२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सानाे लगानीमा पनि उद्यमशिल बन्ने वातावरण सिर्जना गर्ने कि आयातमै रमाउने ?

सानाे लगानीमा पनि उद्यमशिल बन्ने वातावरण सिर्जना गर्ने कि आयातमै रमाउने ?

नेपाल अहिले आयातमा नै रमाउँदै आएको छ । नेपालबाट युवाहरु रोजगारीको निम्ति विदेशिइरहेका छन् । परनिर्भर बन्दै गएको नेपालमा सानातिना लगानीका कार्यक्रमहरुलाई कसैले पनि प्रोत्साहन गर्न खोजेको देखिँदैन । खेतवारी बाँझो बन्दै जाँदा ग्रामीण भेग उजाड बन्दैछन् । ग्रामीण क्षेत्रमा पहिले देखि चल्दै आएका परम्परागत सीप हराउँदै गएका छन् । घरेलु उद्योगहरु लोप हुने अवस्थामा छन् । यस्ता साना घरेलु उद्योगहरुको संरक्षणमा नेपाल सरकारले अहिले सम्म प्रोत्साहनमूलक कार्यक्रमहरु ल्याउन सकेको पाईंदैन ।
यस्ता उद्योगहरुको निम्ति काम गर्दै आएका मानिसहरुको न कतै चर्चा हुन्छ न उनीहरुको निम्ति सहुलियत अनुदान र सहुलियतमा कर्जाको व्यवस्था नै हुन सकेको छ । यसले गर्दा यस्ता उद्यमशिल मानिसहरुमा जोश जाँगर मर्दै गएको छ ।
तर राज्यले सञ्चालनमा रहेका यस्ता उद्योगलाई बचाउनमा नलागेर ठूला लगानी भित्र्याउने काममा मात्र केन्द्रित भएको पाइन्छ । राज्यको निकै सहुलियतमा सञ्चालनमा आउने ठूला निजी लगानीको चर्चा खुबै हुने गरेको छ । यद्यपि नेपालमा ठूला निजी लगानी कत्तिको प्रभावकारी भएका छन् भन्ने सम्बन्धमा भने खासै वहस हुन सकेको छैन । नेपालमा निजी लगानी ल्याउने क्रममा पनि त्यो लगानीबाट नेपालले के कति लाभ लिन सक्यो भन्ने सम्बन्धमा पनि खासै चर्चा हुन सकेको छैन ।
के नेपालको निम्ति विदेशी लगानी आउने हो भने मुलुकको कायापलट तुरुन्तै हुन सक्छ त ? नेपालमा विदेशी लगानी ल्याउनु आफैँमा नराम्रो कुरा त होइन तर नेपालमा भएका साना उद्योगहरु अहिले जुन सञ्चालनमा पनि छन्, ती उद्योग व्यवसायको पनि संरक्षण हुने किसिमले नेपालमा विदेशी लगानी भित्र्याईंदैन भने त्यसले नेपालमा अर्को समस्या निम्त्याउन सक्छ । नेपाल सरकारले सबैभन्दा पहिले नेपालमा भएका घरायसी उद्योगहरुलाई पनि विशेष महत्वको साथ अघी बढाउनु जरुरी छ ।
अहिले नेपालबाट रोजगारीको निम्ति दक्ष तथा अदक्ष सबै किसिमका मानिसहरु बाहिरिइरहेको अवस्थामा नेपालमा घरेलु तथा साना उद्योगको महत्वलाई राज्यले गम्भिरतापुर्वक लिने र उनीहरुको दक्षता अभिवृद्धिको निम्ति सीपमूलक, प्राविधिक तालिमहरु उपलब्ध गराउने हो भने नेपालमा नै उनीहरुलाई रोक्न सम्भव हुने थियो । अहिलेको अवस्थामा नेपालमा यस्ता प्रयाशहरु खासै हुन सकेका पाईंदैनन् । साधारण ज्ञान र सीपको माध्यमबाट पनि काम गर्न सकिने र हाम्रा स्थानीय स्रोत र साधनको प्रयोगबाट नै स्थानीय स्तरमा राम्रो लाभ लिन सकिने किसिमले नेपालका युवाहरुलाई काममा लगाउने अवस्था नबनेको कारण अहिले खेतीपाती तथा जनावरहरु पाल्ने काममा नेपालका युवाहरु आकर्षित हुन सकेका छैनन् । फलतः एकातिर युवाहरु रोजगारीको अभावमा वेरोजगार बनेका छन् भने यसले समुदायमा विभिन्न किसिमका गतिविधिहरु पनि बढाएको पाइन्छ ।
अहिले आपराधिक क्रियाकलापहरु जुन हिसाबले बढेका छन्, त्यसमा नेपालमा भएका युवाहरुलाई सही व्यवस्थापन गर्न नसकिनु नै हो । शैक्षिक जनशक्ति अहिले रहर हुँदाहुँदै पनि कृषिबाट विमुख भइरहेका छन् । के यस किसिमको परिपाटी कायम रहँदै जाँदा हाम्रो देश विकासपथमा अघी बढेको छ त ? अर्को कुरा नेपालमा समयक्रमसँगै विभिन्न आन्दोलनको माध्यमबाट प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र तथा शासन सत्ताहरु आए । तर यी कुनै पनि शासन पद्धतिले नेपाली जनताहरुको हकहितको निम्ति काम गर्न सकेन ।
यस्ता आन्दोलनले केही परिवर्तन त अवश्य पनि ल्याएको छ । स्वतन्त्र रुपमा आफ्नो विचार व्यक्त गर्न पाउने अवस्था र सूचना तथा सञ्चारको पहुँच सबैमा पुगेको अलावा पछिल्लो समय अर्को किसिमको परिवर्तन पनि भएको छ । त्यो के भने नेपालमा काम गरेर बिहान र बेलुकाको छाक टार्नुपर्ने मानिसको गास खोसिएको छ । डर, त्रासको मानसिकता बोकेर दैनिकी बिताउनुपरेको छ । आयातित संस्कारको लहर शहरी क्षेत्रमा मात्र होइन, ग्रामीण क्षेत्र सम्म नै पुगेको छ । धनी र गरिब बीचको खाडल झन् बढ्दै गएको छ, जनवादको नाममा, पुँजीवादको नाममा, समाजवादको नाममा, साम्यवादको नाममा……..। तर कुनै नेपाली जनताले विरामी भएको अवस्थामा सिटामोल पाउने अवस्था छैन ।
किसानले उत्पादन गर्ने उपजको मूल्य छैन । अन्य क्षेत्रमा जस्तो कृषिमा पनि पनि कमिसनतन्त्र फस्टाइरहेको छ । पछिल्लो समय नेपालमा कृषिमा लागत निकै नै बढेको छ । बिऊ, मल, खेतालाको ज्याला, विषादी सबै कुरा पैसा तिरेर नै किन्नुपर्ने भएपनि किसानको उत्पादनले उचित सम्मान पाउन सकेको छैन । धादिङको कृषकको बारीबाट १५ रुपियाँमा किनेर काठमाडौंमा ल्याइएको गोलभेंडाको मूल्य ६० रुपियाँ तिर्नुपरेको छ ।
कुनै शिक्षित व्यक्तिले अध्ययन पश्चात् कृषिमा लाग्ने हो भने उक्त व्यक्तिलाई समाजले असफल व्यक्तिको संज्ञा दिने गरेको छ । यसले गर्दा पनि नेपालमा कृषि लगायतका आधारभूत क्षेत्रमा काम गर्न चाहने जागरुक युवाहरु पलायन हुनुपर्ने छ ।
नेपालबाट बर्षेनी लाखौँ मानिसहरु रोजगारीको निम्ति विदेशिने अहिलेको अवस्थामा विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपाली माटोमा उपयोग गरेको कमै मात्र देख्न र सुन्न पाइन्छ । तर हाम्रा पुर्खाहरुले भने नेपालमा कुनै पनि प्रविधि र ज्ञानको अभावमा पनि सामाजिक हित सोचेर प्रयाप्त कामहरु गरेको कुरा त हामीले देखेकै छौँ । तर हामीहरु अहिलेका युवा पुस्ताहरु ज्ञान, सीप र प्रविधिमा सम्पन्न हुँदाहुँदै पनि नेपालमा नै काम गरेर बस्न सकिने वातावरण किन बन्दैन ? के नेपालीहरु रोजगारीको निम्ति विदेशिने हो भने मात्र उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुने तर नेपालमा नै काम गर्न चाहनेहरु भने समाजका असफल हुने ? यस किसिमको सोच नेपालमा कायम रहने हो भने नेपालको अवस्था अबको ४÷५ दशक पश्चात् कुन अवस्थामा पुग्ला ?

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij