
काठमाडौं । पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाले अनसनरत प्राध्यापक डा. गोविन्द केसीको ज्यान तलमाथि भएमा त्यसको अपराधबाट नेपाल कहिल्यै मुक्त हुन नसक्ने बताएका छन्।
काठमाडौंकोको नयाँ बानेश्वरमा शनिबार भएको कार्यक्रममा सांसद थापाले प्रधानमन्त्री र मन्त्रीहरूले समेत डा. केसीले उठाएका विषयको गहिराई बुझ्न नसकेको बताए। ‘प्रधानमन्त्री र मन्त्रीहरूको अभिव्यक्ति सुन्दा लाग्छ उहाँहरू विषयको गहिराईमा पुग्नुभएको छैन’, थापाले भने, ‘बुझ्नुभएकै छैन म भन्दिनँ।’
गोविन्द केसीले उठाएका विषय उनले मात्र उठाएका नभई सरकारद्वारा गठित मेडिकल शिक्षासम्बन्धी माथेमा आयोगको कार्यदलले निकालेको निष्कर्ष भएकोले गम्भीरतापूर्वक सोचिदिन उनले सरकारलाई आग्रह गरे।
‘गोविन्द केसीको ज्यान तलमाथि भयो भने सिंगो नेपाल कहिल्यै अपराधबाट मुक्त हुने छैन’, उनले भने, ‘कृपया यो विषयलाई बुझिदिनुस्, यो गोविन्द केसीले उठाएको विषय होइन, प्रज्ञिक व्यक्तित्वहरू रहेको कार्यदलले उठाएको विषय हो।’
काठमाडौं उपत्याकामा १० वर्ष मेडिकल कलेज खोल्न नहुने विषय केदारभक्त माथेमा नेतृत्वको कार्यदलले निकालेको निष्कर्ष भएको दोहोर्याउँदै उनले प्रश्न गरे- ‘प्रधानमन्त्री र मन्त्रीहरूले त्यो प्रतिवेदनभन्दा फरक ढंगबाट केही भन्नुभएको छ भने म तपाईँलाई प्रश्न गर्छु- तपाईँको बुझाइ र ज्ञानको स्रोत के हो ?’
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले काठमाडौं बाहिरका सांसदले समेत विषय नबुझी काठमाडौंमा मेडिकल कलेज खोल्न किन नहुने भन्ने गरेकोमा आफूलाई दुःख लागेको बताए।
‘काठमाडौंमा मेडिकल कलेज खोल्ने अनुमति दिनुपर्छ भनेर काठमाडौंबाहिरका सांसदले समेत भन्नुभएको छ, म काठमाडौंको जनप्रतिनिधि हुँ तर म यहाँ मेडिकल कलेज आवश्यक छैन भन्छु’, उनले भने, ‘तपाईँहरू काठमाडौंमा मेडिकल कलेज आवश्यक छ भनेर आफ्नो क्षेत्रका जनतामाथि अन्याय गरिरहनुभएको छ।’
विश्वविद्यालयहरूले समेत नयाँ मेडिकल कलेजहरूलाई सम्बन्धन दिन सकिँदैन भनिरहेको सन्दर्भमा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले दिनुपर्छ भन्नु आश्चर्यको विषय भएको उनले बताए।
नेपालमा चिकित्शा शिक्षाका सम्बन्धमा प्राज्ञिक अध्ययन गरी निकालिएको निष्कर्ष माथेमा आयोगको प्रतिवेदनमात्र भएको स्मरण गराउँदै थापाले त्यसभन्दा बाहिर बोल्नुको अर्थ नभएको उनको भनाई छ। ‘विश्वविद्यालयहरू अब सम्बन्धन दिन सकिँदैन भनिरहेका छन् तर तपाईँहरू दिनुपर्छ भनिरहनुभएको छ’, उनले प्रश्न गरे- ‘म प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई प्रश्न गर्न चाहन्छु- दिनुपर्छ भने तपाईँको ज्ञानको स्रोत के हो?’
मेडिकल कलेज कहाँ खुल्छन् भन्ने कुरासँग दुर्गम गाउँमा विशेषज्ञ चिकित्सक जान्छन् कि जाँदैनन् भन्ने कुरा जोडिएको उल्लेख गर्दै थापाले काठमाडौंमा चर्को शुल्क तिरेर पढ्नेहरू दुर्गम गाउँमा जाँदै नजाने बताए।
काठमाडौंमा समेत मेडिकल कलेजमा सिट खाली भएको उदाहरण दिँदै उनले विद्यार्थी र बिरामीको अनुपात हिसाब नगरी हचुवाका भरमा मेडकिल कलेज खोल्ने अनुमति दिन नहुने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई मेडिकल हब बनाउने योजना सुनाउने गरे पनि जथाभावी मेडिकल कलेजहरू खोलेरमात्र त्यो सफल नहुने बताए। ‘गुणस्तर कायम गरेरमात्र मेडिकल हब बनाउन सकिन्छ, धेरै मेडिकल कलेज खोलेर होइन’, उनले भने, ‘मेडिकल कलेज पानी जहाज खोलेजस्तो होइन।’
थापाले प्रधानमन्त्रीले कार्यदलको प्रतिवेदनअनुसार विधेयक ल्याएमा उनकै इज्जत बढ्ने बताए। ‘तपाईँले घोषणा गर्दिनुस् भोलि संसदमा चिकित्साशिसक्षा विधेयक आउँछ र माथेमा आयोगको प्रतिवेदनअनुसार आउँछ, तपाईँकै इज्जत बढ्छ, यति कुरा बुझ्दिनुस्’, उनले भने।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij