२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

नेपाल राष्ट्र बैंककाे नेतृत्वमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंककाे नेतृत्वमा महाप्रसाद अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको कार्यकाल सकिएको १९ दिनपछि सरकारले महाप्रसाद अधिकारीलाई नयाँ गभर्नरमा नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

झण्डै तीन दशकभन्दा बढी समय मुलुकको केन्द्रीय बैंकको विभिन्न भूमिकामा रहेर काम गर्नुभएका अधिकारी आगामी पाँच वर्षसम्म सोही बैंकलाई नेतृत्व प्रदान गर्नेछन् ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठन भएको समितिले अधिकारीसहित तीनजनाको नाम सिफारिस गरेको थियो । समितिले अधिकारीसहित नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र केही समयपहिले मात्रै अर्थ सचिवबाट अवकाश हुनुभएका राजन खनालको नाम सिफारिस गरेको थियो । सिफारिस समिति यही चैत १८ गते गठन भएको थियो । तीनजनामध्ये सरकारले अधिकारीलाई नियुक्त गरेको हो ।

तत्कालीन गभर्नर नेपाल नियुक्ति हुँदासमेत अधिकारी गभर्नरका लागि तीनजनामा परेका थिए । नेपालले यही चैत ५ गते गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका थिए । सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुईजना छान्नुपर्ने कानूनी व्यवस्था रहेको छ । यस्तै एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो ।

को हुन् अधिकारी

खोटाङमा जन्मिएका अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उनी पहिलो व्यक्तित्व हुन् । हालका अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा उनको कार्यकाललाई सफल बनाउन सहयोग पु¥याउने मध्येका एक अधिकारी थिए ।

राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गरेका अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरे । बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छभने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिनुभएको छ । केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

कोरोनाको कहरका कारण विश्वव्यापीरुपमा नै अर्थतन्त्रमा सङ्कट देखापरेको छ । त्यसको असरबाट नेपालसमेत अछुतो रहनसकेको छैन । यस्तो विषम अवस्थालाई अर्थतन्त्रलाई सुधार गर्दै लयमा ल्याउनु नै अधिकारीका लागि तत्कालको महत्वपूर्ण कार्यभार रहेको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्था र त्यसले नेपालको आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने धरातलीय यथार्थ रहेको छ । बैंकिङ क्षेत्रलाई कोरोनाले पार्ने प्रभाव कम गर्दै सही दिशामा लैजानसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ । तत्कालीन गभर्नर डा नेपालले नेपालको वित्तीय क्षेत्रमा गरेका केही सुधारमा समेत अधिकारीको भूमिका थियो ।

गभर्नर नेपालले अधिकारीको भूमिकाबारे खुलेर प्रशंसा गरेका थिए । केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा अधिकारीले अघिल्ला गभर्नरले अगाडि बढाएको ‘बिग मर्जर’, बैंकिङ सुशासन र वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत काम गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij