
काठमाडौंका सडकबाट एक सातामै ९२ टन धुलो संकलन भएको छ । गत बुधबारबाट काठमाडौं महानगरपालिकाका पाँच ब्रुमरले सडक सफा गरिरहेका छन् । महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार राति ८ बजेदेखि बिहान ४ बजेसम्म ब्रुमरले सडक बढारिरहेका छन् । हालसम्म बानेश्वर, बालकुमारी, थापाथली, रत्नपार्क आसपास, पुतलीसडक, कलंकी र सोह्रखुट्टे क्षेत्रका सडक ब्रुमरले सफा गरेका छन् । संकलित धुलो टेकु ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरिँदै आएको महानगरले जनाएको छ ।
ब्रुमरले करिब ६ सय किलोमिटर सडक बढारिसकेको महानगरको वातावरण प्रशासन महाशाखाकी प्रमुख सरस्वती पोखरेलले जानकारी दिइन् । ‘पाँच ब्रुमर २४० घन्टाभन्दा बढी समय चलेका छन् र ६ सय किलोमिटर सडक बढारिसकेका छन्,’ पोखरेलले भनिन् । मुख्य पाँच रुटमा महानगरले ब्रुमर सञ्चालन गरिरहेको छ ।
स्याबासी र आशंका
महानगरका ब्रुमर राति ८ बजेबाट नगर प्रहरी निरीक्षकको नेतृत्वमा सडकमा निस्कन्छन् । सडक सफा गर्न निस्किएका कर्मचारीले एक सातामा मिश्रित प्रतिक्रिया पाएका छन् । ब्रुमर चल्दा मानिस हेर्न निस्कन्छन्, भिडियोसमेत बनाउँछन् । ‘धेरै मानिसको चासो छ । हेर्ने र भिडियो खिच्नेहरू भेटिन्छन्,’ व्यवस्थापन विभागको कार्यालयमा एक ब्रुमरचालक भनिरहेका थिए, ‘कोहीले राम्रो कामको थालनी भएको भन्दै स्याबासी दिन्छन्, कोही मौन बस्छन्, कसैले गाली गर्छन् ।’ उनका अनुसार केही स्थानीयले ब्रुमरले सडक सफा गरिरहँदा ‘नाटक’को संज्ञासमेत दिने गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij