
सोफिआ । गत शनिबार पश्चिमी बुल्गेरियामा १७ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको जिम्मेवारी लिँदै बुल्गेरियाका तीन जना मन्त्रीले राजीनामा दिएका छन्।
पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन्।
क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले पत्रकार सम्मेलन गर्दै उनी सहित यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज संयुक्त राजीनामा जानकारी दिएका हुन्।
प्रधानमन्त्री बोयको बोरिसोभले शुक्रबार बिहानै तीनै जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको बताइएको छ।त्यसको केही समयपछि तीनै जना मन्त्रीले राजीनामा दिएका हुन्।
दुर्घटनापछि सम्वन्धित मन्त्रालयका उच्च अधिकारीहरुको तर्फबाट अपेक्षित र पर्याप्त सहयोग तथा तदारुकता नदेखिइएको भन्दै आलोचना भएपछि प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन दिएको बताइएको छ।
दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ। रासस/एएफपी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij