रोसन दाहाल, महासचिव, नेपाल निर्माण व्यवसायी महासंघ
यतिबेला निर्माण क्षेत्रका गतिविधिहरु कत्तिको सहजतापूर्वक अघी बढेका छन् ?
अहिले नेपालमा बर्षातको समय हो । यस समयमा धेरैजसो कामहरु बाढी, पहिरो र बर्षात्को कारण सम्पन्न गर्न मुस्किल पर्छ । यद्यपि बर्षातको समयमा पनि गर्न सकिने कामहरु हाम्रा व्यवसायी साथीहरुले निरन्तर रुपमा गरिनै रहनुभएको छ । हाम्रा व्यवसायी साथीहरुलाई काम गर्ने चाहना हुँदाहुँदै पनि अहिलेको कोरोना र बाढीपहिरोको कठिनाई एकैपटक आइपरेकोले कामलाई सहज रुपमा सञ्चालन गर्न सकिएको छैन । यद्यपि बर्षायाममा पनि गर्न सकिने किसिमका कामहरु भने केही मात्रामा अहिले पनि सञ्चालनमा छन् ।
अहिले नेपालमा थुप्रै सडक र पुलहरु भत्किएको कारण सडकहरु अवरुद्ध छन् । ती पूर्वाधारका कामहरु अघी बढाउन निर्माण व्यवसायीहरुले विशेष भूमिका खेल्नु जरुरी छ । त्यस कार्यमा आफूसँग भएका हेभी इक्पिमेन्ट लगायतका यन्त्र र उपकरणहरुको प्रयोग गरी अवरुद्ध भएका सेवा सक्दो सुचारु गर्ने कार्यमा सबै व्यवसायीहरु संलग्न होउँ भन्ने आग्रह निर्माण व्यवसायीहरुलाई गर्न चाहन्छु ।
कोरोना सङ्कटले निर्माण व्यवसायलाई कत्तिको प्रभाव पार्यो ?
कोभिड १९ को कारण सृजना भएको लकडाउन अवधिमा हाम्रो निर्माण क्षेत्रमा करिब ६५ करोड रकम बराबरको नोक्सानी भएको हामीले प्रारम्भिक अनुमान गरेका छौं । व्यवसायीलाई सृजना भएको यस्तो नोक्सानीमा केही सहज होस् भनेर हामीले राज्य पक्षलाई केही राहतको लागि पनि अपेक्षा गरेका छौं ।
नेपालमा लकडाउन खुकुलो बनाइएसँगै विगतको तुलनामा कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । नेपालमा पनि पछिल्ला दिनहरुमा कोरोनाले डरलाग्दो रुप लिइसकेको छ । अहिले लक्षण सहितका कोरोना विरामीहरु बढेका छन् । कोरोनाबाट मृत्यु हुने क्रम समेत अत्यन्तै तीव्र बनेको छ । यस्तो अवस्थामा निर्माण क्षेत्रमा रहेर काम गर्ने क्रममा व्यवसायी एवं कर्मचारीहरु त्रास बीच काममा खटिनुपरेको छ । विशेष सुरक्षित रहन कर्मचारीहरुलाई हामीले आग्रह गर्दै आएका छौं । त्यो अनुसारको वातावरण सृजना गरेका पनि छौं । तैपनि पूर्ण रुपमा ढुक्क हुन सकिने अवस्था छैन । जसले गर्दा अहिलेको अवस्थामा हामी विशेष सचेत रहँदै काममा खटिनुपर्ने अवस्था छ । पछिल्ला दिनहरुमा अग्रपंक्तिमा रहेर काम गर्ने संगठित संस्थाका कर्मचारीहरु देखि उच्च पदस्थ व्यक्तिहरुमा समेत कोरोना पुष्टि भएसँगै हामी थप होसियारी अपनाउनु जरुरी छ । यद्यपि हामी अवस्था नियन्त्रण भन्दा बाहिर नगएसम्म हाम्रा गतिविधिहरु सुचारु नै राख्छौं ।
लकडाउन पश्चात् हाल सम्म निर्माण कार्यमा कर्मचारी व्यवस्थापन कसरी गर्नुभएको छ ?
लकडाउन शुरु हुँदाको समयमा घर जानुभएका निर्माण क्षेत्रमा संलग्न सबै कर्मचारी अझै पनि कार्य क्षेत्रमा फर्किनुभएको छैन । जसले गर्दा कार्य क्षेत्रमा फर्कनुभएका सीमित कर्मचारीहरुलाई परिचालन गरेर नै निर्माण कार्य सञ्चालन गरिरहेका छौं । साथै पछिल्ला दिनहरुमा घरबाट कार्यस्थलमा आउनुएका कर्मचारीहरुलाई सिधै सम्बन्धित कार्यमा खटाउन सक्ने अवस्था समेत छैन । उहाँहरुलाई क्वारेन्टाइनमा राखी पिसिआर परीक्षण गरेर मात्र काममा लगाउने गरेका छौं । जसले गर्दा संक्रमण अन्य व्यक्तिमा फैलिन नसकोस् । कोरोनाको कारण निर्माण क्षेत्रमा निकै ठूलो नोक्सानी पुगेको छ । अहिले कोरोना संकटले ज्यूज्यान नै जोखिममा भएकोले विकासनिर्माण भन्दा पनि सुरक्षामा विशेष केन्द्रित हुनुपर्ने अवस्था छ । साथै विकासनिर्माण र अर्थतन्त्रलाई पनि चलायमान बनाउनु जरुरी छ ।
लकडाउनको असर विकास निर्माण कार्यमा कस्तो पर्यो ?
अनपेक्षित लकडाउनको असर अन्य क्षेत्रहरुमा जसरी नै निर्माण क्षेत्रमा पनि परेको छ । सहज रुपमा कामदार र कर्मचारीलाई काममा लगाउन सक्ने अवस्था छैन । अहिले गिट्टी बालुवा बाहेक नेपालमा आवश्यक कच्चा पदार्थ नेपालमा सहजै उपलब्ध हुने अवस्था छैन । विगतमा लकडाउनको अवधिमा नेपालमा सञ्चालनमा रहेका निर्माण सामाग्रीजन्य क्रसर उद्योगहरु अहिले कोरोनाको कारण बन्द हुँदा आवश्यक सामाग्री उपलब्धतामा निर्माण व्यवसायीले निकै समस्या भोग्नुपर्यो । यसैगरी नेपालमा सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुले नेपालमा सिमेट उत्पादनको लागि बाह्य मुलुबाट नै सिमेन्टको लागि आवश्यक कच्चा पदार्थ नेपालमा ल्याउनुपर्ने हुनाले त्यस कार्यमा पनि समस्या सृजना हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने गर्दछ ।
कोरोनाको कारण निर्माण क्षेत्रमा निकै ठूलो नोक्सानी पुगेको छ । अहिले कोरोना संकटले ज्यूज्यान नै जोखिममा भएकोले विकासनिर्माण भन्दा पनि सुरक्षामा विशेष केन्द्रित हुनुपर्ने अवस्था छ । साथै विकासनिर्माण र अर्थतन्त्रलाई पनि चलायमान बनाउनु जरुरी छ ।
नेपालमा यस्ता सामानहरु सहजै आयात गर्न सकिने अवस्था नभएसम्म काम केही हद सम्म सञ्चालन गरिएपनि पूर्ण क्षमतामा हाम्रा कामहरुलाई गति दिन सक्ने अवस्था रहँदैन । तैपनि हामी कठिन परिस्थितिमा पनि कामलाई सुचारु राख्न सकेकोमा खुसी समेत छौं । राज्य पूर्ण रुपमा लकडाउनमा रहेको अवस्थामा राज्य संयन्त्र चलायमान बनाउनको लागि हामी संलग्न निर्माण क्षेत्रले निकै महत्वपूर्ण भूमिका खेलेको छ ।
लकडाउन अवधिमा काममा सहजता ल्याउन र व्यवसायीहरुलाई ऐक्यवद्ध बनाउन महासंघले कस्तो भूमिका खेल्यो ?
हामीले कठिन परिस्थितिमा पनि अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ भन्ने मान्यता सहित नेपाल निर्माण व्यवसायी महासंघ मातहत विज्ञप्ति जारी गरेर राज्य पक्षलाई निरन्तर घच्घच्यायौं । राज्य पक्षले हाम्रा ती आवाजहरुलाई गम्भीर रुपमा नै लिएर केही सहज रुपमा काम गर्न सक्ने अवस्था बनाइदियो । यो हाम्रो लागि राज्यबाट भएको ठूलो सहयोग हो ।
राज्य पक्षसँग यहाँहरुका माग के छन् ?
हामीले अहिले सरकारसँग हामीले काम गर्ने क्रममा बिलबाट कट्टी भएको ५ प्रतिशत रकम अहिले सम्म कुनै काममा उपभोगमा आउन सकेको छैन । हामी व्यवसायीहरु त्यस रकम बराबरको बैंक ग्यारेन्टी दिन तयार छौं । तर हामीले धरौटीको रुपमा रखिएको ५ प्रतिशत बराबरको करिब २५ अर्ब बराबरको रकम उपलब्ध गराइदिन माग गरेका छौं । यसैगरी पुनकर्जामा पनि हामीलाई सहभागि गराउनुपर्छ भन्ने कुरा हामीले माग गर्दै आइरहेका छौं ।
अर्को कुरा भनेको नेपालमा पनि कोरोना भाइरसको अवस्था कहिले सम्म जाने हो बारे कुनै जानकारी नभएको कारण बाढीपहिरो र कोरोना सङ्कट लगायतका अवधिलाई शून्य समय मानेर त्यस भन्दा पछाडिको सामान्य अवस्थाको समयलाई मात्र काम गर्नको लागि गणना गरेर आयोजना सम्पन्न गर्न समय उपलब्ध गराउनुपर्छ भन्ने पनि हाम्र्रो माग छ ।
लामो समय सार्वजनिक खरिद ऐनलाई लिएर आन्दोलन गर्नुभएका यहाँहरुका मागहरु अहिले पूरा भए त ?
नेपालमा २०७६ वैशाख ३० गते सार्वजनिक नियमावलीमा भएको छैठौं संशोधनले हामी निर्माण व्यवसायीहरुलाई केही अलमलको अवस्था सृजना भयो । उक्त संशोधनमा भएको व्यवस्थाले गर्दा निर्माण क्षेत्रमा रहेर काम गर्ने हामी व्यवसायीहरुलाई अप्ठ्यारो पर्ने देखिएकोले हामीले नेपाल सरकारसँग पटक–पटक पटक–पटक नियमावली संशोधनको लागि माग गरिरह्यौं । नवौं संशोधन सम्म आइपुग्दा हामी व्यवसायीहरुका माग सम्बोधन हुने भए । वि.सं २०७६ पौष १४ मा निर्माण क्रममा रहेका आयोजनाहरुको म्याद थपको व्यवस्था सहित आएको संशोधनले हामी निर्माण व्यवसायीहरुमा खुसी छायो ।
म्याद थपको उक्त व्यवस्था बारे सम्पूर्ण व्यवसायीहरुलाई जानकारी गराउने समयसीमा २०७६ फागुन १४ गते सम्मलाई तोकिएको थियो । अधिकांश व्यवसायीहरुले उक्त समय भित्र नै जानकारी पाएका भएपनि कतिपय व्यवसायीहरुले भने त्यस सम्बन्धमा जानकारी पाउन सकेका थिएनन् । हामीले महासंघ मातहत व्यवसायीहरुलाई यस बारे जानकारी गराइ नै रहेका थियौं ।
नेपालमा अहिले निर्माण क्षेत्रमा ठूला व्यवसायीहरु भन्दा पनि साना निर्माण व्यवसायीहरु धेरै परिमाणमा सञ्चालनमा हुनुहुन्छ । अहिले स्थानीय निकाय, वडा कार्यालय लगायतका निकायबाट पनि निर्माण कम्पनी सञ्चालनको लागि इजाजत दिने व्यवस्था गरिएको छ । यसलाई हेर्दा नेपाल सरकारले निर्माण कम्पनीहरुको गुणस्तर अभिवृद्धिमा भन्दा पनि केवल सङ्ख्या मात्र बढाउन राज्य पक्ष सक्रिय भएको हामीले अनुभव गरेका छौं ।
बिना जरिवाना म्याद थप बारे व्यवस्था भएको जानकारी पाएसँगै व्यवसायीहरु कार्य क्षेत्रमा गएर काम शुरु गर्ने तरखरमा रहेको समयमा कोरोनाको कारण बन्दाबन्दी सृजना भयो । जसले गर्दा हामी व्यवसायीहरुका सम्पूर्ण गतिविधिहरु करिब १ महिना सम्म पूर्ण रुपमा ठप्पै रहे । साथै हामीले निरन्तर रुपमा नेपाल सरकारलाई घच्घच्याइरहँदा नेपाल सरकारले बर्षायाममा गर्नैपर्ने केही कामहरु सम्पन्न हुननसके हामी व्यवसायीहरुले ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्थालाई विचार गर्दै निर्माण गतिविधिहरु सञ्चालन गर्न सकिने व्यवस्था ग¥यो ।
निर्माण व्यवसाय गुणस्तरीय हुन सकेन भन्ने कुरा पनि छ । यसको पछाडि कुन–कुन पक्ष बढी जिम्मेवार छन् ?
नेपालमा अहिले निर्माण क्षेत्रमा ठूला व्यवसायीहरु भन्दा पनि साना निर्माण व्यवसायीहरु धेरै परिमाणमा सञ्चालनमा हुनुहुन्छ । अहिले स्थानीय निकाय, वडा कार्यालय लगायतका निकायबाट पनि निर्माण कम्पनी सञ्चालनको लागि इजाजत दिने व्यवस्था गरिएको छ । यसलाई हेर्दा नेपाल सरकारले निर्माण कम्पनीहरुको गुणस्तर अभिवृद्धिमा भन्दा पनि केवल सङ्ख्या मात्र बढाउन राज्य पक्ष सक्रिय भएको हामीले अनुभव गरेका छौं ।
नेपालमा अहिलेको अवस्थामा करिब साढे ३ सय निर्माण व्यवसायीहरु ‘क’ वर्गका हुनुहुन्छ । करिब साढे २ सय व्यवसायीहरु ‘ख’ वर्गका हुनुहुन्छ । ‘ग’ वर्गका करिब १ हजार र करिब १५ हजार ‘घ’ वर्गका व्यवसायीहरु हुनुहुन्छ । पछिल्ला दिनहरुमा नेपालमा खासगरी अत्यधिक मात्रामा ‘घ’ वर्गका व्यवसायीहरुको सङ्ख्या बढिरहेको छ । यस्तो अवस्थामा नेपालमा कामको गुणस्तरीयता खस्किँदै गइरहेको परिस्थितिलाई हामीले पनि बुझेका छौं । यसकारण राज्यले यो पनि बुझ्नुपर्छ कि निर्माण व्यवसायको लागि इजाजतपत्र मात्र बाँडेर हुँदैन । गुणस्तरीय तवरले काम गर्ने व्यवसायीलाई विशेष प्रोत्साहित गर्नुपर्छ । महासंघ पनि यही चाहन्छ ।
निर्माण क्षेत्रबाट अहिले कति सङ्ख्यामा रोजगारी सृजना हुँदै आएको छ ?
अहिले नेपालमा निर्माण क्षेत्रबाट नेपालमा करिब १५ लाख व्यक्तिहरुलाई रोजगारी सृजना भएको हाम्रो अनुमान छ । यसैगरी करिब २ लाख कर्मचारीहरु नियमित रुपमा यस क्षेत्रमा संलग्न हुनुहुन्छ । अन्य व्यक्तिहरु भने कतिपय मौसमी त कतिपय ज्यालादारीमा काम गर्ने आंशिक समेत हुनुहुन्छ । अहिले करिब ५ लाख विदेशी कामदारहरु समेत नेपालमा रही निर्माण क्षेत्रमा संलग्न रहँदै आउनुभएको छ ।
हामीले निर्माण क्षेत्रमा विदेशी कामदारहरु रोक्नुपर्छ भन्ने मान्यता सहित राज्यलाई आग्रह गर्दै आएका छौं । विदेशबाट त सीप र प्रविधि भित्र्याउने हो । विदेशबाट आएका दक्ष प्राविधिकहरुबाट हामीले सीप र प्रविधि यहाँ हस्तान्तरण गर्ने हो । कामदार नै विदेशी भित्र्याउनु हुँदैन भन्ने हाम्रो धारणा हो । अहिलेको अवस्थामा ५ करोड सम्मका कामहरु स्थानीय स्तरमा नै सञ्चालनमा रहेका निर्माणव्यवसायीहरुले काम गर्न पाउने गरी व्यवस्था गर्नको लागि समेत हामीले राज्यलाई अनुरोध गर्दै आएका छौं ।
अन्त्यमा यहाँले के भन्नुहुन्छ ?
नेपालमा निर्माण सम्बन्धी नयाँ ऐन संसदमा गएको छ । जुन हिउँदे अधिवेशनमा पास हुने हामीले आश्वासन पाएका छौं । उक्त ऐनमा केही विशेष व्यवस्थाहरु पनि रहेका छन् । ती व्यवस्थाहरु पास भएर आएको खण्डमा नेपालमा निर्माण व्यवसायीहरुको भविष्य सुनिश्चित हुने हामीले देखेका छौं ।
साथै अहिले कोरोना महामारी सँगै बर्षातको कारण सृजना भएका थुप्रै विपदहरुलाई हामीले विशेष शक्तिमा बदल्दै हाम्रा कामहरु अघी बढाउनुपर्ने जरुरी छ । अहिले हाम्रा क्षतिहरु कहाँ कति भएका छन् ? जनताहरुको क्षति कति भएको छ भन्ने सम्बन्धमा अध्ययन गरी स्थानीयहरुको क्षतिलाई सहयोग पुग्ने गरी जो व्यवसायी जहाँ छौं, त्यहीँबाट त्यस क्षेत्रका समस्यामा परेकाहरुलाई सहयोग गरौं । मानवीयता र सामाजिक उत्तरदायित्व प्रकट गरौं भन्ने आग्रह पनि व्यवसायी मित्रहरुलाई गर्न चाहन्छु ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij