२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

यी अस्पतालमा हुन्छ ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार,यस्ता छन् मापदण्ड

यी अस्पतालमा हुन्छ ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार,यस्ता छन् मापदण्ड


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १२ वटा अस्पतालमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार प्रक्रिया अगाडि बढाउने भएको छ ।

कोभिड-१९ का गम्भीर अवस्थामा पुगेका सङ्क्रमितको उपचार गर्न र अनुसन्धान गर्नका लागि ९ सरकारी र तीन निजी अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वीकृत दिएको छ । विश्वभरि नै कोभिड–१९ बाट सङ्क्रमित भई स्वास्थ्य अवस्था जटिल भएर आईसीयू र भेन्टिलेटरको आवश्यकता हुने बिरामीमा ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को उपचार पद्धति उपयोगि सिद्ध भएको छ ।

उपत्यकामा काभ्रेस्थित धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल–महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल अस्पताल–टेकु, भक्तपुर अस्पताललाई उपचारका लागि अनुमति दिइएको छ । उपत्यकाबाहिर बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान–धरान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान–जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल र सेती अस्पतालले प्लाज्मा थेरापीबाट उपचार गर्न पाउनेछन् ।

त्यसै गरी उपत्यकाभित्रका मेडिसिटी, ग्राण्डी र हयाम्स अस्पताललाई ‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’को अध्ययनमा सहभागी गराइएको जानकारी मन्त्रालयले दिएको छ । अनुसन्धानमा संलग्न हुनका लागि प्रत्येक अस्पतालबाट एकजना फिजिसियन चिकित्सक र संयोजक तोकिएको छ ।

नेपालमा पहिलोपटक शिक्षण अस्पतालमा ६० वर्षका एक सङ्क्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ ।यस विधिअनुसार कोभिड-१९ बाट सङ्क्रमणबाट पूर्णरुपमा निको भएको व्यक्तिको रगतमा भएको प्लाज्मा गम्भीर अवस्थाका सङ्क्रमित व्यक्तिमा रगत हाल्ने गरिन्छ र त्यस प्लाज्मा सङ्क्रमित व्यक्तिमा एन्टिबडी बनाई भाइरसको सङ्क्रमण मार्छ ।

‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’बाट उपचार गर्दा बिरामी र रक्त दाता दुवैको मञ्जुरी आवश्यक हुने गर्दछ । कस्ता अवस्थाका विरामीलाई प्लाज्मा थेरापी दिने र यस्को बारे सरकारले निश्चित मापदण्ड तोकेको छ ।

रक्तदाताको मापदण्ड
– आरटी पीसीआरबाट कोरोना सङ्क्रमित भई मुक्त भएको
– रक्तदान पूर्व १४ दिनसम्म लक्षण देखा नपरेको
– रक्तदान गर्दा रेडक्रसले तोकेको मापदण्ड पूरा गरेको

बिरामीको मापदण्ड

– १८ वर्ष उमेर पूरा भएको
आरटी पीसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएको प्रमाणित
– अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने
– बिरामीको स्वास्थ्य अवस्था गम्भीर भएको हुनुपर्ने
– ज्यान जोखिममा रहेको वा बिरामीको ज्यान जान सक्ने चिकित्सकबाट पुष्टि भएको

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij