२०८३ मंसिर ७ आइतबार

Nov 22 2026 Sunday

  • २०८३ मंसिर ७ आइतबार

२०८३ मंसिर ७ आइतबार

निर्मला पन्त हत्या प्रकरण: बम दिदीबहिनी बबिताको पोलियोग्राफ गराइने

निर्मला पन्त हत्या प्रकरण: बम दिदीबहिनी बबिताको पोलियोग्राफ गराइने


महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटना अनुसन्धानका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोली दोस्रोपटक महेन्द्रनगर आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीको ज्ञवाली नेतृत्वको टोलीले यहाँ अनुसन्धान समेत थालेको छ ।

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या भएको ३९औं दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन सकेको छैन । यसअघि गत ११ साउनमा हत्या अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी नेतृत्वमा तीन सदस्यीय टोली प्रविधिक सहयोग गर्न कञ्चनपुर पुगेको थियो । जीसी नेतृत्व टोलीले गरेको अनुसन्धान शंकास्पद भन्दै फिर्ता पठाइएको थियो ।

पहिलो टोली फिर्ता भएको डेढ सातापछि नयाँ टोली आएको हो । तर नयाँ टोली महेन्द्रनगर आएकोबारे जिल्ला प्रहरी कञ्चनपुरलाई पनि जानकारी नभएको अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता कृष्णराज ओझाले बताए ।

उनले भने, ‘यो घटना अनुसन्धान गर्न कुनै त्यस्तो टोली आएको छैन, आवश्यक परे प्राविधिक सहयोगका लागि मगाउँछौं ।’
कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले आवश्यक परे प्रहरी मुख्यालयबाट विज्ञ मगाएर अनुसन्धान गरिने बताए । ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं, प्राविधिक सहयोगका लागि अनुसन्धानका क्रममा सीआईबीलगायत विज्ञको सहयोग लिने काम भइरहेको छ,’ उनले भने ।

निर्मला हत्याकाण्डका सूत्र आरोपित बम दिदीबहिनीलाई प्रहरीले थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ । ८ भदौमा पक्राउ गरेर सुरुवातमा सात दिन म्याद थपेर अनुसन्धान अघि बढाइएकोमा १४ भदौमा प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न सात दिन म्याद थपेको छ ।

अनुसन्धानकै क्रममा बम दिदीबहिनीमध्ये बबिताको बयान लिइरहेको उनले जनाए । बहिनी रोशनीको बिहीबार जिल्ला अदालतमा थुनामा म्याद थप्नुअघि नै सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ।

‘बयान लिने क्रम सकिएको छ, घटनाबारे गम्भीर भएर लागेका छौं,’ अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले भने, ‘अनिता बमका बारेमा प्रक्रिया मिलाएर पोलियोग्राफ परीक्षण गर्ने तयारीमा छौं ।’ बहिनी रोशनी नाबालिक भएका कारण उनको हकमा भने यो प्रविधि नअपनाइने उनले बताए । अनुसन्धानका क्रममा थुनामा रहेका आरोपीले साँचो बोले÷नबोलेको विषयमा चेकजाँच गर्न प्रहरीले उनीहरूको पोलिग्राफबाट चेकजाँच गर्ने गरेको छ ।

बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि आएका केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोलीले घटनाको २६ औं दिन ४ भदौमा भीमदत्त नगरपालिका– १९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो ।

सीआईबीले निकालेको निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त हुन नसकेपछि सीआईबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो ।

प्रहरीले मानसिक अवस्था ठीक नभएका व्यक्तिलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको भन्दै पीडित परिवार तथा स्थानीयले आन्दोलन चर्काएका थिए । आन्दोलनले उग्ररूप लिएपछि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो ।

स्थानीयले सीआईबीको अनुसन्धानसमेत विश्वसनीय नभएको भन्दै आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले महेन्द्रनगर बजारमा एक साता कफ्र्यु समेत लगाएको थियो ।

आन्दोलन चर्केपछि ८ भदौमा सरकारद्वारा गठित छानबिन समितिका संयोजक सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो ।

मैनाली नेतृत्वमा तीनवटै सुरक्षा निकाय प्रतिनिधि र प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव सदस्य रहेको पाँच सदस्यीय उच्चस्तरीय छानबिन टोली महेन्द्रनगर पुगेको थियो । सो टोलीले पनि आवश्यक अनुसन्धान र सूचना संकलन गरिरहेको जनाएको छ । अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij