२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

शनिबारसम्म वर्षा र हिमपात हुने

शनिबारसम्म वर्षा र हिमपात हुने


काठमाडौँ । सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण मुलुकभर वर्षा र हिमपात शुरु भएको छ । जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

महाशाखाका मौसमविद् बरुण पौडेल मौसमको यो प्रणालीले पश्चिममा हिजो दिउँसोदेखि नै प्रभाव पारेको र आज बिहान काठमाडौँसम्म आइपुगेको जानकारी दिँदै भने, “अहिले काठमाडौँ पश्चिमतिरका क्षेत्रमा पानी परिहेको छ ।” यो क्रम पूर्वतिर सरिरहेको र पूर्वतिर आज पानी पर्ने जानकारी गराउँदै उनले यो अवस्था तीन दिनसम्म कायम रहनसक्ने बताए ।

हिमाली क्षेत्रमा पनि व्यापक हिमपातको सम्भावना देखिएको छ । “बादलको प्रकृति हेर्दा पश्चिमी हिमाली क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको हुनुपर्छ,” पौडेलले भने “शुक्रबार काठमाडौँ आसपासका अग्ला भूभाग फुल्चोकी, दामन, चन्द्रगिरिलगायत स्थानमा पनि हल्का हिमपात हुने देखिन्छ ।”

मौसमको यो प्रणालीले केही जाडो बढाउने देखिन्छ । आकाश खुल्ने र घाम लाग्ने स्थिति नभएकाले दिउँसोको तापक्रम कम भई केही बढी चिसो महसुस हुनेछ । शनिबारसम्म पश्चिममा आकाश केही खुल्ने जानकारी दिँदै उनले काठमाडौँ पूर्वतिर भने शनिबार पनि यसका अवशेष देखिने बताए । “पूरै देशभरिको आकाश खुल्न भने आइतबारसम्म नै कुनुपर्छ”, पौडेलले भने । विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij