सर्लाही ।
ईश्वरपुर नगरपालिका १५, सुकनाशकी सरिता धामीले सदरमुकाम मलंगवाका श्यामकृष्ण साह ‘परदेशी’सँग २ लाख ५० हजार रुपैयाँ ऋण लिइन् । चार वर्षअघि लिएको ऋणबाट कुखुराको मासु पसल खोलिन् । त्यसकै आम्दानीमा दुई छोरा र दुई छोरीको पालनपोषण गर्नुका साथै साहु श्यामकृष्णलाई पैसा बुझाइरहिन् । जति गर्दा पनि ऋण नसकिएपछि धामी दम्पतिले लालबन्दीमा रहेको १० धुर जग्गा चार लाखमा बेचे । ‘हामीले अहिलेसम्म ४ लाख बुझाइसकेका छौं । अझ ५० हजार तिर्न बाँकी छ भन्छन्,’ उनी भन्छिन्, ‘सर्वस्व गुमाएर परदेशीलाई रकम तिर्दा पनि मुद्दा हालेर मेरो श्रीमान कारीलाई जेलमा पठाएका छन् ।’
परदेशीले मुद्दा हालेपछि बुझ्दै जाँदा थाहा भयो, साढे २ लाख ऋण दिएका साहु परदेशीले १२ लाख ५० हजार, १० लाख र ४० लाखको तीन वटा तमसुक बनाएका रहेछन् । तर धामी दम्पत्तिको केही लागेन । अदालतबाट पक्राउ पूर्जी आएपछि १० साउनमा कारी धामी पक्राउ परे । यससँगै उनको परिवार थप समस्यामा परेको छ । ‘एकातिर श्रीमान् जेल गएको वेदना छ, अर्काेतर्फ छोराछोरी र आफ्नो पेट पाल्नुपर्ने बाध्यता छ,’ सरिता भन्छिन् ।
धामी दम्पत्तिका जेठा छोरा बोल्न सक्दैनन् । अर्का एक छोरा र दुई छोरी हुर्किसकेका छैनन् । श्रीमान श्रीमती मिलेर पसल चलाएका थिए । कारी जेल परेपछि आफू एक्लैले पसल चलाउन नसक्ने अवस्था आएको भन्दै सरिताले आफ्नो बाध्यता सुनाइन्, ‘म ठूलो मजधारमा फँसे । न मरेकी छु, न बाँचेकी छु ।’
मिटरब्याजी साहु परदेशीका कारण समस्या परेको धामी परिवार त एउटा दृष्टान्त मात्र हो । उनै परदेशीबाट ऋण लिएका अन्य चार जनाले त आत्महत्या नै गरिसकेका छन् । लिएको भन्दा दोब्बर पैसा बुझाउँदा पनि ऋण नसकिएको भन्दै परदेशीले दबाव दिएपछि लालबन्दी ३ की दुर्गा देवी चौधरी र उनको ससुरा श्रीकान्तले आत्महत्या गरेका हुन् । स्थानीय महिलाका अगुवा रुक्मिणी चौधरीका अनुसार दुर्गादेवीले परदेशीसँग लिएको ऋण जति तिर्दापनि सकिएन, जग्गा समेत बेचेर पैसा बुझाएकी थिइन् । ससूरा बुहारीसँग छुट्टाछुट्टै तमसुक बनाएका साहु परदेशीले मुद्दा हालेपछि दुर्गादेवीले आत्महत्या गरिन् । त्यसको दुई महिना नबित्दै उनका ससूरा श्रीकान्त चौधरीले पनि आत्महत्या गरे ।
इश्वरपुर नगरपालिका–१५ का राजबीर चौधरीले पनि ऋणकै भार थेग्न नसकी आत्महत्या गरे । उनको आत्महत्या गर्नुको कारण पनि थियो, दुई पटक मुद्दा झेल्न बाध्य हुनु । परदेशीले पहिलो पटक उनीविरुद्ध मुद्दा दर्ता गराउँदा राजवीर एक वर्ष जेल बसेर घर आए । यसको दुई महिना नबित्दै अदालतबाट मुद्दा दर्ताको अर्काे सूचना पाएपछि उनले आत्महत्या गरेको रुक्मिणीको भनाइ छ । रुक्मिणीका अनुसार एक वर्षअघि सन्तलालले पनि आत्महत्या गरेका थिए । यसकाे अलावा परदेशीबाट ऋण लिएका थुप्रै व्यक्तिहरूले अाफ्नेा सर्वस्व गुमाएर घर न घाटका भएका छन् ।
यस घटनाले देखाउँछ कि हाम्राे समाजका पीडितले न्याय पाउने र किर्ते तथा छलि गर्नेलाइ कानुनी कठघरामा उभ्याइ कारवाहीकाे दायरामा ल्याउने प्रचलन शुरूवात समेत अझै भएकाे रहेनछ । पहुँचवाला व्यक्तिहरूकाे अवस्था रातारात माथि उठेपनि दुखी र पीडितहरूकाे लागि भने राज्य पक्ष समेत पूर्णत माैन छ । सबै घटनाकाे सत्यतथ्य अनुसन्धान गरी त्यसकाे अाधारमा उपयुक्त निर्णय लिने परिस्थिति नबन्ने र राज्य पक्ष समेत सबै किसिमका जनताका समस्याहरूलाइ ख्याल गरी सुरक्षित र न्यायिक राज्यकाे महसुस गराउन सक्ने वातावरण नबने सम्म नेपाली कमजाेर अवस्थाका जनताकाे अार्थिक तथा सामाजिक स्थिति माथि उठ्न सक्ने कुनै पनि अाधार रहँदैनन् ।
यस्ताे परिस्थितिमा राज्य पक्ष अाफ्नाे मुलुकका जनताहरू प्रति जिम्मेवार बन्दै सबैलाइ समान अधिकार प्रत्याभुति गराउने अवस्था सृजना हुनु जरूरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij