आज भाद्र महिनाको औंशी अर्थात कुशे औंशी । हिन्दु परम्परा अनुसार आजको दिनमा पितृहरु प्रति श्रद्धा र सम्मान अर्पण गर्ने दिन । स्वर्गीय हुनुहुने पितृहरुको लागि श्राद्ध, तर्पण तथा सिदा दान गरी तथा जीवित बुबाहरुको लागि खानपिन वा वस्त्र आदिबाट अथवा जसो गरेर भएपनि सन्तुष्ट पार्ने दिन ।
तर समयको बदलिँदो क्रमसँगै आफ्ना बुबाआमालाई वृद्धआश्रममा छोडेर सामाजिक संजालको माध्यमबाट बिशेष दिनमा श्रद्धा राख्नेहरुको भिड आजभोलि बाक्लो हुँदै गएको छ । बाध्यता होस् वा रहर बृद्ध अवस्थामा यसरी बेवास्ताको शिकार भएका बुबाआमा प्रति नेपाली समाजमा मैले देखेभोगेका केही पिडाहरुको कारण केलाउने प्रयास गरेको छु ।
समयको बदलिँदो क्रमसँगै नेपाली पारिवारिक ढाँचा परिवर्तन भइ संयुक्त परिवारबाट एकल परिवारमा परिणत भयो । वृद्ध बुबाआमासँग उनीहरुको आदरसत्कार गरि दिनहुँ निहुरिनु भन्दा आफ्नो परिवार तथा सन्तानसँग जीवन बिताउने फेसनकै रुपमा देखापर्यो याे चलन ।
पारिवारिक कार्यविभाजनले पुरुष कमाउन जाने तथा महिला गृहिणी हुने परम्परा महिला शिक्षा र समानताले बिचलित तुल्यायो । महिलाहरु पनि जागीर तथा व्यवसायमा लागेपछि समाजमा वृद्ध तथा अशक्तले उचित संरक्षकको अभाव झेल्नुपरेको छ ।
शिक्षाको ज्योतिको फैलावटसँगै समाजमा योग्यता, दक्षता सँगै आर्थिकस्तर पनि सुधार भयो होला तर मानवता र विवेक हराउँदै गएको छ । जसको घातक परिणाम आज वृद्धवृद्धाले भोग्नुपरेको छ र भोलि यसको परिणाम भयावह हुनेछ ।
भौतिकताको जगमा अडिएको यो संसारमा मानिस जति सम्पन्न हुँदैछ त्यति उसका नयाँ-नयाँ चाहनाहरुले पछ्याउँदैछन् । उसलाई आफ्नो चाह पुरा गर्दै जाँदा परिवार, समाज, संस्कृति, पहिचान, जस्ता जीवनका अमुल्य निधिहरुलाई बिर्सिसकेको छ । किनेर सबथोक पाइने यो जमानामा मानवले आर्जित वस्तुमा अधिक ध्यान केन्द्रित गरेको छ । उसले आफ्नो धरातल समेत बिर्सिएर आकाशमा महल खडा गरिरहेको छ ।
जति मानिस वृद्ध हुँदै जान्छ, त्यति उसमा छोराछोरीको मोह बढेर सबैले सन्तोष भएको देख्न चाहन्छ । घर छोडेर जानेको त केही प्रगति भएको देख्छ तर उसको सेवा गर्नेको उसको जस्तै हालत देखि उसैलाई नराम्रो भन्न थाल्छ, फलस्वरूप उ पनि परदेश जान बाध्य हुन्छ ।
बदलिँदो परिवेशको कारण जागीर वा अन्य कारणले शहर पस्ने क्रम बढेसँगै गाउँमा बस्दा आर्थिक उपार्जन नहुने र शहर पस्दा धेरै जना पाल्न नसकिने अवस्था सिर्जना भएकाे छ । जसले गर्दा सँगै बस्न मन लागेर पनि नसकिने भएकाे छ ।
वृद्ध बुबाआमासँगै बस्दा आफ्नो रीतिरिवाज अनुसार चाडपर्व मनाउन बुढाबुढी भएको घरमा जम्मा हुने लगायतका धार्मिक तथा सामाजिक कार्यमा पनि खर्च बढेर जाँदा मध्यम आय हुनेले शहरमा बुवाआमा पाल्नु चुनौतीपूर्ण नै देखिन्छ । जति उमेर बढ्दै जान्छ, त्यति शरीर कमजोर भइ विभिन्न रोगहरुले च्यापन थाल्छ । त्यसपछिको औषधि उपचारमा पनि खर्च ब्यहोर्न गाह्रो हुन्छ ।