
अस्पताल, बिरामी र डाक्टर एकअर्काका परिपूरक हुन् तर अहिले देशभरमा अनौठो दृश्य देख्न पाइन्छ, डाक्टरहरू अस्पताल जान्छन् तर बिरामीलाई वास्ता गर्दैनन् र छुनै चाहँदैनन् ।’ देशभरका बिरामी, उनका आफन्त र सर्वसाधारणले डाक्टरको यस्तो बानीका कारण आजित हुँदै भन्न थालेका छन् ‘कति निष्ठुरी डाक्टर ।’डाक्टरहरू पाँच दिनदेखि बिरामीलाई उपचारै नगरी आन्दोलित हुँदा देशभरमा दैनिक हजारौं बिरामी दिनप्रतिदिन प्रताडित हुँदै आइरहेका छन् । बिरामीका देवताको संज्ञा पाएका डाक्टरहरू यतिखेर भने क्रूर देखिएका छन् ।
समायोजन प्रक्रियामा असन्तुष्ट जनाएका देशभरका सरकारी डाक्टरहरूको आन्दोलन जारी रहँदा बिरामीहरू दिनहुँ जटिल रोग पालेर बस्न बाध्य छन् । सरकारी अस्पतालमा १२४ घण्टादेखि ओपीडी सेवा ठप्प हुँदा बिरामी उपचार सेवा नपाई घर फर्किन बाध्य छन् । केही बिरामी निजी अस्पतालमा जान बाध्य भएका छन् । बुधबार उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज पुगेका ४२ वर्षीय रमेश महर्जनले भने, ‘के गर्नु टिकट नै काट्न पाइएन । वास्तै गरेनन्, आज हुँदैन भने, अत्याचारै गरे ।’
सरकारी चिकित्सक संघका अनुसार देशभर १ हजार ४ सय डाक्टर छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार डाक्टरहरूको आन्दोलनका कारण देशभर पाँच दिनको अवधिमा २ लाखभन्दा बढीले उपचार सेवा पाउन सकेका छैनन् ।
देशभर केन्द्रीय, प्रदेशस्तरका, जिल्ला स्तरका र स्थानीय तहका गरी १६० अस्पताल छन् । यसका साथै २०२ वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । ती अस्पतालमा कार्यरत डाक्टर अहिले ओपीडीमा नभई सडक आन्दोलनमा छन् । जसको प्रत्यक्ष मार अस्पताल पुगेका बिरामीहरूले खेपिरहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij