कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुको रकम बचत गराउनकाे निम्ति कसरत गरिरहेकाे छ। सञ्चय कोषको भनाइलाई मान्ने हो भने प्रवासमा रहने नेपालीले अवको एक वर्षभित्रै यो सुविधा पाउनेछन् ।
यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तरगतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् ।
अहिले खाडीको चर्को घाममा काम गरेर घर पठाएको पैसा घरायसी र विलासिताका सामान खरिदमा धेरै खर्च हुने गरेको छ । दुःख गरेर कमाएको पैसा उपभोगमै सकिएपछि विदेशबाट फर्किँदा पनि धेरैको अवस्था जहाँको त्यहीँ हुने गरेको छ ।
यसै कुरालाई ध्यान दिएर सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने गरी ऐन संशोधन गराइसकेको छ । कर्मचारी सञ्चय कोष ऐन- २०१९ को संशोधनभए पनि अब नियमावली संशोधन गरिँदैछ ।
नियमावलीका लागि कोषले मस्यौदा तयार गरिसकेको छ । अब अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषद्ले यसलाई स्वीकृति दिएपछि विदेशमा बस्ने नेपालीको बचत सञ्चय कोषमा ल्याउने प्रक्रियाको थालनी हुनेछ । विदेशका नेपालीलाई पनि सञ्चय कोषमा पहुँच दिन कोषले छलफललाईर् तीव्र पारेको छ । अर्को आर्थिक वर्ष २०७४/७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा आवद्ध हुन सक्ने कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले बताएका छन् । उनका अनुसार पहिलो चरणमा
साउदी, कतार, युएई, कुवेत लगायत खाडी मुलुकहरुबाट कामदारको रकम कोषअन्तरगत ल्याउने प्रक्रिया थालिनेछ । त्यसपछि लगत्तै मलेसियाका नेपाली कामदारलाई पनि कोषमा आवद्ध गर्ने योजना बनेको छ । कोरियाबाट यसको सुरुवात गर्ने योजना बनाइए पनि त्यहाँको कानुनले केही अप्ठेरो सिर्जना गरेको श्रेष्ठको भनाइ छ ।
खाडी राष्ट्रमा भने नेपालीहरु संगठित रुपमा रहेकाले यो व्यवस्थाको कार्यान्वयन सहज हुने अनुमान कोषको छ । खाडी देशहरुमै नेपाली कामदारको संख्या पनि सबैभन्दा धेरै छ ।
पहिलो चरणमा खाडीबाट सुरु गरेर त्यसलाई क्रमशः अन्य देशहरुमा पनि विस्तार गर्ने कोषको योजना छ । विदेश बसुञ्जेलको कमाइको केही हिस्सा बचत गर्दा अवकाशपछिको जीवनमा उपयोगी बन्नेमा आशंका छैन ।
बैंक एकाउन्टबाट भुक्तानी गर्ने तयारी ः
कुन मोडालिटीमा विदेश गएका कामदारलाई कोष अन्तरगत समेट्ने भन्ने लगभग तय भएको छ । तर, अन्तिम टुंगो भने लागेको छैन । कोषलाई विदशेससम्म पहुँच विस्तारमा सहयोग गर्न केही महिनाअघि सञ्चय कोषले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सम्झौता गरेको थियो ।
कोषले प्रवासी कामदारले कोषमा खाता खोल्ने र त्यसै मार्फत बचत रकम भुक्तानीको व्यवस्था गर्ने बताएको छ । ‘बैंक एकाउन्टबाटै आइडेन्टीफाइड गर्न सकिने गरी विदेशबाट रकम ल्याउने विषय टुंगो लागेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘हामी यो विषयमा सूचनाप्रविधि विज्ञसँग पनि छलफल गर्दैछौं ।’
विदेशबाट कामदारले महिनैपिच्छे रकम पठाउन झन्झट हुने भएकाले ३ वा ६ महिनामा एकैपटक बचत गर्न सक्ने गरी व्यवस्था मिलाइन लागिएकाे हाे । यसबाट विदेशबाट आएको रेमिट्यान्स उत्पादन मूलक क्षेत्रमा उपयोग गर्ने सरकारी नीतिलाई पनि यसले सहयोग पुग्नेछ । कामदारले पनि कोषमार्फत विभिन्न सेवा सुविधा पाउने भएकाले यो निकै उपयोगी हुने विश्वास छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij