
एजेन्सी । विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा ब्राजिल र मेक्सिकोले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन् । दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका हुन् ।
खेलको सुरुवाती समयमा नै मेक्सिकोले आक्रमक खेल खेल्दै गोल गर्ने एकपछि अर्को अवसर सिर्जना गरेको थियो । ब्राजिलले पनि पहिलो हाफको मध्यतिर राम्रो मौका गुमाउँदा अग्रता बनाउन सकेन ।
मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउने दाउँमा ब्राजिल रहेको छ । समरा एरिनामा सुरु भएको खेलमा ब्राजिलमाथि रोमाञ्चक जित हात पार्दै मेक्सिको विश्वकपको क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा मेक्सिको रहेको छ । ब्राजिल मेक्सिकोभन्दा बलियो टिम हो । यता, मेक्सिको पनि आफ्नो वास्तविक खेल खेल्दै ब्राजिललाई पराजित गर्ने रणनीतिमा छ ।
समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा भने ब्राजिलले कोष्टारिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो । आफ्नो तेस्रो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गर्दै समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
इता, मेक्सिकोले भने आफ्नो पहिलो खेलमा नै बलियो प्रतिद्धन्दी विश्वविजेता जर्मनीमाथि अपत्यारिलो नतिजा निकालेको थियो । जर्मनीलाई १–० गोलअन्तरले पराजित गरेको मेक्सिकोले आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई २–१ गोलअन्तरले पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा मेक्सिको स्वीडेनसँग ३–० गोलअन्तरले पराजित भएपनि उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij