
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो समयमा उपत्यकामा कोरोना संक्रमितको संख्या पनि अधिक रुपमा बढेको छ ।
कोरोना संक्रमण दिनप्रति दिन बढ्दैं गएपछि उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकामा भदौं १० गतै सम्मका लागि निषेधआज्ञा जारी गरेका छन् । उपत्यकामा अहिले निषेधआज्ञा जारी गरिएको छ तर पनि संक्रमितको संख्यामा भने कमी आएको छैन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार काठमाडौं जिल्लाका सबै (३२ वटै) वडामा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित फेला परेका छन् । काठमाडौंको वडा नम्बर ३२ कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमित फेला परेका छन् । हिजो मात्र काठमाडौंमा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म काठमाडौंमा मात्रै २ हजार ५ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमा एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला रहेका छन् ।
काठमाडौंमा मात्र नभई ललितपुर र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । हिजो भक्तपुरमा २८ र ललितपुरमा १२ जना नयाँ संक्रमित थपिएका छन् । हाल सम्म ललितपुरमा ४ सय ११ जना तथा भक्तपुरमा २ सय ७२ जनामा संक्रमण देखिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij