२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

सरकार–केसी नौबुँदे सहमति, उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध

सरकार–केसी नौबुँदे सहमति, उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध


काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्धसहितको नौबुँदे सहमतिपछि २७औं दिनमा अनशन तोडेका छन् ।
सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच विगत तीन दिनदेखिको लगातार छलफलसँगै बिहीबार राति १० बजेर २० मिनेटमा नौबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सरकार र केसीबीचको सहमतिपछि नेपाल कम्युनिस्ट पार्टी (ने क पा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र केदारभक्त माथेमाले बिहीबार राति साढे १० बजे जुस पिलाएर केसीको अनशन तोडाएका थिए । सहमतिको वातावरण बनाउन नेम्वाङले महत्वपूर्ण भूमिका निभाउँदै आएका थिए ।

यो सहमतिसँगै काठमाडौं, ललितपुर र भक्तपुरमा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने भएको छ । संसद्मा पेस भएको विधेयकको दफा १२ मा उपदफा २ थप गरेर यस्तो व्यवस्था गर्न सरकार सहमत भएको हो । यसअघि आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्ने सहमति पनि भएको छ । त्यस्तै, उनीहरूलाई उपत्यकामा बाहिर जान पनि सुविधा दिइने भएको छ ।
सरकार र केसीबीचको सहमतिअनुसार मेडिकल कलेज सञ्चालन गर्न तीन वर्षसम्म आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन गरेको समेत हुनुपर्ने भएको छ । ऐन प्रारम्भ हुनुअगावै आशयपत्र पाइसकेको भएमा सर्त तोकिएको अवधिभित्र पूरा नगरेमा त्यस्ता शिक्षण संस्थाको आशयपत्रसमेत नवीकरण नगरिने सहमति भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशमा सो व्यवस्था भए पनि सरकारले हटाएर संसद्मा विधेयक पेस गरेको थियो । त्यसलगत्तै डा. केसी अनशन बसेका थिए ।
यसअघि, सरकारी वार्ता टोली र केसी प्रतिनिधिबीच मंगलबार सहमतिनजिक पुगे पनि बुधबार वार्ता बिथोलिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा बुधबार राति १ बजेसम्म केसीका माग पूरा गर्ने विषयमा केसी प्रतिनिधिसँग बालुवाटारमा छलफलपछि पुनः वार्ताको वातावरण बनेको थियो ।

प्रधानमन्त्री ओलीकै उपस्थितिमा बिहीबार बिहान बालुवाटारमा बसेको वार्ता सहमतिनजिक पुगेको थियो । त्यसपछि विधेयकबाहेक अन्य सातवटा मागमा केसी र सरकारी वार्ताटोलीबीच शिक्षा मन्त्रालयमा भएको सहमतिमा डा. केसीले त्यसमा केही बुँदा सच्याउन आग्रह गरेपछि पुनः नौबुँदे सहमति जुटेको थियो । वार्ता समितिमा सहमति भएको विषयमा डा. केसीले उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने विषयमा अडान राखेका थिए ।

त्यसपछि पुनः बिहीबार राति बालुवाटारमा बैठक बसेर सहमति निकालिएको थियो । सरकारले अध्यादेशलाई तोडमोड गरेर संसद्मा विधेयक पेस गरेको भन्दै डा. केसी १७ असारदेखि जुम्लामा अनशन बसेका थिए । त्यसको २२औं दिनमा सरकारले जीवन रक्षाका लागि भन्दै केसीलाई बलपूर्वक हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको थियो ।

सरकारले केसीसँग वार्ताका लागि शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा ३१ असारमा वार्ता समिति गठन गरेको थियो ।
बिहीबार दिउँसो केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म ¥याली निकाल्ने क्रममा टिचिङ अस्पतालका ३० भन्दा बढी डाक्टर तथा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij