
वीरगञ्जका व्यापारी सुरेश केडिया अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेको दु्ई भारतीय अभियुक्तलाई आज सार्वजनिक गरिएको छ । भारत मोतिहारी जिल्ला रक्सौल नगर परिषद वडा नं. १७ बस्ने ३५ वर्षीय बब्लु पासवान र राजहर्नाही ग्रामपञ्चायत वडा नं. ३ बस्ने २५ बस्ने नन्की भन्ने विजय महतो (कुशवाहा) लाई सार्वजनिक गरेको हो ।
केडिया अपहरण मुक्त भइसकेपछि अपहरणकारीहरु विरुद्ध सुरेश केडियाको छोरा शौरभले जिल्ला प्रहरी कार्यालय बारामा अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना, संगठित अपराध मुद्दामा जाहेरी दिएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रेवती ढकालले बब्लु मुख्य योजनाकार र विजय अपहरणपछि गाडी चलाएर जाने व्यक्ति रहेको बताए । ‘भिश्वा क्षेत्रमा गस्ती गर्ने दुई जना मानिसहरु भेटिए, उनीहरु ०७३ जेठ १३ गते भएको व्यापारी सुरेश केडियाको अपहरणमा संलग्न व्यक्तिहरु रहेको तथ्य खुल्यो,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौं ।’
गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई २४ गते बिहान १ बजेको समयमा पक्राउ गरेको जानकारी दिए । उनीहरुलाई छिपहरमाई गाउँपालिका वडा नं ५ भिश्वा क्षेत्रबाट पक्राउ गरिएको दावी प्रहरीले गरेको छ । ०७३ जेठ १३ गते बाराको महागढीमाई नगरपालिका वडा नं. १ स्थित पसाहा पुलबाट अपरहणमा परेका केडियालाई जेठ १६ गते भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त गरिएको प्रहरीको भनाइ छ । अपहरण गरेर पैसा असुल्ने सक्रिय गिरोहले उनलाई अपहरण गरेको थियो |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij