२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

प्रहरी र सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलनमा के के हुँदैछ ?

प्रहरी र सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलनमा के के हुँदैछ ?

काठमाडौँ । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँमा सुरु भएको छ । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले संयुक्तरुपमा आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनका निश्कर्षले अनुसनधान र अभियोजनका कामलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

विधिको शासन कायम गर्न, कानुन उल्लङ्घनकर्तालाई दण्डित गर्न र दुई निकायबीच समन्यव गर्न सम्मेलन उपयोगी हुने उहाँको भनाइ छ । अर्को प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले जेठको दोस्रो हप्ताभित्र स्थानीय निर्वाचन गर्ने सरकारको तयारी रहेको जानकारी दिँदै केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउनुभयो ।

मधेस, हिमाल, पहाड सबै पक्षको सहमति लिएर राष्ट्रिय एकता बलियो बनाउँदै निर्वाचनमा जान आफू प्रयत्नशील रहेको र त्यसमा सरकारले सफलता पाउने उहाँको भनाइ थियो । आफू अहिले कठिन परिस्थितिमा प्रधानमन्त्रीको कुर्सीमा रहेको भन्दै उहाँले खुकरीको धारमा उभिएजस्तो दायाँ र बायाँ जता जाँदापनि समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा धेरै अप्ठ्यारो र जोखिम मोलेर आएकाले अहिलेको जोखिम विगतको तुलनामा त्यति ठूलो हो जस्तो लाग्दैन ।”

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय शङ्कर नायकले प्रहरी र सरकारी वकिलबीच सम्बन्ध मजबुत बनाउन तथा उचित निश्कर्ष निकाल्न सम्मेलन फलदायी हुने बताउनुभयो । उहाँले अपराधसंहिता, फौज्दारी अपराधसंहितालगायतका विधेयक संसदमा प्रस्तुत भइसकेको र छलफलको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले अपराधका घटनामा अधुरो अनुसन्धानले अधुरो न्याय पाउने भन्दै पूर्ण अनुसनधान हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अनुसन्धानकर्ता र अभियोजनकर्ताबीच समन्वय र सहकार्यको आवश्यकता रहेकामा जोड दिँदै सोहीअनुरुप काठमाडौँ, धनगढी र विराटनगरमा प्रहरी र सरकारी वकिलबीच समन्वय बैठक भइसकेको र त्यसकै निरन्तरता यो सम्मेलन भएको बताउनुभयो ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनपश्चात् सरकारी वकिल र प्रहरीबीचको असमझदारी र दूरी अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले देवानी प्रकतिका मुद्दा प्रहरीले हेर्न नहुने बताउनुभयो ।

प्रहरी र सरकारी वकिलबीच समन्वय विकास गर्न, अपराध अनुसन्धान तथा अभियोजनमा साझा धारणा विकास गरी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको आयोजकले बताएका छन् ।

प्रहरी र सरकारी वकिलहरूलाई एकै थलोमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण अनुसन्धानकर्ता र अभियोजनकर्ता एकै ठाउँमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्नका लागि सम्मेलन प्रभावकारी हुने विश्वास लिइएको छ ।

सरकारवादी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारको क्षेत्रहरू पहिचान गर्ने, समस्याको पहिचान गरी समाधानको उपायहरू पहिल्याउने, दुई निकायबीच समन्वयको विकास गर्ने, साझा धारणा विकास गर्ने र अपराध अनुसन्धान र अभियोजनसम्बन्धी नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्ने सम्मेलनको उद्देश्य छ ।

तीन दिनसम्म चल्ने सो सम्मेलनको बन्दसत्रमा सहभागीलाई पाँच समूहमा विभाजन गरी विभिन्न नौ विषयमा छलफल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij