
काठमाडाै । नेपाल सरकारले निरन्तर रुपमा निशेषाज्ञा जारी राख्दा नेपालका उद्योग व्यवसायहरुको अवस्था निकै नै कमजोर हुँदै गएको छ । लकडाउन अथवा निषेधाज्ञा कायम रहिरहँदा पनि कोरोना नियन्त्रणमा आउन नसकेको बरु यसको वृद्धि तीव्र रुपमा भइरहेको परिप्रेक्ष्यमा नेपालका उद्योगी व्यवसायीहरुले सरकारले जिम्मेवार भई प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आग्रह गरेका छन् । साथै अन्य प्रभावकारी क्रियाकलाप सञ्चालनमा ध्यान नदिई निशेषाज्ञा बढाइरहने सरकारको निर्णय प्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले निरन्तरको बन्दले नेपाली उद्योगी व्यवसायीहरुलाई परेको असर सम्बन्धमा जुमबाट कृष्णहरी बास्कोटाको प्रमुख आतिथ्यतामा ‘मिट टक’ कार्यक्रम सञ्चालन गरी सरोकारवालाहरुलाई यस सम्बन्धमा ध्यानाकर्षण गराएको छ । 
छलफल पछि एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष दिनेश श्रेष्ठले अर्थतन्त्र धराशयी हुँदै गएको, नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने भनिएको सहुलियत निजी व्यवसायीहरुले सहज रुपमा प्राप्त गर्न नसकेको लगायत निजी क्षेत्रले भोग्नुपरेका थुप्रै समस्याहरु सार्वजनिक गर्नुभएको छ ।
उक्त ‘मिट टक’मा प्रमुख अतिथि कृष्णहरी बास्कोटाले विभिन्न बाह्य मुलुकहरुमा महामारीबाट परेको प्रभावबाट निजी क्षेत्रलाई जोगाउन राज्य मातहत विशेष प्याकेज ल्याई निजी क्षेत्र एवं नागरिहरुलाई उपलब्ध गराइएको भएपनि नेपालमा भने त्यस किसिमको कार्यमा राज्यबाट कमजोरी भएको बताउँदै महामारीले पारेको असर सम्बन्धमा विस्तृत अध्ययन गरी त्यस सम्बन्धी तथ्याङ्क नेपाल सरकार समक्ष पेश गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
यसैगरी सेतोघर डट कमसँगको कुराकानीमा पोखराका प्रतिष्ठित उद्यमी एवं हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले कोरोना जोखिम सँगै मुलुकको अर्थतन्त्रलाई पनि चलायमान बनाउन प्रभावकारी भूमिका खेल्नुपर्नेमा राज्यलाई आग्रह गर्नुभयो ।
कोरोना विरुद्धको भ्याक्सिन सफल भइनसकेको र यस भाइरसको असर यति अवधिमा पूर्ण रुपमा हट्न सक्छ भन्ने निश्चितता नभएको अवस्थामा अहिलेकै हिसाबले निशेषाज्ञा कायम गरेर मात्र सुरक्षित हुन नसकिनेमा उहाँको जोड छ ।
साथै अहिलेको निशेषाज्ञा बीच विहानको समयमा मात्र पसलहरु खोल्ने अनुमति दिँदा त्यसै समयमा मानिसहरुको भीड अझ बढ्ने र त्यहीँबाट नै कोरोना फैलन सक्ने सम्भावना रहेको भन्दै निषेधाज्ञा सँगै यसको प्रभावकारिता सम्बन्धी पनि अध्ययन हुनुपर्ने र अन्य उपयुक्त विकल्पहरुको खोजी गर्नुपर्नेमा थापाको जोड छ ।
नेपाल वितरक संघले पनि निरन्तर निशेषाज्ञा तथा लकडाउनले मात्र समस्या समाधान नहुने भन्दै सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएर सेवा प्रवाहमा सहजता ल्याउनुपर्नेमा विशेष जोड दिएको छ ।
नेपाल वितरक संघ (काठमाडौं)का अध्यक्ष राजेन्द्र सिंखडाले अर्थतन्त्र अस्तव्यस्त भइसक्दा पनि राज्यले अन्य विकल्प नखोजी निशेषाज्ञा मात्र कायम राख्दा व्यावसायिक भविष्य थप अनिश्चित बन्दै गएको बताउँदै यसबाट निजी क्षेत्र आकुलव्याकुल बन्न पुगेको धारणा राख्नुहुन्छ । प्राकृतिक रुपमा सृजना भएको यस कठोर परिस्थितिमा सबैको अभिभावकको रुपमा रहने सरकारको भूमिका विशेष प्रभावकारी हुनुपर्नेमा उहाँको जोड छ ।
नेपाल वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले अहिलेको अवस्था कायम रहिरहेको खण्डमा व्यावसायिक वातावरण र अर्थतन्त्र अझ कमजोर बन्दै जाने निश्चित रहेको बताउँदै परिस्थितिलाई सहजीकरण गर्न प्रभावकारी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ ।
बाह्य मुलुकहरुले कोरोनाको सामना गर्न कस्ता रणनीति अबलम्बन गरेका छन्, त्यसको अध्ययन गरी नेपालमा पनि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने, परीक्षण दर बढाउने, सुरक्षा सतर्कता सम्बन्धी अनुगमन प्रभावकारी बनाउने, सेवामा संलग्न कर्मचारीहरुको वीमा तथा सेवासुविधामा विशेष व्यवस्था गरी कर्मचारीहरुको मनोवल उच्च बनाउने लगायतका कामहरुमा राज्य सक्रिय हुनुपर्ने बताउनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij