‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भने जस्तै उपेन्द्र्र महतोले यो सुन्दर सपना अब उनी एक्लो मान्छेको मात्र नभएर सम्पूर्ण मुलुकको होस् र नेपाललाई शान्त र समृद्ध देशका रुपमा परिवर्तन गर्न आफूले पनि केही योगदान दिन सकियोस् भनेर ठूलठूला लगानीहरु भित्र्याउने योजनामा काम गरिरहेका छन् । यसै सिलसिलामा उनले गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्दै नेपालको आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट योगदान गर्न प्रेरित गरिरहेका छन् । फी तिर्न नसकेर स्कुलबाट नाम काटिएका उपेन्द्र आज नेपालका सबैभन्दा धनाढ्य व्यक्ति मध्ये एक भएर पनि यदि नेपाल गरीब नै भइरह्यो भने आफू जति नै धनी भएपनि एउटा नेपालीको हैसियतले आफ्नो इज्जत र सम्मान नबढ्ने धारणा राख्छन् । त्यसैले उनी आफू मात्र होइन, नेपाल पनि धनी भएको हेर्न चाहन्छन् ।
डा. उपेन्द्र महतोको जन्म पिता रामआशिष महतो र माता फूलकुमारी महतोको जेठो सन्तानका रुपमा सिरहा जिल्लाको कर्जन्हा गाविसमा सन् १९६३ अप्रिल २४ मा भएको हो उनको परिवारमा हजुरआमा, दुई भाई र तीन बहिनी छन् । तराईको सामान्य गाउँले परिवारमा हुर्किएका उनी हाल ज्वाइन्ट स्टक कम्पनी (रुबिन, मस्को र फिलिओन), भिक्ट्री पार्क एण्ड अफिस कम्प्लेक्स (मस्को), रुबिन टिभी इन्डष्ट्रिज (भोरोजेभ, रुस), आम्कोदोर हेभी इक्विपमेन्ट्स (मिन्स्क, बेलारुस), स्पाइस नेपाल, मेडिकेयर अस्पताल, कान्तिपुर टिभी, सानिमा हाइड्रो लगायत चीन, इटाली, अमेरिका, साइप्रस आदि देशका विभिन्न इन्भेष्टमेन्ट प्रोजेक्टमा आवद्ध छन् । उपेन्द्रले सन् १९७७ सम्म जनसेवा माध्यमिक विद्यालय, कर्जन्हा, सिरहामा पढेका हुन् । उनले सन् १९७९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरे । त्यसपछि बेरारुस स्टेट पोलिटेक्निक एकेडेमी, मिन्स्क, बेलारुसबाट सन् १९८८ मा स्नातकोत्तर र त्यहीँको इन्टरनेशनल एकेडेमी अफ इन्फर्मेसन टेक्नोलोजीबाट सन् १९९१ मा पीएचडी र सन् १९९६ मा डीएससी गरे । उपेन्द्र सानो छँदा उनको पारिवारिक आर्थिक स्थिति कमजोर भएको अहिले पनि सम्झन्छन् । मिहिनेती उपेन्द्रको पढाई राम्रो थियो । उनी कक्षामा सधै धेरै पढेर उच्च पदमा पुग्ने इच्छा राख्ने उनको मन पर्ने विषय गणित थियो ।
कलेजमा पढ्दाताका अध्ययन खर्च कहिले परिवारबाट त कहिले स्वरोजगारबाट जुट्थ्यो । भाडाको घरमा बसेर उच्च शिक्षा हासिल गरिरहेका उपेन्द्रले आफ्नो क्यारियर बनाउने क्रममा धेरै सङ्घर्ष गर्नुपरेको थियो । घुम्न असाध्यै मन पराउने उपेन्द्रले अध्ययनका क्रममा पनि लहान, धरान, जनकपुर, धनकुटा घुम्ने रहर पूरा गर्न नभ्याएकोमा उनलाई पछुतो छ । तर कुनै दिन आफू त्यहाँ पुग्ने विचार उनले अहिले पनि त्यागेका छैनन् । व्यापारको सिलसिलामा पटक–पटक विदेश भ्रमण गरिरहनुपर्ने उनी अहिले सम्म दक्षिण अमेरिका बाहेक सबै महादेशका प्रमुख देशहरुमा पुगिसकेका छन् ।
उपेन्द्र महतो अहिले सायद नेपालका सबैभन्दा धनी व्यक्ति मध्ये एक पर्छन् । विश्वका थुप्रै ठाऊँमा उनको उद्योग–व्यापार फैलिएको छ, तैपनि उनलाई सबैभन्दा मन पर्ने साथीहरु आफ्नै पुरानो गाउँघरका डा. अनिलकुमार दास, व्यापारी बिष्णुदेव चौधरी, ओभरसियर जीवन यादव, ओभरसियर बिन्देश्वर साह र अमेरिका बस्ने इन्जिनियर राजेश्वर चौधरी हुन् । अहिलेका सफल उद्यमी उपेन्द्र एसएलसीमा प्रथम श्रेणीमा पास हुँदा धेरै खुसी भएका थिए । पहिलो पटक पुल्चोक क्याम्पसबाट छात्रवृत्ति पाएर उच्च शिक्षाका लागि सोभियत संघ जाने अवसर प्राप्त गरेको दिनलाई उनी आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण दिन ठान्छन् । एकचोटी छात्रवृत्ति पाएको रकमले घडी किन्ने सोचिरहेका उनलाई सोही रात चोरी हुँदा असाध्यै दुःख लागेको थियो ।
सन् १९८० मा सुनसरी–मोरङ सिँचाई आयोजना, विराटनगरमा पहिलोचोटि ओभरसियर भई काम गर्न उत्साहित भएका उनका त्यहाँ व्याप्त भ्रष्टाचारका कारण जागिरप्रति नै वितृष्णा जाग्यो र जागिर छोडेर उच्च शिक्षा हासिल गर्न सोभियत संघ गए । पढाइ सिध्याइपछि उनले रुसमा बसेर व्यवसाय गरिरहेका अग्रज मित्र भरत पौडेलको प्रेरणाबाट त्यहीँ काम सुरु गरे । पहिलो उद्योग शुरु गर्दा उनले जम्मा १००० अमेरिकी डलर लगानी गरेका थिए, जसमध्ये ५०० डलर उनीसँगै थियो भने बाँकी ५०० डलर सापट लिएका थिए । तर पछि नपुग रकम उनले बैंकबाट ऋण लिए । परदेशमा एक्लै सङ्घर्षशील जीवन बिताइरहेका उपेन्द्र अगाडि बढ्दै गए र सफलता पनि हासिल हुँदै गयो । तर यसको निमित्त उनले धेरै मिहिनेत गर्नुपरेको थियो । सुरु–सुरुमा उनी दिनको बीस घण्टा काम गर्थे र अहिले पनि आफ्ना योजनाहरुलाई मूर्त रुप दिन चौबीसै घण्टा सोचिरहन्छन् ।
कुनै उद्योग वा व्यापार सञ्चालन गर्दा सबैभन्दा पहिले उनी योजना बनाउँछन् । अनि निकै सोचेर मात्र कार्यान्वयन गर्छन् । उनी कहिल्यै एक्लै काम गर्दैनन् । आफ्नो टिमसँग छलफल गरेपछि योजनाअनुरुप काम गर्छन् । थुप्रै योजना कम्प्युटरमा राख्ने उनी महत्वपूर्ण कुराहरु भने नोटबुकमा टिप्ने गर्छन् । काम गर्दा सधैं रमाउने उनी मन नपर्ने काम गर्दै गर्दैनन् । उनी भन्छन् ‘जब काम गर्दागर्दै बोझ हुन थाल्छ र काम गर्ने जोश र जाँगर मर्छ त्यस बेला मान्छेले सक्रिय कामबाट अवकाश लिनुपर्छ ।
उपेन्द्रका निमित्त समय अत्यन्तै महँगो वस्तु हो । त्यसैले उनी समयको व्यवस्थापना असाध्यै होस पु¥याएर गर्छन् । समय खेर फाल्नु उनका लागि सम्भव छैन । आवश्यकता र प्राथमिकता अनुसार उनी समयको व्यवस्थापन गर्छन् । काम गर्दा आइपर्ने समस्या र विघ्नबाधालाई नसुल्झाइकन उनी बस्नै सक्दैनन् । भोलिपर्सि भन्ने शब्दले उनलाई एकदमै असहज बनाउँछ । त्यसैले विघ्नबाधा सुल्झाउन उनी तम्सिहाल्छन् ।
उपेन्द्र महतोको उद्योग व्यापार अहिले धेरै झाँगिएको छ । संसारका विभिन्न मुलुकमा बस्ने मानिसहरुसँग उनले सहकार्य गर्नुपर्छ । त्यसैले अरुलाई विश्वास गर्दागर्दै कहिलेकाहीँ उनीहरुको मूल्यांकन गर्ने क्षमता पनि राख्नुपर्छ भन्ने उनको विचार छ । धेरै काम गर्दा तलमाथि त परिहाल्छ, तर आफू कसैलाई धोका नदिने हुँदा उनलाई पनि केही व्यक्तिले बाहेक कसैले धोका दिएको छैन । उनी रुसी भाषाको एउटा उखानबाट निकै प्रभावित छन् ‘दभि¥याई नो प्रभि¥याई’ अर्थात विश्वास गर तर साथसाथै परीक्षण पनि गर । कतिपय कामहरु आफू एक्लैले गर्न खोज्दा उनको धेरै समय खेर गएको छ, तर त्यसले उनलाई निकै व्यावहारिक शिक्षा पनि दिएको छ । आजको युग सहकार्यको युग हो । तीव्र गतिमा बदलिइरहेको वर्तमान समाजमा एक्लैले सबै काम गर्न असम्भव छ । त्यसैले उनी भन्छन् ‘व्यवसायमा सफल हुन भरपर्दा सहयोगी र सहकर्मीहरुको ठूलो आवश्यकता पर्छ ।’ ठूलठूला काम गर्दा माइण्डलाई अत्यन्त कुल बनाइराख्नुर्छ । उपलब्धि सधैँ उत्साहजनक हुन्छ भन्ने छैन । कहिलेकाहीँ आफ्नो र साथीहरुको कारणबाट पनि आशा गरेअनुरुप प्रतिफल प्राप्त नहुन सक्छ । त्यस बेला आफैंप्रति पनि अलि–अलि रिस उठ्छ । यो मानवीय स्वभाव हो । तर उनी धेरै कम रिसाउँछन् । कहिलेकाहीँ रिस उठिहाल्यो भने पनि मन पर्ने मान्छे र पारिवारिक सदस्यहरुको नजिक बसेर रिसलाई उनी बिर्सन खोज्छन् र चाँडै बिर्सन्छन् पनि । उनलाई साथीभाई र परिवारसित बसेर ‘जोक’सुन्ने र सुनाउने गर्दा खुब रमाइलो लाग्दो रहेछ । तर समयाभावले चाहेजति मनोरञ्जन गर्न उनी भ्याउँदैनन् । त्यति धनाढ्य भएर पनि मोजमजाको नाममा उनी फजुल खर्च गर्दैनन् । खर्च गर्दा उनी धेरै मितव्ययिता अपनाउने प्रयास गर्छन् । 
सुरु–सुरुमा उद्योग–व्यापार गर्दा उपेन्द्र महतोको सोख पैसा कमाउने नै थियो । जब उद्योग सफल हुँदै गयो र अलिअलि पैसा कमाउन थाले त्यसपछि उद्योगका साथसाथै समाजसेवा, इज्जत, प्रतिष्ठा र जीवनपद्धतिको मूल्य र मान्यतालाई विस्तारै हृदयङ्गम गर्न थाले । आमाको स्वर्गारोहण पश्चात् उनकै स्मृतिमा स्थापित फूलकुमारी महतो स्मृति कोषमार्फत उपेन्द्र धेरै च्यारिटेवल काम गरिरहेका छन् । ती मध्ये जन्मस्थान कर्जन्हामा बन्दै गरेको परोपकार अस्पताल, पशुपति क्षेत्रमा निर्मित किरियापुत्री भवन, बन्दीपुर–सिरहामा निर्मित फूलकुमारी महतो हाइस्कुल तथा थुप्रै विद्यार्थीलाई नेपाल, रुस र बेलारुसमा दिँदै आएको छात्रवृत्ति स्मरणयोग्य छन् । हाल उनी गैरआवासीय नेपाली संघको अध्यक्ष, रुस–नेपाल वाणिज्य संघको अध्यक्ष बेलारुसमा अध्ययन गरेका विश्वभरिका विद्यार्थीहरुको अलुम्नाई एसोसिएसनको अध्यक्ष, धेरै संस्थाको मानार्थ सदस्य, आजीवन सदस्य र सल्लाहकार भएर काम गरिरहेका छन् ।
हुन त उपेन्द्र जस्ता बहुराष्ट्रिय कम्पनी सञ्चालन गर्ने व्यवसायीलाई विश्व आर्थिक मन्दीले धेरै प्रभाव पार्न सक्थ्यो, तर सौभाग्यवश हालसम्मको अवस्थालाई उनी सन्तोषजनक ठान्छन् । उनको उद्योग–व्यापारको दिगो र निरन्तर सफलताको कारण उनी आफूबाहेक थुप्रै साथीहरुको संलग्नता र सहयोगलाई ठान्छन् ।
आठ हजार भन्दा बढी मानिसलाई रोजगारी दिने उपेन्द्र महतो जस्ता कुनै पनि व्यक्तिलाई आइपर्ने चुनौती साधारण हुनै सक्दैन । उनका लागि समयाभावले सोचेका धेरै काम गर्न सकिएको छैन, सामाजिक क्षेत्रमा चाहेजति योगदान पु¥याउन सकिएको छैन । उनका थुप्र्र्रै सपनाहरु पूरा हुन नसकेर थाती रहेका छन् । उनी आफ्ना
- चुनौतीहरु बुँदागत रुपमा यसरी राख्छन् ।
क) विश्वव्यापीकरणले सिर्जिएको तीव्र प्रतिष्पर्धा
ख) अपरिचित मुलुकमा लगानी गर्दा त्यहाँको रीतिरिवाज, संस्कृति, भाषा, कानुन र अनेक कुराहरुको अज्ञानता
ग) दक्ष जनशक्तिको अभाव
घ) अन्तर्राष्ट्रिय आर्थिक मन्दी
ङ) आफ्नो कमजोरीले भन्दा पनि अरुका कारण व्यवसायमा हुने हानी
च) उद्योग व्यवसायको राजनीतिकीकरण
छ) प्रशंसाको सट्टा अफवाह फैलाउने प्रवृत्तियी समस्याहरुलाई समाधान गर्ने उपाय उनी यसरी सुझाउँछन् ।
क) समयको व्यवस्थापन ठूलो समस्या भएपनि अनुभवसँगै त्यो कलामा विकास हुन्छ । सही व्यवस्थापनको लागि एक्सपर्टहरुको सहयोग पनि लिन सकिन्छ ।ख) कुनै व्यवसाय सञ्चालन गर्नुअगावै अन्तर्राष्ट्रिय बजारको प्रतिष्पर्धामा भाग लिनुपर्छ भन्ने सोच बनाउनु आवश्यक छ । यसलाई सधैं पहिलो प्राथमिकता दिनुपर्छ ।
ग) नयाँ ठाउँ वा मुलुकमा लगानी गर्नुअघि नै त्यहाँको रीतिरिवाज, संस्कृति, भाषा र कानुनको राम्रो ज्ञान हासिल गर्नुपर्छ र योग्य स्थानीय पार्टनर खोजेर मात्र काम थाल्नुपर्छ ।
घ) व्यवसायको सफलतामा दक्ष जनशक्तिको ९० प्रतिशत भूमिका हुने भएकोले छनोटमा निकै चनाखो हुनुपर्छ । सहकर्मीहरुका लागि बराबर टे«निङ, दक्षता अभिवृद्धि, ग्लोबल एक्सपोजर आदि हासिल गर्ने व्यवस्था मिलाउनुपर्छ । यसका साथै उनीहरुको आर्थिक कल्याणका बारेमा सोच्नु नितान्त आवश्यक छ ।
ङ) सङ्कटकाल भनेको चुनौती र अवसरको सङ्गम हो । यस्तो कठिन अवस्थामा कसैको सल्लाहभन्दा पनि आफ्नो व्यक्तिगत भिजनमा धेरै कुरा भर पर्ने हुन्छ । तर सबैको निकै विचार पुर्याउनुपर्ने कुरा के हो भने कुनै नयाँ काम गर्नुअघि भएकोलाई बचाउन पहिलो प्राथमिकता दिनुपर्छ । प्राथमिकतामा नपरेको व्यवसायलाई बेचेर भएपनि प्राथमिक क्षेत्रलाई सुरक्षित पार्नुपर्छ । यस्तो बेला सन्त्रास र Panic बाट पनि बच्नुपर्छ ।
च) राजनीति हाम्रो जीवनको अभिन्न अङ्ग भएपनि व्यवसाय गर्दा दलीय राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ ।
छ) स्वस्थ आलोचनालाई स्वीकार गर्दै आफूले वास्तवमै गल्ती गरेको भए सच्याउन धक मान्नु हुँदैन । तर गतल अफवाहलाई ‘समाजमा सबै किसिमका मान्छे हुन्छन्’ भन्ने ठानेर बेवास्ता गर्दै जानु नै बुद्धिमानी हुन्छ ।
उपेन्द्रका लागि सबैभन्दा महँगो समय भएको हुँदा उनी दैनिक कार्यका लागि २ घण्टा, उद्योग व्यवसायको लागि १० घण्टा, सामाजिक कार्यका लागि २ घण्टा, सुत्नको लागि ७ घण्टा, परिवार र साथीहरुलाई ३ घण्टा समय छुट्याएर आफ्नो अमूल्य समयको व्यवस्थापन गर्छन् ।
नेपालका सबै ठूला–साना दलका नेताहरुसँग उनको सौहार्द सम्बन्ध छ । उद्योग–व्यवसाय गर्ने मान्छेले हरेक राजनीतिक दलका नेतासँग समदूरी राख्नुपर्छ भन्ने उनको मान्यता छ ।

उनी नेपालमा उद्योगका असङ्ख्य सम्भावना देख्छन् । उनको विचारमा दुइओटा आर्थिक रुपले सम्पन्नतातिर उन्मुख विशाल जनसङ्ख्या भएका छिमेकी राष्ट्रहरुका बीचमा हुनु नै नेपालको सबैभन्दा ठूलो भाग्य हो । त्यही भौैगोलिक अवस्थिति नै हाम्रो तुलनात्मक फाइदा हो । त्यो सम्भावना र अवसरलाई राम्ररी प्रयोग गर्नसके हाम्रो समृद्धि निश्चित छ । त्यसैले चीन र भारतका मध्यमवर्गलाई Cater गर्ने खालको सेवामुलक उद्योगमा केन्द्रित भएर लगानी गर्दा धेरै फाइदा छ । पर्यटन, उद्योग, स्वास्थ्य, शिक्षा, आइटी, सञ्चार आदि यो देशका सुनखानी हुन् । सबै उद्योगधन्दा विकासका लागि ऊर्जा चाहिने हुँदा जलस्रोतको विकासको लागि जहिले पनि फाइदाजनक हुन्छ । आधारभूत संरसचनाहरु जस्तै हाइवे–टुलरोड, कृषिमा आधारित व्यवसाय, जडिबुटी, ह्याण्डिक्राफ्ट जस्ता परम्परागत क्षेत्रमा लगानी गर्दा डुब्दैन भन्ने उनको विचार छ ।
उपेन्द्र धर्मप्रति निकै आस्था राख्छन्, तर उनी पूजापाठ गर्न भने भ्याउँदैनन् । अरुलाई सहयोग गर्नुलाई नै उनी भगवान्को पूजा ठान्छन् । इश्वरको वास मान्छेको हृदयमा छ र जसले आफ्नो कामलाई आराधनाको रुपमा ग्रहण गर्छ त्यसैलाई भगवान्ले माया गर्छन् भन्ने कुरामा उनको दृढ विश्वास छ ।
(याे सामाग्री कर्ण शाक्यबाट लिखित ‘म सक्छु’ पुस्तकबाट लिइएको हो ।)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij