२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यस बर्षका चाडपर्वहरु सावधानीपुर्वक मनाऔं

यस बर्षका चाडपर्वहरु सावधानीपुर्वक मनाऔं

अर्जुन खत्री, अध्यक्ष, बाग्मती प्रदेश कमिटी
ग्यास बिक्रेता महासंघ नेपाल

नेपालीहरुको महान पर्व विजयादशमी, शुभ दिपावली, नेपाल संवत, छठ लगायतका विभिन्न पर्वहरु क्रमशः नजिकिँदै आइरहेका छन् । चाडपर्वहरु नजिकिँदै गरेको यस अवस्थामा हामीले चाडपर्व मनाउँदा यस बर्ष विशेष सावधानी र सुरक्षित भई मनाउनुपर्ने आवश्यकता छ ।

विश्वलाई नै आक्रान्त बनाई संसारका सबै देशहरुमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट हाम्रो देश पनि अछुतो रहन सकेन । शुरुका दिनहरुमा नेपालमा संक्रमण दर र संक्रमितको सङ्ख्या न्यून रहेतापनि पछिल्ला दिनहरुमा संक्रमितको सङ्ख्या क्रमशः निकै नै बृद्धि हुँदै गइरहेको छ । अहिले अवस्था भयावह भइसकेको छ ।

नेपाल सरकारले यस महामारीबाट जोगिन र जोगाउन गरेका विभिन्न किसिमका प्रयाशहरुका साथै हामी नेपालीहरु आफैंमा समेत सजग र सावधान रहँदारहँदै पनि दिनानुदिन संक्रमण बढ्दो छ । विशेषतः शहर बजारमा मानिसको चाप र बढी भिडभाड हुने हुँदा सोही क्षेत्रमा संक्रमणको दर पनि उच्च देखिएको छ । यसरी संक्रमण दर उच्च बन्दै गर्दा हाम्रा सांस्कृतिक महत्वका चाडपर्वहरु पनि सुरक्षित रुपमा मनाउनुपर्ने अवस्था छ ।

यस समयमा शहरी क्षेत्रमा विभिन्न पेशा, व्यवसाय र जागिरमा संलग्न रहेका व्यक्तिहरु दशैं पर्वलाई लक्षित गरेर गाउँ फर्किने क्रम चलिरहेको छ । यसरी गाउँघरमा नै फर्केर वा आफू बस्दै आएको ठाऊँबाट नै दशैं पर्व मनाइरहँदा विशेष सावधानीपूर्वक सुरक्षित रहने तर्फ ध्यान दिइएन भने कोरोना जोखिम चाडपर्वसँगै अझ व्यापक बन्दै जाने निश्चित छ । त्यसकारण सम्भव भएसम्म यसपटकको चाडपर्वमा जो जहाँ छौं, त्यहीँबाट नै सुरक्षित र सावधानीपूर्वक दशैं, तिहार लगायतका चाडपर्वहरु मनाऔं । चाडपर्व मनाउँदा सुरक्षित भई सामाजिक दूरी कायम गरौं । यसो हुन सकेको खण्डमा हामीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई क्रमशः न्यूनीकरण गर्दै लैजान सक्छौं । हामीले चाडपर्व सावधानी र सजगता अपनाएनौं भने हाम्रा गाउँघर सम्म पनि संक्रमण बढ्न जाने सम्भावना निकै नै प्रवल हुन्छ । तसर्थ सचेत र सावधान हुनु नै कोरोना भाइरसबाट सुरक्षित हुने उपयुक्त उपाय हुन जान्छ ।

 

चाडपर्वको समयमा घरघरमा एलपि ग्यासको प्रयोग निकै नै बढी हुने हुँदा यसको प्रयोग निकै नै सजगतापूर्वक गर्नुपर्ने हुन्छ । एकातिर हामी निकै नै हर्षोल्लासका साथ चाडपर्व मनाइरहेका हुन्छौं भने अर्कोतिर हाम्रो सानो कमजोरीको कारणले ठूलो क्षति हुन सक्ने अवस्था समेत रहन्छ । तसर्थ हामी सम्पूर्ण उपभोक्ता वर्गलाई एलपि ग्यासको प्रयोग गर्ने क्रममा सचेत रही सावधानी अपनाउनुहुन अनुरोध गर्दछौं ।

हामी अत्यावश्यक वस्तु एलपी ग्यासका (जो आम उपभोक्ताहरुको चुल्होसँग प्रत्यक्ष जोडिएको वस्तु हो) उद्योगी व्यवसायी, वितरक र बिक्रेताहरुले यो महामारीको समयमा पनि स्वास्थ्यमा नीतिलाई अवलम्बन गरी सामाजिक दूरीका साथै आम उपभोक्ताहरुलाई सेवा गरिरहेका छौं । यसरी सेवागरी रहने वातावरण बनाइदिइ रहनुहुने सरोकारवाला निकाय, उद्योगी, व्यवसायीहरु लगायत सबै पक्षमा आभार प्रकट गर्दछौं । साथै यो महामारीको अवस्थामा पनि देशैभरीका एलपि ग्यासका वितरण, बिक्रेता साथीहरु आम उपभोक्ताको सेवामा निरन्तर लागिरहनुभएको छ । यसरी आफ्नो कर्ममा लागिरहँदा ठाउँ–ठाउँका ग्यास बिक्रेता साथीहरु कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् । म सम्पूर्ण एलपि ग्यासका वितरक, बिक्रेता साथीहरु लगायत संक्रमित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोरोना भाइरस (कोभिड–१९)को कारण कतिपय बिक्रेता साथीहरु संक्रमित भइ आफ्नो व्यवसाय सञ्चालन गर्न सक्नु भएको छैन । यसबाट कतिपय उपभोक्ताहरुलाई आफूसँग भएको ब्राण्ड (उद्योग)को ग्यास भर्न-साट्नको लागि निकै टाढाटाढा पुग्नुपर्ने अवस्था पछिल्लो समयमा सृजना भएको छ । यस्तो विषम परिस्थितिमा आम उपभोक्ताहरुको सहजताको लागि उद्योगीहरुले नै उपयुक्त सहजीकरणको तरिका अपनाईदिनु हुनेछ भन्नेमा विश्वासका साथै अनुरोध गर्न चाहन्छु । साथै जटिलपूर्ण अवस्थामा विक्रेता साथीहरुलाई पनि आम उपभोक्ताहरुलाई सहज र सरल रुपमा ग्यास उपलब्ध गराई दिनुहुन अपिल गर्दछु । त्यसैगरी उपभोक्ता वर्गहरु पनि ग्यास लिन आउँदा मास्क लगाएर, सामाजिक दूरी कायम गर्दै, बिक्रेताको पसलमा भीडभाड नगरिकन आफूलाई आवश्यक ग्यास सुरक्षित रुपमा लैजाने व्यवस्था गर्नुहुन अनुरोध गर्दछु ।

साथै नेपालीहरुका महान पर्व विजयादशमी, शुभ दिपावली, नेपाल संवत (११४१), छठ पर्व लगायत २०७७ सालभरीका सम्पूर्ण चाडपर्वहरुको अवसरमा विश्वभरी जो जहाँ हुनुहुन्छ, ती सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदीबहिनी एवं साथीसहकर्मीहरुमा कोरोना भाइरसबाट सुरक्षित रही खुसीयाली सहित चाडपर्वहरु मनाउनुहोला । सबै–सबैमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij