काठमाडौ । नेपाल राष्ट्र बैंकले हकप्रद सेयर निस्कासनमा कडाइ गर्ने संकेत गरेको छ । राष्ट्र बैंकले पुँजी वृद्धिको योजना बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले ल्याए पनि सेयर बजार बढेका कारण धमाधम हकप्रद सेयर आउन थालेपछि अपेक्षा अनुसार संख्या भने घटेको छैन ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले हकप्रद सेयरका कारण पछिल्लो समय बैकिङ क्षेत्रमा समस्या देखिएको बताए । “पुँजी वृद्धिको उद्देश्य व्यवसाय विस्तारसँगै बैंकहरूको संख्या घटाउनको लागि पनि थियो,” शिवाकोटीले बुधबार बैकर्स संघले आयोजना गरेको तरलता समस्यासम्बन्धी अन्तक्र्रियामा भने, “बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा संस्थापकले बैंकबाट ऋण लिएर हकप्रद हाल्ने काम बढी गरेको पाइयो ।”
उनले हकप्रदको बारेमा राष्ट्र बैंकले समयमा बुझ्न नसकेको भन्दै यसमा निश्चित सीमा तोक्न आवश्यक भएको टिप्पणी गरे । शिवाकोटीको भनाइले पुँजी वृद्धिपछि बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने लक्ष्य पूरा नभएको धारणा राष्ट्र बैंकको देखिन्छ ।
वित्तीय क्षेत्रमा नेपाललाई सुझाव दिँदै आएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै त्यसलाई घटाउन सुझाव दिंदै आएको छ ।
राष्ट्र बैंकले ०७२ मा बैंक तथा वित्तीय संस्थाको पुँजी चार गुणासम्म वृद्धि गर्दा यसले मर्जरलाई प्राथमिकता दिने बुझाइ बैंकरहरूको थियो ।
पुँजी वृद्धिको निर्णयसँगै सेयर बजारमा आएको उछालले लगानीकर्ताले हकप्रद जारी गरेर भए पनि पुँजी बढाउने नीति लिए । राष्ट्र बैंकले नै कतिपय बैंकको संस्थापक सेयरको अनुपातलाई घटाउदा संस्थापकलाई पनि हकप्रद हाल्नको लागि सजिलो बाटो भएको थियो । कारोबार दैनिकले लेखेको छ ।
उदाहरणका लागि माछापुच्छ्रे र जनता बैंकको सम्झौता भएको मर्जर स्थगित हुनुमा संस्थापक सेयरको अनुपात ७० बाट ५१ मा झार्नुपर्ने एउटा प्रमुख कारण थियो ।
डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकले पछिल्लो समय बैकिङ क्षेत्रको समस्याको बारेमा केन्द्रीय बैंकले भन्न ढिला गरेपछि बुझेका बैंकरले पनि बुझाउन ढिलाइ गरेको बताए ।
उनले पछिल्लो समय कर्जा दिनको लागि समस्या भए पनि बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर नबढाएर केबल मुद्दती निक्षेपको मात्र व्याज बढाएको तथा यसले बजारलाई राम्रो नगर्ने बताए ।
“कस्ट अफ फन्ड ०.६ प्रतिशतले बढ्दा पनि २.३ प्रतिशतले बैंकले कर्जाको व्याजदर बढाएका छन्,” उनले भने, “अर्थतन्त्रको गति राम्रो दिशामा गएको छ । बैंकबाट कर्जा नपाएको अवस्थाले अहिलेको वृद्धिलाई रोक्न सक्छ । यसमा सबैले ध्यान दिनुपर्ने जरुरी छ ।”
“अहिले बजारमा तरलताको अभाव छैन,” उनले भने, “बैंकहरूलाई समस्या परेको कर्जा दिनको लागि चाहिने रकमको हो । सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेको हुँदा कर्जा दिन समस्या छ । तर, यो नीति पुनरावकोलन भने हुँदैन ।”
उनले वाणिज्य बैंकहरूले सीसीडी रेसियो ८० प्रतिशत नाघे पनि त्रैमासिक अवधिको मात्र केन्द्रीय बैंकले हेर्ने हुँदा बैंकहरूलाई सहज भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंकहरूले लागतभन्दा पनि बढी कर्जामा व्याजदर बढाएको बताए ।
“कस्ट अफ फन्ड ०.६ प्रतिशतले बढ्दा पनि २.३ प्रतिशतले बैंकले कर्जाको व्याजदर बढाएका छन्,” उनले भने, “अर्थतन्त्रको गति राम्रो दिशामा गएको छ । बैंकबाट कर्जा नपाएको अवस्थाले अहिलेको वृद्धिलाई रोक्न सक्छ । यसमा सबैले ध्यान दिनुपर्ने जरुरी छ ।”
उनले बैंकले नाफामात्र हेरेको हुँदा बढी समस्या आएको भन्दै लागत अनुसारको ब्याजदर बढाउन बैंकरलाई सुझाव दिए ।
महासंघका उपाध्यक्ष शेखर गोल्छाले अहिले बैंकिङ क्षेत्रमा देखिएको समस्याको गम्भिर असर अर्थतन्त्रमा पर्ने भन्दै यसले उपभोक्ताले महँगीको सामना गर्नुपर्ने टिप्पणी गरे ।
“जोखिम उद्योगीले लिएर चल्नुपर्ने भए पनि नाफाको भागिदार बैंकलाई नै बनाउनुपर्ने अवस्था छ”, उनले भने, “नियामक र बैंकरले गरेको गल्तीको भागिदार सबै बन्नुपर्ने भएको छ ।”
बैकर्स संघका पूर्व अध्यक्ष तथा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंक र उद्योग एउटै सिक्काका दुई पाटो भएको भन्दै नाफा बढी लिएको भन्ने उद्योगीको आरोप गलत भएको प्रष्टीकरण दिए । उनले बैंकिङ क्षेत्रमा देखिने तरलता अभाव अल्पकालिन भएको भन्दै छिट्टै सहज हुने दावी गरे ।
चेम्बर उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरूले गाडी कर्जा दिन रोक्न पर्ने भन्दै कृषिमा कर्जा बढाउन माग गरे । उद्योगी र व्यापारी तथा नियामकसँगको छलफलपछि संघले तत्काल ब्याजदर वृद्धि नगर्ने तथा नयाँ ऋण नदिने निकर्ष निकालेको संघका अध्यक्ष अनिल शाहले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij