
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबार पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट खेल खेल्दैछ। २ दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट इतिहास रहेको नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्ससँग २ खेलको सिरिज खेल्न लागेको हो।
गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीनभित्र पर्दै पहिलोपटक ओडिआई नेशनको स्ट्याटस पाएको साँढे दुई महिनापछि नेपालले ऐतिहासिक सिरिज खेल्न लागेको हो।
नेपाल र नेदरल्याण्ड्सबीच यही बुधबार र शुक्रबार गरी ५० ओभरको दुई खेल हुनेछ।
जिम्बावेमा पछिल्लो पटक नेपालले ५० ओभरको खेल नेदरल्याण्ड्सँग नै खेलेको थियो र ओडिआई यात्रा पनि नेदरल्याण्ड्ससँग खेल्दै सुरु गर्न लाग्दै छ।
नेपाल र नेदरल्याण्ड्स नौला प्रतिद्वन्दी भने होइनन्। ५० ओभर र टी-२० मा पनि नेपाल र नेदरल्याण्ड्सले खेलिसकेका छन्। नेपालले दुबै फर्म्याटको खेल नेदरल्याण्ड्समा गएर खेलिसकेको छ। यसपटक पनि दुबै खेल नेपालले नेदरल्याण्ड्समा खेल्दैछ।
यसअघि ५० ओभरमा नेपाल र नेदरल्याण्ड्सले एकआपसमा ५ खेल खेलिसकेका छन्। जसमा नेदरल्याण्ड्सले ३ खेले जितेको छ भने नेपाल २ पटक विजयी भएको छ। सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वर्ल्डकप क्वालिफायरको प्लेअफ खेलमा नेपाल नेदरल्याण्ड्सँग ७ विकेटले पराजित भएको थियो।
यस्तै सन् २०१५ मा नामिबियामा भएको डिभिजन टू मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। २०१५-१७ को वर्ल्ड क्रिकेग लिग च्याम्पियनसिप अन्तर्गत दुबैले एक-एक खेल जितेका थिए।
यसैवर्ष मार्चमा जिम्बावेमा भएको वर्ल्डकप क्वालिफायरको प्लेअफमा नेदरल्याण्ड्सले नेपाललाई ४४ रनले पराजित गरेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij