२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बलाधिकृत रथी थापा प्रधानसेनापति बन्ने पक्का, को हुन् थापा ?

बलाधिकृत रथी थापा प्रधानसेनापति बन्ने पक्का, को हुन् थापा ?

काठमाडौं । नेपाली सेनाको नयाँ नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले गर्ने निश्चित भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापतिमा सिफारिस गर्ने निर्णय गरेसँगै उनी प्रधानसेनापति बन्ने निश्चित भएको हो ।

थापाले २५ साउनदेखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी २४ भदौबाट सकिँदैछ । नेपाली सेनामा अवकाशपूर्व एक महिना विदा बस्ने प्रचलन रहेकाले क्षत्री २४ साउनदेखि नै विदामा बस्नेछन् । त्यसपछि थापाले कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् । २४ भदौपछि थापाले पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी बहन गर्नेछन् ।

कायममुकायम प्रधानसेनापतिमा सिफारिस थापालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बलदेवराज महतसँगै एक वर्ष कार्यकाल थप गर्ने निर्णय गरेसँगै उनी नयाँ प्रधानसेनापति बन्ने निश्चित भएको थियो । दाहाल सरकारले एक वर्ष पदावधी नथपेको भए उनी गत असोजमा रथीबाटै अवकाश हुने थिए । थापासँगै पदावधि थपिएका महतले भने १६ कात्तिकमा ५८ वर्षे उमेर हदका कारण अवकास पाइसकेका छन् । उनको अवकाशका कारण थापा सेनापतिको एक्लो दौडमा थिए ।

लमजुङ पाखाथोकमा जन्मिएका थापा २०३६ सालमा सहायक सेनानीमा भर्ना भएका थिए । थापाको पल्टन गोरख बहादुर गण हो । नेपाली सेनामा आफूलाई अब्बल र क्षमतावान सावित गरिसकेका थापालाई सेनाभित्र उच्च व्यावसायिक सैनिक अधिकारीका रुपमा समेत चिनिन्छ ।

थापाले सेनाका महत्वपूर्ण विभाग मानिनै सवै ठाउँमा काम गरेर आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । उनले जंगी अड्डामा जनरल स्टाफ अधिकृत र प्रमुख सैन्य सचिवालयमा सम्पर्क अधिकृतको जिम्मेवारीसमेत बहन गरेका थिए । यस्तै, नेपाली सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशकको जिम्मेवारीमा पनि उनी रहेका थिए । उनले उपरथी हुँदा कार्यरथी तथा सम्भाररथीको समेत अनुभव बटुलिसकेका छन् ।

थापाले यसअघि प्यालेस्टाइन सीमा क्षेत्रस्थित राष्ट्रसंघीय मिसन, अनडफमा फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसकेका छन् । दुई वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।

थापाले सन् २००९ मा भारतको न्यु दिल्लीमा अवस्थित नेशनल डिफेन्स कलेजबाट नेशनल डिफेन्स कोर्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij