
काठमाडौं । विष दिइएको आशङ्का गरिएका एक जना रुसी विपक्षी नेता अलेक्सी नभाल्नीको उपचारमा सबै खालको सहयोग गर्न तयार रहेको जर्मनीले जनाएको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनका खरो आलोचक नभाल्नी रुसको एउटा अस्पतालमा कोमामा रहेको उनका समर्थकहरूले बताएका छन्।
भ्रष्टाचार विरोधी अभियानकर्ताको छवि बनाएका नभाल्नी आन्तरिक उडानका क्रममा बेहोस भएपछि उनी सवार जहाजलाई आपतकालीन रूपमा अवतरण गराइएको थियो।
चिकित्सकहरूले उनी ओम्स्क सहरको एउटा अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको बताएका छन्।
नभाल्नीको समूहले विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको आशङ्का गरेका छन्।उनका समर्थकहरूको त्यस्तो भनाइपछि जर्मन चान्सलर एङ्गेला मेर्कलले नभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी छन्।
जर्मनीको पीस फाउन्डेशले नभाल्नीलाई लिन रुस जानको निम्ति एउटा एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाएको छ।
ब्रिटिश विदेशमन्त्रीले नभाल्नीलाई विष खुवाइएको भन्ने समाचारलाई लिएर आफू गम्भीर रूपमा चिन्तित रहेको बताए।बीबीसी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij