
काठमाडौं । आज साउन १५ अर्थात खीर खाने दिन। आजको दिनमा प्राय नेपालीको भान्सामा खीर पाक्ने गर्दछ । हाम्रो नेपाली परम्परामा ऋतुअनुसार आउने पर्व र त्यही पर्वअनुसार खाने खानाहरु पाक्ने गर्दछन् । असार १५ मा हामी दहि च्यिूरा खान्छौ भने साउन १५ गते खीर खाने गर्दछौं ।
हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने गरे पनि साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिन्छ।
साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन्।
चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन छ । बर्खा यामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको हो ।
यस्ता छन् खीर खानुका फाइदा
चामलमा कार्बोहाइडे«ड पाइन्छ भने दूध क्यासियम र प्रोटिनको राम्रो स्रोत हो।
चिल्लो ननिकालिएको दूधबाट बनाएको खीरमा पर्याप्त मात्रामा क्यालोरी पाउन सकिन्छ।
गाईको दूधबाट बनाएको खीरबाट हामीले भिटामिन ‘ए’ पाउन सक्छौं।
खीर बनाउँदा हालिने घ्युले हाम्रो शरीरमा चाहिने फ्याटको मात्रा पूरा गर्छ।
खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, मिनरल (खनिज) जस्ता तत्व पाउन सकिन्छ।
खीर नरम खाना भएकाले चिल्लो निकालिएको वा घ्यु नहालेको खीर बिरामीलाई खुवाउन सकिन्छ। बिरामीले खीर नरम हुने भएकाले सजिलै पचाउन सक्छन्।
खीर बच्चा, वृद्ध सबैलाई युपयुक्त खानेकुरा हो।
तर, दूध र चिनी खान नहुने मान्छेले खीर पनि खानु हुँदैन। ग्यास्ट्रिकका बिरामीले थोरै मात्रामा खान युपयुक्त हुन्छ।
पाचान प्रणाली कमजोर भएका बेला चिल्लोरहित दूध र चामलबाट बनेको खीर खुवाउँदा पचाउन सजिलो हुन्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij