
काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड –१९) रोकथामका लागि सेभ द चिल्ड्रनले ग्लोबल फन्ड परियोजना मार्फत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर हस्तान्तरण गरेको छ।
आइतबार सेभ द चिल्ड्रनले मन्त्रालयलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुने १ करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका सात थान भेन्टिलेटर सहयोग स्वरुप हस्तान्तरण गरेको हो।
ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेस मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वष्ठि विशेषज्ञ डा। रोशन पोखरेललाई आइतबार हस्तान्तरण गरेका हुन् ।भेन्टिलेटरहरु मन्त्रालयको प्राथमिकता अनुसार प्रयोगमा आउने बताइएको छ ।
‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्ड्रन अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समुदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ,’ सेभ द चिल्ड्रनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने ।
पछिल्लो समय कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।
यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ। योसँगै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरण समेत उपलब्ध गराएको छ।
कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित संघीय मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने लगाय कार्य गरेको सेभ द चिल्ड्रनले बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij