घमण्ड बहादुर श्रेष्ठ, सञ्चालक, यमन पशुपक्षी तथा कृषि फार्म प्रा.लि.
प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
यहाँले संक्षिप्तमा आफ्नो परिचय गराइदिनुहोस् न ?
म एक व्यावसायिक कृषक हुँ । मेरो जन्मघर सिन्धुली हो । वि.सं २०५६ मा एसएलसी दिएपछि काठमाडौंमा प्रवेश गरेर करिब २ बर्ष ज्यामी काम गरेँ । काठमाडौंमा रहँदा सशस्त्र प्रहरीमा २०५९ मा भर्ती भई करिब १६ बर्ष काम गरेँ । जागिरको अवकाश पश्चात् आफैं केही गर्नुपर्छ भन्ने मान्यताले मैले कृषि तथा पशुपालन फार्म सञ्चालन गरिरहेको छु । नेपालमा कृषि क्षेत्रले राम्रो सम्भावना देखेर म यस क्षेत्रमा संलग्न भएको हुँ । अहिलेको लकडाउनले कृषि क्षेत्रमा युवा आकर्षण बढाउनमा अझ ठूलो भूमिका खेल्नेमा म विश्वस्त छु ।
अहिले यहाँले कहाँ र कति क्षेत्रफलमा कृषि सम्बन्धी काम गरिरहनुभएको छ ?
अहिले मैले भक्तपुरको बोडेमा ३२ रोपनी जग्गा भाडामा लिएर त्यस मध्ये २५ रोपनी क्षेत्रफल भित्र कृषि फार्म सञ्चालन गरेको छु । अहिले मैले यस जग्गामा ३२ ओटा टनेल बनाएर तरकारी खेती गरेको छु । पशुपालन व्यवसाय पनि यहीँबाट सञ्चालन गरेको छु । हाल मैले सञ्चालन गरेको यस फार्मबाट साग, गोलभेँडा, भान्टा, सिमी लगायतका तरकारी उत्पादन हुँदै आएका छन् । यसैगरी लोकल कुखुरा (करिब डेढ सय), टर्की (करिब २ सय), बाख्रापालन (करिब २ दर्जन) समेत पाल्दै आएको छु । हाल मेरो नेतृत्वमा सञ्चालित यस फार्म मार्फत ७ जना व्यक्तिलाई रोजगारी सृजना भएको छ ।
तपाईं कृषिमा कसरी आकर्षित हुनुभयो ?
मेरो बुबा ग्रामीण क्षेत्रबाट परम्परागत तवरले नै कृषिमा संलग्न व्यक्ति हुनुहुन्थ्यो । यसले मलाई पनि कृषिमा संलग्न हुनको लागि उत्प्रेरित नै गर्दथ्यो । म सानो छँदा गाउँमा बुबाले प्याजको बेर्ना बेचेर पैसा पाएको देखेको थिएँ । त्यसबाटै ममा पैसाको बारेमा आधारभूत धारणा विकास भएको थियो । साथै कृषि प्रति सकारात्मक दृष्टिकोण विकास गरायो । अहिले म बस्ने भक्तपुर क्षेत्रमा पनि अधिकांश मानिसहरु कृषिमा नै संलग्न भएका पाइन्छन् । यसले समेत मलाई कृषि क्षेत्रमा संलग्न हुन थप हौसला प्रदान ग¥यो । यसको अलावा अहिले नेपालमा अधिकांश युवाहरु कृषिबाट पलायन हुँदै गएको अवस्थामा नेपालमा यस क्षेत्रमा संलग्न रहेर व्यावसायिक एवं सामाजिक दुवै तवरले योगदान दिन सकिन्छ भन्ने पनि मलाई लाग्छ । जसले गर्दा मलाई कृषि क्षेत्रमा संलग्न हुन ठूलो बल मिल्यो ।
तपाईंका भावी योजना के छन् ?
मैले भविष्यमा अहिलेको जस्तै अर्को ठाउँमा पनि जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्ने सोच बनाएको छु । जसले गर्दा कृषि क्षेत्रबाटै रोजगारी सृजनामा ठूलो योगदान दिन सकियोस् । यसको लागि बाख्रा, कुखुरा लगायत वृद्धि गर्ने मेरो योजना छ । टर्कीको सङ्ख्या वृद्धि गरेर २ हजार पु¥याउने मेरो योजना छ । टर्कीको बजार राम्रो छ । टर्की खेर जाँदैन भन्ने मान्यता व्यापक छ ।

अहिले व्यवसायमा कति रकम लगानी भएको छ ?
मैले करिब ५० लाख रकम लगानीमा योे व्यवसाय सञ्चालन गरिरहेको हुँ । शुरुमा व्यवसायमा आउनको लागि म आफैंले करिब १३ लाख रकम जुटाएको थिएँ । जस मध्ये ६ लाख जागिर गर्ने समयमा नै बैंकहरुमा वचत गरेको रकम थियो । अर्को ७ लाख जागिर अवकाश हुने बेलामा प्राप्त भएको हो । यसको अलावा शान्ति सेनामा जाँदा प्राप्त भएको रकमबाट पहिले नै मैले भक्तपुरमा करिब ५ आना जग्गा जोडेको थिएँ । त्यो जग्गा बेच्दा प्राप्त भएको करिब ४० लाख रकम गरेर मैले यो फार्म सञ्चालनको लागि स्रोत जुटाएको हुँ ।
यति ठूलो रकम लगानी गर्नुभएको छ, यसको प्रतिफल लिन कति समय लाग्ला ?
हुनतः सबै व्यवसाय मुनाफाकै मान्यताले सञ्चालन गरिन्छ । यसको पछाडि व्यक्तिको प्रतिष्ठा पनि जोडिने गर्छ । तर कृषि क्षेत्रमा गरेको लगानी श्रमसँग सम्बन्धित लगानी भएको कारण अन्य व्यवसाय जस्तो तत्काल प्रतिफल नआउन सक्छ । यद्यपि अलि बढी धैर्यधारण गर्ने हो भने राम्रो लाभ लिन पनि सकिन्छ । शुरुमा केही समय नोक्सानी पनि हुन सक्छ । यसकारण दृढ अठोट साथ कृषिमा लगानी विस्तार गर्नु उपयुक्त हुन्छ ।
व्यवसाय कहिलेबाट शुरु गर्नुभएको हो ? अहिले सम्म यहाँको अनुभव कस्तो रह्याे त ?
म यस व्यवसायमा विगत २ बर्ष देखि संलग्न छु । अन्य थुप्रै मानिसहरुले कृषिमा गरेको लगानी जोखिमयुक्त भएको भन्दै आएका छन् । यस क्षेत्रमा विमा बारे राम्रो जानकारी नपाउँदा कुनै समय कृषकले ठूलै नोक्सानी समेत व्यहोर्नुपर्ने हुन्छ । यस कार्यमा राज्यको सहयोग समेत आवश्यक छ । कृषिमा गरिने लगानी दिगो हुने गर्छ । यसले तत्कालको लागि फाइदा नहुन पनि सक्छ । शुरुमा आवश्यकता बमोजिम ठूलो रकम लगानी गरेर व्यवसायमा संलग्न हुने हो भने यस क्षेत्रबाट ढिलोचाँडो राम्रो लाभ लिन सकिन्छ ।
मैले ५ बर्षको लागि जग्गा भाडामा लिएर व्यवसाय गरेको छु । बार्षिक जग्गा भाडा बापत करिब ५ लाख रकम तिर्नुपर्ने हुन्छ । भाडाकै कारण हाम्रो खर्च ठूलो छ । सबै कार्यमा गरी मासिक करिब ८० हजार रकम खर्च हुने गर्छ ।
शुरुका दिनहरु कस्ता रहे ?
व्यवसाय शुरु गर्दा के काम कसरी गर्ने भन्ने जानकारी थिएन । अहिले सबै कुराको जानकारी भइसकेको छ । मौसम अनुसार गर्ने काम, बिऊमल, बजार व्यवस्थापन लगायतकाे बारेमा जानकारी भएकाे कारण काम गर्न सजिलाे छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
म कृषि क्षेत्रमा कार्यरत रहँदा सकारात्मक भाव सहित कर्म क्षेत्रमा होमिएको छु । अहिले सम्म मैले सबै क्षेत्रबाट सहयोग पाएको छु । यसले गर्दा मलाई अहिले जुन क्षेत्रमा संलग्न छु, यसबाट म निकै नै खुसी छु ।
मलाइ लाग्छ, कृषिमा पनि सबैले एकै किसिमका व्यवसाय गर्नुपर्छ भन्ने हुँदैन । कृषिमा धेरै क्षेत्रहरु छन् । खाडीमा घरपरिवारबाट टाढिएर पैसा कमाएर जीविकाेपार्जन गर्नु भन्दा नेपालमा नै रहेर पसिना बगाउँदा पनि मासिक २५–३० हजार रकम सजिलै कमाउन सकिन्छ । सबै युवाहरुले याे बुझ्नु जरुरी छ ।
युवा कृषि तथा पशुपालन उद्यमी श्रेष्ठसँग माेबाइल नं ९८४१५४७०६९ मार्फत सम्पर्क गरी आवश्यक परामर्श लिन सकिन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij