विष्णु दुलाल, महासचिव, ग्यास बिक्रेता महासंघ नेपाल
कोरोना महामारीको कारण लामो समय भइसक्दा पनि अहिले सम्म कोरोना घट्ने अवस्था देखिएको छैन । साथै नेपाल सरकारले कोरोना संक्रमितहरुलाई आवश्यक सही व्यवस्थापन समेत गर्न नसकेको अवस्थामा अबका दिनहरु अझ कष्टकर बन्ने निश्चित छ ।
खुला सीमानाको कारण विश्वका अन्य ठाउँहरु हुँदै नेपाल प्रवेश गरेको कोरोनाबाट अहिले सम्म ग्रामीण क्षेत्र सुरक्षित छ । दशैं पर्वमा शहरमा रहने मानिसहरु पनि पारिवारिक जमघट र टीकाटालोको लागि गाउँ फर्किने नेपालीहरुको प्रचलन छ ।
यस बर्ष सम्भव रहे सम्म आफू रहेकै ठाउँमा रहेर दशैं मनाउनुपर्ने बाध्यता छ ।
यतिबेला शहरी क्षेत्रमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकोले जोखिम दर समेत बढ्दो छ । अग्रपंक्तिमा रहेर सेवा प्रवाहमा खटिने ग्यास व्यवसायीहरुमा पनि कोरोना जोखिम उच्च रहने गर्दछ ।
ग्यास आफैंमा अतिआवश्यक वस्तु भएको र सेवामूलक काम समेत भएको कारण बाध्य भइ ग्यास पसल खोल्न व्यवसायी उत्प्रेरित छन् । लकडाउन वा अन्य कुनै पनि जटिल परिस्थितिमा ग्यास व्यवसायीहरुले सेवा प्रवाह गरिरहेका छन् ।
यतिबेलाको कोरोना जोखिममा पनि ग्यास व्यवसायीहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम राख्दै सेवाप्रवाह गरिरहेका छन् । उपभोक्तालाई सेवा प्रवाह गर्न निरन्तर तयार रहने ग्यास व्यवसायीहरु अझ सुरक्षित रहँदै सेवा प्रवाह गर्नुपर्ने आवश्यकता छ ।
नजिकिएका चाडपर्वहरुमा सम्पूर्ण ग्यास व्यवसायी साथीहरु, उपभोक्ताहरु एवं सम्पूर्ण नेपालीहरुमा सुरक्षित तवरले दशैं पर्व मनाउनको लागि हामी हार्दिक अनुरोध गर्दछौं ।
यस बर्ष चाडपर्वहरुमा ग्यास अभाव नहुनेमा ढुक्क रहन हामी सम्पूर्ण उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं । साथै नेपालीहरुका चाडपर्व विजयादशमी, दिपावली एवं छठ लगायतको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij