
धनगढीस्थित नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाममा निजी अस्पताल सञ्चालनमा गर्न थालिएको छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङलगायत सात पहाडी जिल्लाका लागि खाद्य संस्थानका चामल भण्डारण गर्ने गोदाममा निजी अस्पताल सञ्चालन गर्न लागिएको हो ।
सारथि अस्पताल प्रालिले धनगढीको मेनरोडस्थित खाद्य संस्थानको सो गोदाम मासिक ६५ हजार रुपैयाँमा तिर्ने गरी संस्थानसँग भाडामा लिएका छन् । भाडामा लिएपछि अहिले अस्पताल सञ्चालनका आवश्यक भौतिक पूर्वाधार र संरचना बनाउन थालिएको छ । स्थानीय वेदप्रकाश जोशीसहित पाँच जनाको लगानीमा सञ्चालनमा आउन लागेको १५ शøयाको सो अस्पतालबाट विशेषगरी थारू समुदायमा देखिने सिकलसेलको उपचारसहित कृत्रिम गर्भाधान र क्यान्सरलगायतको विशेष सेवा सुविधा उपलब्ध हुने अस्पतालका प्रबन्ध निर्देशक जोशीले बताए ।
करिब ५ करोड रुपैयाँको लगानीमा सञ्चालन हुने सो अस्पतालमा आकस्मिक कक्ष (इर्मेजेन्सी), रिसेप्सन, प्रयोगशालालगायतको तयारी भइसकेको र शल्यक्रिया कक्ष, एक्सरे मेसिनलगायत आवश्यक स्वास्थ्यजन्य सामग्री ल्याउने काम भइरहेको उनले बताए । ‘अस्पताल सञ्चालनका लागि खाद्य संस्थानसँग सम्झौता भइसकेको छ’, प्रबन्ध निर्देशक जोशीले भने, ‘केन्द्रबाट सहमति गरेर नै संस्थानको अञ्चल कार्यालयले टेन्डर आह्वान गरेको थियो । टेन्डर प्रक्रियाबाट नै सो सम्झौता भएको हो ।’
खाद्य संस्थानका सेती अञ्चल प्रमुख प्रेमसिंह भण्डारीले नियमानुसार नै जग्गा भाडामा दिएको बताए । ‘हामीले केन्द्रको स्वीकृति लिएर टेन्डर आह्वान गरेका थियौं,’ उनले भने, ‘आवश्यकताभन्दा बढी भएका गोदाम विगतदेखि नै भाडामा दिइने गरेको छ ।’ आजको राजधानी दैनिकमा समाचार छ |
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij