
विगतमा अनाधिकृतरुपमा विद्युतभार कटौती गर्नेहरु पुनःसल्बलाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफुमाथि गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखेको बताए ।
उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने स्पष्ट पारे । प्राधिकरणका हरेक काम कारवाही स्पष्ट र पारदर्शी रहेको उल्लेख गर्दै उनले पछिल्लो दुई वर्षदेखि संस्था नाफामा गएको, मुलुकभर विद्युत् सेवा पुगेका स्थानमा विद्युतभार कटौतीको अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।
प्राधिकरणको नेतृत्वको हिसाबले आफूले नियमानुसार पाउने भत्ता तथा अन्य सुविधा मात्रै लिएको भन्दै कार्यकारी निर्देशक घिसिङले तथ्य नै नबुझी गलत प्रचार गर्नेप्रति रोष प्रकट गरे । प्राधिकरणलाई सबल, सक्षम बनाउने लक्ष्यका साथ आफू प्रयासरत रहेकाले उनले नियमितरुपमा सबल र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धताबाट विचलित नहुने उल्लेख गरे ।
प्राधिकरणमा कार्यरत कर्मचारीको साझा टे«ड युनियनको निर्वाचन गराउन प्राधिकरणको व्यवस्थापन प्रयासरत रहेको भन्दै सञ्चालक समितिको बैठकमा आमन्त्रित रहेका व्यक्तिले प्राधिकरणको मर्यादामा आँच पुग्ने गरी प्रचार गर्दै हिँडेकामा समेत उनले आपत्ति जनाए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij