जनकपुरधाम – प्रदेश दुई सरकारले किसानहरुले बैंक वित्तिय संस्था वा सहकारीबाट लिएको ऋणको चार महिनाको ब्याज तिरिदिने भएको छ।
आज (शुक्रबार) बसेको मन्त्रीपरिषदको बैठकले कृषि कर्मको लागि किसानहरुले पाँच लाख सम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको हो ।
त्यसैगरि पाँच लाख देखि १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाख देखि ३० लाख सम्मको ऋणमा ४० प्रतिशत र ३० लाख भन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिस बमोजिम सरकारले व्याज तिरिदिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
यसका साथै दूध, फलफूल, तरकारी, कुखुरा तथा माछामा यसका अतिरिक्त समेत राहत उपलब्ध गराउने निर्णय प्रदेश सरकारले गरेको छ ।
त्यस्तै आजको बैठकले कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणमा संलग्न हुने निजामति वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सहयोगी स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी तथा पदाधिकारीलाई कोरोनाको सक्रमण भई मृत्यु भए पीडित परिवारलाई राहत स्वरुप ५० लाख रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij