
काठमाडौँ । डा. गोविन्द केसीको समर्थनमा भोलि बिहीबार देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुनेभएको छ।
नेपाल चिकित्सक संघले आज यस्तो घोषणा गरेको हो।
एक दिने बन्दमार्फत् देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्याउन र सरकारलाई संवेदनशील हन सहयोग पुग्ने विश्वास संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा गरिएको छ।
‘तर यति हुँदा पनि सरकार संवेदनशील नभए संघ देशभर आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालसम्म बन्द गर्न बाध्य हुने’ पनि संघले चेतावनी दिएको छ।
संघले आन्दोलनको यस कार्यक्रमबाट देशभरका स्वास्थ्य संस्थामा हुन सक्ने कुनै पनि घटनाका सम्बन्धमा नेपाल सरकार नै पूर्ण जिम्मेवार हुने पनि बताएको छ।
उता डा. गोविन्द केसीको अनसनको १९ औँ दिन उनको मुटुमा गम्भिर समस्याहरु देखिएको छ। गएराति साढे बाह्र बजे र बिहानीको चार बजे गरी दुईपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिएको थियो।
पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गडबडीहरु धेरै पटक र धेरैको संख्यामा देखा पर्न थालेका छन्। यस्तै परिस्थिति रहिरहे डा.केसीलाई जुनकुनै बेला पनि सिसियुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ र यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी पनि उपचारमा संलग्न चिकित्सकहरुले विज्ञप्ति मार्फत गराएका छन्।
यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ । यो सँगै डा.केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र यसकिसिमको बढ्दो संक्रमणका कारण अब झन सेप्सिसको जोखिम बढेको छ । रगतमा पोटासियम , म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पुर्ण जोखिमका बारे डा.केसीलाइ बताइएको भएतापनि उनले ती तत्वहरु लिन अस्वीकार गरेका छन्।
हिजोको तुलनामा श्वासप्रश्वासमा आज झन कठिनाइ देखिएको छ जसका कारण चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको छ । छाती दुख्ने , वाकवाकी लाग्ने , रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास उल्लेख्य सुधार हुन सकेको छैन । निरन्तर नसाबाट स्लाइन पानी दिइनुको बाबजुद डिहाइड्रेसन (जलवियोजन)का लक्षणहरु देखिएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij