काठमाडौं । १२औं संस्करणको मिस नेवाःका लागि नेवार समुदायका २८ युवती चयन भएका छन् । दुई चरणको अडिसनबाट करिब ४२ युवती छानिएकोमा तीमध्येबाट २८ युवती अन्तिम प्रतिस्पर्धीका रूपमा चयन भएका हुन् ।
नेप्लिज फेसन होमद्वारा आयोजिन ‘१२औं मिस नेवाः ११३७’ मा यसपटक अन्तिम प्रतिस्पर्धीका रूपमा करिब १ सय युवतीबाट २८ युवती चयन भएका हुन् । राजधानीको डिल्लीबजारस्थित सो संस्थाको सभा कक्षमा यी प्रतियोगीहरूको प्रशिक्षण सुरु भएको छ । उनीहरूको प्रशिक्षण गत साताबाट सुरु भएको नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।
अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका प्रतियोगीहरूमा कृजना डंगोल, स्नेहा महर्जन, आकृति महर्जन, विनीता डंगोल, मेरिना मानन्धर, गंगा देउला, ओमिजिना महर्जन, स्नेहा पुजारी, शिला प्रजापती, सलिना श्रेष्ठ, प्रतिसरा नापित, श्रीजु महर्जन, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ रहेका छन् ।
यस्तै, रोज महर्जन, मुना केसी, पल्पसा श्रेष्ठ, सृष्टि खड्गी, प्रमिला श्रेष्ठ, रोश्ना श्रेष्ठ, ओजस्वी श्रेष्ठ, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, लेनिना बज्राचार्य, आज्ञा कारञ्जित र जिनु त्वयाना पनि अन्तिम प्रतिस्पर्धी रहेका छन् ।
उनीहरूलाई यतिबेला, नेपाल भाषा, विभिन्न नेवारी कला संस्कृतिबारे प्रशिक्षण दिने कार्य भइरहेको पनि हेमा मानन्धरले जानकारी गराइन् । ‘नेवार समुदायका युवतीहरूलाई उनीहरूको व्यक्तित्व विकाससँगै प्रतिभा प्रस्तुतिका लागि हामीले १२ वर्षदेखि मिस नेवाः प्रतियोगिता आयोजना गर्दै आएका हौं । यो सुन्दरताभन्दा पनि सांस्कृतिक प्रतियोगिता हो र यसले नेपाल भाषासँगै नेवारी संस्कृति बारे नयाँ पुस्तालाई जागरुक बनाउँछ,’ उनले भनिन् ।
मिस नेवाःका प्रतियोगीहरूलाई रोजिन शाक्यले विभिन्न विषयमा प्रशिक्षण दिइरहेका छन् । उनी यो प्रतियोगिताको कोरियोग्राफी हुन् । यस्तै, पूर्वमिस नेवाः सुनीता खड्गीले नेपाल भाषाको प्रशिक्षण दिइरहेकी छन् । उनीहरूलाई विभिन्न नेवारी नृत्यको प्रशिक्षण डान्स कोरियोग्राफर रोहिया महर्जनले गराइरहेकी छन् । आगामी २६ माघमा राजधानीको कमलादीस्थित प्रज्ञा भवनको प्रेक्षालयमा हुने अन्तिम प्रतिस्पर्धाबाट १२औं मिस नेवाःको चयन हुने भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij