मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाले विगत ३३ दिन देखि गर्दै आएको रिले अनसनको स्वरुप परिवर्तन गर्ने भएको छ । माघ ४ देखि २४ घण्टे रिले अनसनलाई घटाएर १२ घण्टामा झारेको आन्दोलनका संयोजक ब्रह्माण्डले जानकारी दिए । मोर्चाले ६ गते बालुवाटार स्थित प्रधानमन्त्री निवास घेर्ने कार्यक्रम तय गरेको छ । यस सँगै मोर्चाले सिंहदरबारमा पनि धर्ना दिनेछ । मोर्चाले राखेका राष्ट्रियता सम्बन्धी २७ बुँदे माग राज्यले बुझ्न नमानेको अवस्थालाई लक्षित गरेर ‘सरकार २७ बुँदे ज्ञापनपत्र कहिले बुझ्ने’ भन्ने प्रश्न सहितको व्यानर तयार पारेको छ ।
शक्तिशाली न्यायिक आयोग र किर्ते नागरिकताको छानबिन लगायतका मागहरु मोर्चाले प्राथमिकताको साथ उठाउँदै आएको छ । यसै परिप्रेक्ष्यमा राज्य पक्षले ज्ञापनपत्र समेत बुझ्न नमानेको अवस्थामा राज्यलाई दबाब दिनु पर्ने उद्धेश्यले पहिलो चरणमा बालुवाटार स्थित प्रधानमन्त्री निवास घेराउ गर्ने, दोस्रो चरणमा सिंहदरबारको दक्षिण गेटमा धर्ना दिने र त्यस सम्म पनि राज्यले ज्ञापनपत्र बुझ्न नचाहे कुटनीतिक नियोगहरु मार्फत आफ्ना मागपत्रहरु बुझाउने साथै नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई कालो झण्डा देखाउने मोर्चाको कार्यक्रम छ ।
‘हराएको नेपाल खोज्न जाउँ, लुकाएको नेपाल खोस्न जाउँ’ भन्ने मूल नारा लिएर अघी बढेको यस मोर्चाले आगामी दिनमा जनताहरुसँग सहकार्य गरेर आन्दोलनलाई थप शशक्त ढङ्गले अगाडि बढाउने भएको छ । यस मोर्चाको आन्दोलनमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई झापड हान्ने पदम कुवँर सहितको करिब २ सय जनाको टिमले समेत ऐक्यबद्धता जनाइसकेको छ ।
अमेरिकी साम्राज्यवाद र विस्तारवादका संरचनाहरुलाई ध्वस्त पार्न सके मात्र नेपालको दीर्घकालिन राष्ट्रिय नीति तय गरेर मुलुकमा विधिको शासन कायम गर्न सकिने र यसबाट मुलुकको विकासको मार्गचित्र तयार हुने आन्दोलनका संयोजक ब्रह्माण्डको धारणा छ । उनले भने यसको निम्ति युवाहरुलाई जागरुक बनाउनुपर्छ ।
अहिलेको यस आन्दोलनमा आम नेपाली पार्टीका नीलकण्ठ पौडेल (जो अपाङ्ग पनि हुन्), प्राध्यापक जे एन घिमिरे, शशक्त राष्ट्रवादी युवा संघका कृष्ण गिरीका साथै गोविन्द बाहुनचुरे ‘ब्रह्माण्ड’ आन्दोलनको अग्र पंक्तिमा छन् । आन्दोलन अघी बढेसँगै समर्थकहरुको सहयोग पनि बढ्दै गएको बताइएको छ ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij