सोयम बहादुर खड्का, अध्यक्ष, गौरीशंकर गाउँपालिकाको कार्यालय, दोलखा
नेपालकाे एक पूर्वी पहाडी जिल्ला दोलखाको वर्तमान गौरीशंकर गाउँपालिका (साविक) सुरी गाविसमा जन्मिएका हुन् साेयम बहादुर खड्का । जहाँ विगतकाे विकास अवस्था निकै कमजाेर थियाे । त्यही क्षेत्रबाट स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिइ निर्वाचित साेयम बहादुर खड्का यसरी बताउँछन् आफ्नाे बाल्यावस्था, राजनीतिक जीवन हुँदै गाउँपालिका अध्यक्ष सम्मकाे यात्राः
बाल्यकालः
मेराे जन्म दाेलखाकाे हालकाे गाैरीसङ्कर गाउँपालिका रहेकाे सुरीमा भएकाे हाे । दाेलखाकाे सुरी पहिले निकै विकट थियाे । हाम्राे त्यहाँकाे विकास त्यसबेला निकै पछाडि थियाे । हुनतः मेराे जन्म क्षेत्र मात्रै नभएर त्यतिबेला सम्म पूरै नेपाल नै विकासोन्मुख ढंगले अगाडि बढेको थियो । त्यसबेलाकाे सानाे उमेरमा मेराे ध्यान पढाइमा त्यति जाँदैन थियो । त्यसबेला एउटा भनाई चर्चामा थियो, ‘पढ्यो लेख्यो छैन काम, हलो जात्यो खायो माम’ भन्ने । त्यसैबाट म लगायतका अन्य साथीहरु पनि प्रेरित थियौं । त्यो हुँदाहुँदै पनि मेरो बुुबा, आमाले पढाउनुपर्छ भनेर घरनजिकैको विद्यालयमा कक्षा ३ सम्म पढाउनुभयो । त्यसपछि थप अध्ययनको लागि निमाविमा गइयो । निमाविमा पढ्दैदेखिकाे सामान्य विद्यार्थी म राजनीतितिर लागेँ । त्यसपछि मावि स्कुल पढ्न थालियो । माविमा पढ्ने बेला अनेरास्ववियुको राजनीतितिर लागेँ । म स्कुल पढ्दैदेखि समाजसेवा पनि गर्नुपर्छ भन्ने भावनाले ओतप्रोत थिएँ । त्यसैले कसैको त्यसै खानुहुँदैन । कुनै चिजवस्तुको मुल्य तिर्नुृपर्छ भन्ने भावनाले अगाडि बढ्दै आयौं । त्यसपछि शिक्षक भएर दिन दुःखीको सेवा गर्न लागियो । त्यसबेला र अहिले पनि शिक्षकलाइ पढ्ने विद्यार्थीदेखि अभिभावकले पनि गुरु मान्ने चलन थियो । त्यही बेलादेखि शिक्षकले गाउँमा परेका हरेक दुःखसुखमा अभिभावक भएर भूमिका निर्वाह गर्नुपथ्र्यो । त्यसबेलादेखि आफूले जाने–बुझेका कुराहरु समाजमा बुझाउन निरन्तर रुपले लागिरहन्थेँ । 
राजनीतिक यात्राः
शुरुमा मैले मैले शिक्षक संगठनमा आवद्ध भएर काम गरेँ । शिक्षक संगठनबाट प्रवेश गरेको पार्टी राजनीतिमा नेकपाको इलाका सचिव हुँदै नेकपाको जिल्ला कमिटी सदस्य भएर काम गर्ने मौका मिल्यो । त्यसपछि पार्टी र जनताको विश्वासमा गौरीशंकर गाउँपालिकाको अध्यक्ष हुने मौका पाएको छु ।
जनप्रतिनिधिकाे रुपमा जिम्मेवारीः
नेपालमा संघीयता आएसँगै देशभर ७ सय ५३ स्थानीय निकायमध्ये गौरीशंकर गाउँपालिका पनि एउटा हाे । जहाँबाट मलाइ उम्मेदवारको सवालमा पार्टी र नेताहरुले काम र मुल्यांकनको आधारमा चयन गर्नुभयो । यहाँका जनताले मलाई विश्वास गरेर आफ्नो अमूल्य मतद्वारा विजयी गराउनुभयो । अहिले हामी संघ, प्रदेश र स्थानीय सरकारका नियम, कानुन अनुसार जनताका पीरमर्कामा अहोरात्र खटिरहेका छौं । जसरी जनताले हिजो विश्वास गरेका थिए, आशा राखेका थिए, त्यो अनुसार यहाँको भौगोलिक विकटता, सीमित स्रोतसाधनका कारण भनेजति र आशा गरेजति काम गर्न बाँकी नै छ । यस गौरीशंकर गाउँपालिकाका कतिपय ठाउँमा अहिले पनि यातायातले नछोएका ठाउँहरु छन् । ती ठाउँमा यातायात र अन्य विकास निर्माणका काम गर्न प्रयास गरिरहेका छौं । यी दुर्गम ठाउँमा भौतिक पूर्वाधार विकास निर्माणका निम्ति हामीले एउटा मास्टर प्लान पनि बनाएका छौं । हामीसँग प्राकृतिक सम्पदाले भरिपूर्ण ठाउँहरु छन् । यहाँका प्राकृतिक सम्पदासँगै जडीबूटी, वन्यजन्तुलगायत पर्यटकीय दृष्टिकोणले पनि भरिपूर्ण छ । त्यसकारण यहाँ जनताको लागि विकास निर्माणको प्रदेश र संघको नीतिनिर्देशनमा कटिबद्ध भएर हाम्राे समूहले काम गरिरहेका छाैं ।
स्थानीय निकायबाट भएका कामहरुः
यस गाउँपालिकामा विकासका कामहरु प्रशस्तै भएका छन् । विकासका कामहरु निरन्तर रुपमा भइरहेको छ तर जनताको इच्छाअनुसार सबै पुरा भइसकेका भने छैनन् । यति हुँदाहुँदै पनि दीगो विकासका लागि केही कुराहरु अगाडि सारेका छौं । मुलुक संघीयतामा गइसकेपछि धेरै कुराहरु भोग्नुपरेको छ । जस्तो भूकम्पका कुरा, अहिले आएर फेरि कोभिड–१९, कोरोनाका कुरा । बाढीपहिरोका कुरा । अझ किसानको दृष्टिबाट हेर्ने हो भने त्यति व्यापकता नभएपनि सलहसम्मका कुराले समस्या उत्पन्न गराएको छ । यति हुँदाहुँदै पनि हामीले कर्मचारीदेखि अन्य विकासमा काम गरेको छौं । ती चाहे स्वास्थ्य दरबन्दीका कुरा हुन् अथवा गाउँपालिकामा आवश्यक कर्मचारीका कुरा हुन् । त्यसैगरी विद्यालयमा परेका समस्याहरुमा पनि हामीले काम गर्दै आएका छौं । अहिलेकाे सरकारले ल्याएको जुन नारा छ, त्यो अनुसार अगाडि बढ्न गाउँपालिका निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
मैले अगाडि भनिसकेको छु । गौरीशंकर गाउँपालिका प्राकृतिक सम्पदा, जल सम्पदा, जडीबूटी, वनजंगल र पर्यटकीय हिसावले अब्बल छ । यी सम्पदाहरुलाई सही ढंगले सदुपयोग गर्न सकियो भने तिनै तहका सरकारका नारालाई साकार पार्न सजिलो हुन्छ । गौरीशंकर गाउँपालिकाको बारेमा मैले अगाडि नै कुरा गरिसकेको छु । यसबाहेक गाैरबकाे कुरा भनेकाे प्रदेश सरकारका समानुपातिक प्रत्यक्ष, प्रदेश सदस्य एवं योजना आयोगका उपाध्यक्ष साथै मन्त्रीज्यू समेत गौरीशंकर गाउँपालिकाकै हुनुहुन्छ । उहाँहरुले गौरीशंकरका जनता, नेता, कार्यकर्ता सबैलाई सहयोग गरिरहनुभएको छ । यो गाउँपालिका भौगोलिक दृष्टिले ठूलो र धरातलीय स्वरुपले विकट जस्तो देखिन्छ । यो गाउँपालिका एकदमै दुरदराजमा रहेकाले अरुको तुलनामा विकास निर्माणको काममा पछाडि परेको छ ।
दोलखाकै कुरा गर्ने हो भने ३५-३६ वर्ष अगाडि नै जिरीमा सडक पुगिसकेको थियो । तर सिंगटी भने धेरै वर्षपछाडि पुगेकाे हाे। हाम्रो गाउँपालिकामा हेर्ने हो भने ४० वर्ष पछाडि सकडमार्ग जोडिएको अवस्था छ । अब भने ढिलै भएपनि विकास हुन्छ भन्नेमा हामी विश्वस्त छौं । हामीसँग धेरै सम्पदाहरु छन्, त्यसलाई परिचालन गर्नका लागि स्थानीय, प्रदेश र संघसँग पनि पहुँच पुगिसकेको छ । नयाँ व्यवस्था भएकाले स्थानीय सरकार पनि केही समय नीति, कार्यक्रम तथा ऐन बनाउनमा अल्मलियो ।
अब तीव्र विकासकाे याेजनामा गाउँपालिकाः
अब हामीले सरासर काम गर्ने योजना बनाएका छौं । धमाधम विद्यालय, स्वास्थ्यचौकी र मठमन्दिरहरु पनि बन्दैछन् । अहिलेको परिवेशमा राजनीतिक हिसाबले जनताको इच्छा पुरा भएको छ भने आर्थिक उपार्जन गर्ने सोचमा लाग्नुपर्ने छ । अहिले वैदेशिक रोजगारीबाट आउने साथीहरुले पनि सीप, कला र क्षमता लिएर आउनुभएको छ । उहाँहरुको सीपलाई प्रशिक्षक वा उद्यमीहरुको रुपमा लिएका छौं । एउटा गाउँ एउटा नमुना कार्यक्रमहरु सञ्चालन गरेका छौं । यो गाउँपालिका हिमालको दृश्यावलोकन, प्राकृतिक सम्पदा र धार्मिक तीर्थस्थलका दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । पर्यकट प्रवर्द्धनका लागि अग्रपंक्तिमा रहेर काम गर्ने शेर्पा जातीहरु पनि यसै गाउँपालिकामा अवस्थित हुनुहुन्छ । यसले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । त्यसैले हिजोको भन्दा आज केही न केही परिवर्तन भएको छ । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सिंचाई लगायतका विकासमा जोड दिने ढंगले गाउँपालिका लागिपरेको छ । त्यसैले गौरीशंकर गाउँपालिका सम्भावना नै सम्भावना भएको गाउँपालिका हो । यस गाउँपालिकालाई समृद्ध बनाउन हामीहरु दत्तचित्त भएर लागेका छौं ।

(कोभिड–१९) कोरोनाको कहरः विकास निर्माणमा प्रभाव
कोभिड–१९ कोरोना भाइरस विश्वबाट कहिले समाप्त हुन्छ भन्ने कुरा त अहिले पनि अनुमान गर्न सकिन्न । विश्वका विकसित भनिएका मुलुकहरु पनि यसबाट प्रताडित भइरहेको बेलामा यसबाट बच्ने उपाय भनेको लकडाउन नै देखिएकाे थियो । त्यो नेपाल सरकारबाट समयमै घोषणा भयो । त्यसबेला एसईईको परीक्षा भोलिपल्ट सञ्चालन हुँदैथियो । त्यसलाई रातारात रोकेपछि विभिन्न जिल्लाका ती विद्यार्थीहरुलाई उनीहरुका घर–घरमा पुर्याउन यातायातको व्यवस्था गर्न हामी सक्षम भयौं । जिल्लाका सबै जनप्रतिनिधि र सम्बन्धित निकायको पदाधिकारी बसेर हरेक हप्ता गाउँगाउँमा कसरी पुग्ने भन्ने निर्णय गरेर त्यसैबमोजिम लकडाउनको बेलामा जनताको घरदैलोमा पुगेर सेवा गर्ने मापदण्ड बनायौं । हरेक वडा–वडामा क्वारेन्टाइनको व्यवस्था गर्यौं । लकडाउनको समयमा दोस्रो मुलुकमा रहनुभएका साथीहरु आउनुभयो । त्यसपछि दुई सय थान आरडिटी खरिद गर्यौं । ती बाहिरबाट आउने साथीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने काम गर्यौं । क्वारेन्टाइनमा बस्नेहरुको लागि गाउँपालिकाले बस्ने, खाने व्यवस्था गर्यौं । त्यसपछि गाउँपालिकाले मात्रै नभ्याउने भएपछि वडाका विद्यालयलाई प्रयोग गरेर ९ वटै वडाका विद्यालयलाई क्वारेन्टाइनमा परिणत गर्यौं । त्यसमा अहोरात्र रुपमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सुरक्षाकर्मी साथीहरु खट्नुभयो । त्यसरी खट्ने हामी सबैको पहिला जनता बँचाउनुपर्छ भन्ने मूल उद्देश्य थियो । हाम्रो जिल्लामा धेरै उद्योगधन्दा र हाइड्रोपावर भएकाले आउने, जानेको संख्या बढी थियो । त्यसरी आउनेहरुलाई पीसीआर र आरडीटी गरियो । अहिले भने दोस्रो, तेस्रो मुलुकबाट आउने साथीहरुकाे सङ्ख्यामा केही कमी भएको छ । अहिलेसम्म यस गाउँपालिकामा दुई सय हाराहारीमा दोस्रो र तेस्रो मुलुकबाट साथीहरु आउनुभयो । केही साथीहरु पहिला पोजेटिभ देखिएपनि पछिल्लो परीक्षणमा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । अहिले पनि केही साथीहरु क्वारेन्टाइनमा हुनुहुन्छ । त्यसैले त्यतिबेला संकट नभएपनि मनोबल संकटमा परेका बेला अहोरात्र खट्नुहुने साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।
नमुनामूलक गाउँपालिका बन्दै गौरीशंकर
हुनतः यस गाउँपालिकालाई भौगोलिक दृष्टिले पनि त्यति साथ दिएको छैन । गौरीशंकरका व|डा नम्बर १, २, ३, ४ कै कुरा गर्दा पनि अर्को पालिकासँग पायक पर्ने, उठबस हुने गर्दछ । यसरी भौगोलिक विकटता हुँदाहुँदै पनि केही कामहरु गर्न सफल भएका छौं । अझै पनि सोचेजस्तो गर्न सकिएको छैन । शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने ४ वटा मावि, ७ अन्य र ३५ वटा प्राथमिक विद्यालयहरु छन् । भौगोलिक विकटताका कारण यी विद्यालयहरुमा शिक्षकदेखि विद्यार्थीहरुलाई आवतजावतमा धेरै कठिन भएको छ । विकटताकै कारण अरुसँग प्रतिस्पर्धा गर्ने लक्ष्य छ, तर अहिले नै त्यो ढंगले जान गाह्रो भइराखेको छ । त्यसकारण हरेक कुराको नयाँ संरचना निर्माण गर्नुपरेको छ । स्वाथ्यचौकीदेखि वडा कार्यालयसम्म सबै नयाँ भौतिक संरचना निर्माण गर्नुपर्ने थियो, त्यो लगभग निर्माण भइसकेको छ । गाउँपालिकाको रिङरोडको बारेमा पनि कुरा उठाइएको छ । हिजो हामी जुन उद्देश्य र लक्ष्यका साथ हिंडेका थियौं । त्यो पुरा गर्न कोरोनाको कारणले गर्दा सकिएको छैन । अहिले विकास निर्माणभन्दा पनि जनता बाँच्नुपर्छ भनेर काम गरिरहेपनि लक्ष्य र उद्देश्यअनुसार हुन सकेको छैन । कोरोना भाइरसको उन्मुलनपछि विकासको रफ्तारलाई पहिलाकै अवस्थामा जोड्छौं ।
रोजगारी सृर्जनालाई विशेष ध्यान दिन्छाैंः
रोजगारीका लागि यहाँका युवाहरुलाई पहिला सीपमूलक तालिमकाे लागि उत्प्रेरणा जगाउने, त्यसपछि उहाँहरुले के कुरामा रुचि राख्नुहुन्छ । त्यही रुचिअनुसार तालिम दिने । त्यसपछि उहाँहरुको सीप र क्षमता अनुसारको कामको लागि सरकारले पनि लगानी गर्नुपर्छ भनेर लागेका थियौं । त्यो पनि कोभिड–१९ का कारण सभा, सेमिनार, गोष्ठी गर्न नपाउने भएकाले गर्न सकिएन । विदेशबाट फर्किने साथीहरु रित्तै आउनुभएको छैन प्रविधि र सीप लिएर आउनुभएको छ । त्यसकारण हाम्रो गाउँपालिकामा उद्योगधन्दा, जडीबूटी, जलसम्पदा लगायत हरेक छन् । युवा साथीहरुले यी ठाउँबाट रोजगारीका अवसरहरु प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै कृषिका क्षेत्रको कुरा भूगोल र हावापानी सुहाउँदो खेतीको कुरा पनि छन् । यहाँ जनसंख्याको दृष्टिले भूगोल प्रशस्त छ । त्यसैले बेरोजगार युवाहरुले रोजगारी प्राप्त गर्ने आधार गाउँपालिकामा रहेको छ ।
अन्त्यमा
यस गौरीशंकर गाउँपालिकामा बस्नुहुने उद्योगी, व्यवसायी, विद्यार्थी, शिक्षक, राजनीतिक कार्यकर्ता लगायत सबैकाे लागि हिजोको प्रतिवद्धता अनुसार काम हुन सकेनन् होला । त्यसको लागि सबैसँग क्षमाप्रार्थी छु । जे सोचिएको थियो, त्यो अनुसार काम हुन नसकेको हुनसक्छ । त्यसैले आउँदा दिनहरुमा पार्टीको नीति, सिद्धान्त र भूगोल सुहाउँदो काम गर्ने इच्छा हुँदाहुँदै पनि कमीकमजोरीहरु महसुस गरी त्यसलाइ सच्याएर काम गर्नेमा हामी प्रतिबद्ध छाैं । हामीले काम चाहेर पनि आँखा नपरेका ठाउँमा यहाँहरुको सल्लाह, सुझाव आएमा सच्याउने मौका मिल्ने थियो । यहाँहरुको सल्लाह सुझावको अपेक्षासँगै मलाई दिनुभएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
(प्रस्तुतीः गिता खड्का ‘बस्नेत’ )
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij