काठमाडौं । “यो भर्टिकल सेपरेसनले यहि देखाउँछ” दक्षिण इलामको चुलाचुली–९ शिखरकटेरीमा करिब १५ फिट जमिन खनेपछि अमेरिकी भूगर्भविद् प्रा.डा.स्टिभ वेस्नेस्कीले भने, “यो ठाउँमा कुनै युगमा महाभूकम्पको गएको थियो ।”
सो बिन्दुमा जमिनबाट करिब दश मीटर भित्र गेग्य्रानको तह एक्कासी चुँडिएको छ र, त्यसको पाँच मीटर भित्र गहिराईमा त्यस्तै अर्का गेग्य्रानको तह रहेको छ । भूकम्पको धक्काले जमिन खल्लिदा यस्तो दरार सृजना हुने अनुसन्धाताहरु बताउँछन् ।
प्रागऐतिहासिक तथा ऐतिहासिक भूकम्पहरुको खोजीमा सन् १९९५ देखि हिमालय पर्वतका बिभिन्न ठाउँ चहारिरहेका नेभाडा विश्वबिद्यालय, अमेरिकाको भूगर्भ विभागका प्राध्यापक वेस्नेस्कीले यसबीचमा १२ ठाउँमा उत्खनन् गरिसकेका छन् । यसक्रममा उनले पूर्वमा भारतको ब्रह्मपुत्र नदी किनारदेखि २४०० किलोमिटर पश्चिम भारतकै देहरादुनसम्मको पर्वतिय फेदीको चुरे श्रृंखलालाई कार्यक्षेत्र बनाएका छन ।
उनले चुलाचुलीमा २७ पुषदेखि चालु उत्खननमा भेटिएका दरार सन् १९३४ (२ माघ, १९९०) वा त्यस अघिको कुनै महाभूकम्पका दशी हुनसक्ने बताएका छन् । उत्खनन माघ दोस्रो सातासम्म चल्ने छ ।

यो अनुसन्धानबाट सन् १९३४ को महाभूकम्पको तिव्र धक्का नेपालको पूर्वी भाग र सन् १२५५ को महाभूकम्पको पश्चिमी क्षेत्रमा बढि देखिएको विज्ञहरु बताउँछन् । उत्खनन् गर्दा भेटिएका कोइलाका टुक्रा र माटोबाट सो ठाउँमा कहिले भूकम्प गएको थियो भन्ने पत्ता लाग्ने छ । यसका लागि उत्खनन् गरिएका कोइला र माटोका नमूना अमेरिकाको नेभाडा विश्वविद्यालयको प्रयोगशालामा पठाइने छ ।
संकलन गरिएका बस्तुबाट सो ठाउँमा भूकम्प गएको समय पत्ता लगाउन कम्तिमा पाँच महिना लाग्ने अनुसन्धानमा संलग्न नेपाली भूगर्भविद् डा.दीपक चम्लागाईले बताए । उनले अनुसन्धानको लागि आवश्यक विज्ञता र खर्चको लागि विदेशी विश्वद्यिालयसँग सहकार्य गरिएको जानकारी दिए । त्रिभूवन विश्वविद्यालयले केहि वर्षदेखि भूगर्भबारे अनुसन्धानको लागि ति विश्वविद्यालयसँग सहकार्य गर्दै आएको छ ।
यो अनुसन्धान टोलीले झापा, मोरङ र सुनसरीका पाँच ठाउँमा यस्ता दरार भएको प्रारम्भीक अध्ययनबाट खुलेको र चार ठाउँको उत्खनन् हुन बाँकी रहेको जनाएको छ । ८ रेक्टर भन्दा बढि म्याग्नीच्यूटको भूकम्पलाई महाभूकम्प मानिएको छ ।
यस पटकको अनुसन्धान टोलीमा वेस्नेस्की, त्रिभूवन विश्वविद्यालय भूगर्भ विभागका उप–प्राध्यापक डा.चम्लागाई र जापानको हिरोसिमा विश्वविद्यालयका प्रा.डा. यासुहिरो कुमाहारा र ति विश्वविद्यालयमा भूगर्भ विषय पढिरहेका चारजना विद्यार्थी सामेल छन् ।
करिव पाँच महिनापछि यो अनुसन्धानबारे जर्नलका लागि आलेख तयार गरिने पनि डा.चम्लागाईले बताए । भूकम्पबारे गरिने यस्ता उत्खनन् र अध्ययनले भूकम्प, यसको आवृति, भूकम्पले पृथ्वीको भौगर्भिक धरातलमा ल्याउने परिवर्तन लगायतका विषयमा सोध—सामग्री तयार पार्ने जापानी अनुसन्धाता प्राध्यापक कुमाहाराले बताए । “यसले भूकम्प र भूगर्भबारे जान्न चाहनेलाई मद्दत गर्नेछ” उनले भने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij