिमा सहयोगी
हामी नेपालीहरुले शुभ कार्यमा प्रयोगमा ल्याउने सबै किसिमका बाजा एवं उपकरणहरुले आफ्नो प्रकृति अनुसारकै भाइब्रेसन समेत उत्पन्न गराउँछन् । ती सबै किसिमका भाइब्रेसनमा आफ्नै फ्रिक्वेन्सी हुन्छ । त्यस फ्रिक्वेन्सीले मानवीय स्वभाव र व्यवहारलाई तुरुन्तै परिवर्तन गराउँछ । यस्तो भाइब्रेसन र फ्रिक्वेन्सीले वरपरको वातावरणमा भएका खराब तत्वहरुलाई शुद्धिकरण गराई (हटाई) मानिसको सोच, विचार र भावनामा समेत तुरुन्तै सकारात्मक परिवर्तन ल्याइदिन्छन् । ठीक त्यसरी नै सिंगिङ बउलले पनि एक किसिमको गहिरो भाइब्रेसन उत्पन्न गराउँछ । लामो समय सम्म गहिरो आवाज आइरहने यी सिंगिङ बउलको आवाजले मानिसलाई एकै छिनमा शान्तिको अनुभुति गराउँछन् ।

‘पछिल्ला बर्षहरुमा बाह्य मुलुकका पर्यटकहरु सिंगिङ बलको प्रयोग र महत्व बारे जानकार भएका हुनाले नेपालमा उत्पादन हुने यस्ता सिंगिङ बउल प्रति निकै नै आकर्षित समेत छन् । जसले गर्दा हरेक बर्ष नेपालमा उत्पादन हुने यस्ता सिंगिङ बउलहरुको माग समेत बढ्दो क्रममा छ’ उद्यमी सुनिल उदासले भन्नुभयो ।
यी सामानहरुको उत्पादनमा सक्रिय उदास आफूले उत्पादन गरेका सामानहरु होलसेल बजार मार्फत विश्व बजारमा बिक्री गर्नुहुन्छं । खासगरी यी सामानहरु निर्यातकर्ता र कार्गो व्यवसायीको माध्यमबाट विश्वका चर्चित देशहरुमा निर्यात हुने गर्छन् ।
कच्चा पदार्थ
सिंगिङ बउल उत्पादनको लागि तामा, काँस, पित्तल, जस्ता लगायतका कच्चा पदार्थहरु आवश्यक पर्छन् । विगतका दिनहरुमा अष्टधातुबाट यस्ता सामानहरु बनाइने भएपनि अहिलेको अवस्थामा अष्टधातु बनाउनको लागि लागत महँगो पर्ने भएकोले अन्य वस्तुहरु नै प्रयोग गरेर तुलनात्मक रुपमा कम लागतमा नै तयार हुने सिंगिङ बउलको माग विश्व बजारमा बढी छ ।
प्रकृति तर्फ फर्कंदै विकसित मुलुकहरु
विज्ञान र प्रविधिको विकाससँगै मानिसहरु भौतिक रुपमा सफलको शिखरमा भएपनि मानसिक रुपमा सन्तुष्टि भने मिल्न सकेको छैन । जसले गर्दा मानिसहरुमा तनाव बढ्दो अवस्थामा छ । यस्तो अवस्थालाई सामना गरेका विकसित मुलुकहरु तनाव व्यवस्थापनको लागि भौतिक विकासको शिखरबाट पुनः प्राकृतिक यात्रा तर्फ अघी बढिरहेका छन् । यसकारण विकसित पश्चिमी मुलुकहरुका मानिसहरुले पूर्वीय संस्कृतिबाटै विकसित योग, ध्यान, प्राणायाम लगायतका विधिहरुलाई अनुशरण गर्न लागेका छन् । पूर्वीय दर्शनको उद्गमभूमि नेपालमा पनि समयमा नै योग ध्यान तर्फ संंलग्न गराई समयमा नै सम्भावित जोखिमबाट बचाउन प्र्राकृतिक उपाय अबलम्बन गर्नु जरुरी छ ।
समस्याः
आफ्नो व्यावसायिक शुरुवाती दिनमा ५÷७ लाख रकम लगानीबाट यस क्षेत्रमा प्रवेश गर्नुभएका उदास विगतको तुलनामा अहिले कच्चा पदार्थको मूल्यमा निकै नै वृद्धि भएको र सहज रुपमा कर्मचारी प्राप्त गर्न सकिने अवस्था नरहेकोले यस व्यवसायमा संलग्न हुन चाहने नवप्र्रवेशीहरुलाई तुलनात्मक रुपमा ठूलो रकम लगानीको आवश्यकता रहने बताउनुहुन्छ ।
विगतमा यो व्यवसाय पुस्ता हस्तान्तरण हुँदै नयाँ पुस्ताको जिम्मेवारीमा जाने किसिमले चल्दै आएको भएपनि अहिले भने यो प्रचलन रोकिएको छ । जसले गर्दा नेपाली बजारमा श्रमिकहरुको समस्या सृजना भएको हो । अहिले कालिगढको लागि मुख्य रुपमा भारतमा नै निर्भर हुनुपर्ने आवश्यकता छ । भारतबाट कामदार ल्याउनुपर्दा शुरुमा नै ठूलो रकम अग्रिम भुक्तानी गर्नुपर्ने भएकोले पनि व्यवसाय चुनौतीपूर्ण रुपमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।
प्रतिष्पर्धी बजारः
आफ्नो परिवारलाई उद्योगकै रुपमा अघी बढाउने काम भने सुनिलले नै गर्नुभएको हो । भावी बजार सम्भावनालाई लक्षित गरेर शुरु गरेको उहाँको यो व्यवसाय अहिले सम्म आइपुग्दा निकै राम्रो तवरले फस्टाउने अवस्था देखिएको छ । बजार प्रतिष्पर्धी भएपनि आफ्ना उत्पादनहरुमा गुणस्तरीयता कायम राख्ने हो भने बजारमा समस्या सृजना नहुने उहाँको धारणा छ ।
अन्त्यमा,
व्यक्तिगत रुपमा सिंगिङ बउल मात्रै उत्पादन गर्ने कम्पनीहरु अलि बढी नै भएपनि आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा रहेका उद्योगहरु भने निकै कम मात्र छन् । कुनै कम्पनीमा केही समय आफूले काम सिकेपश्चात् आफैंले यी सामानहरु उत्पादन गर्ने व्यक्तिहरु पनि थुप्रै छन् । नेपाली बजारमा उत्पादन भएका निर्यातयोग्य वतुको उत्पादन र निर्यात बढाउन सके हामीले राम्रो लाभ लिन सक्छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij