
एजेन्सी । जारी फिफा विश्वकप फुटबलमा सोमबार (आज) राति हुने खेलमा एसियाली मुलुक जापानले बेल्जियमको सामना गर्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार राति पौने १२ बजे हुनेछ ।
समूह चरणका तीनै खेल जितेको बलियो टिम बेल्जियम र एसियाली टिम जापानबीचको खेल रोस्तोभ एरिनामा हुनेछ । बेल्जियम समूह जी को विजेता तथा जापान समूह एच को उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका हुन् ।
विश्वकपमा यसअघि बेल्जियम सन् १९८६ मा सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा अर्जेन्टिनासँग २—० गोल अन्तरले पराजित भएपछि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरेको थियो ।
तेस्रो स्थानका लागि भएको खेलमा बेल्जियम फ्रान्ससँग ४—२ गोलले पराजित भएको थियो ।
तर, जापानको विश्वकप उपलब्धी भने अहिलेसम्म अन्तिम १६ नै हो । सन् २००२ र २०१० मा विश्वकपको अन्तिम १६ सम्म जापान पुगेको छ । आज प्रि—क्वाटरफाइनल खेलमा बेल्जियमलाई पराजित गर्दै नयाँ इतिहास रच्ने रणनीतिमा जापान मैदानमा उत्रिनेछ ।
बेल्जियमले समूह चरणमा पानामालाई ३–०, ट्युनिसियालाई ५–२ तथा इंग्ल्याण्डलाई १–० ले हराएको छ । समूह चरणमा बेल्जियमले ९ गोल गरेको छ । यस्तै जापानले कोलम्बियालाई २–१ ले हराएको थियो भने सेनेगलसँग २–२ को बराबरीमा रोकिएको थियो । यस्तै अन्तिम खेलमा पोल्याण्डसँग १–० ले हारेको थियो ।
जापानको डर लुकाकु
बेल्जियमका रोमेलु लुकाकु रसिया विश्वकपमा सुरुका खेलदेखि नै चर्चामा रहे । उनले विश्वकपमा ४ गोल गरिसकेका छन् । जापानसँगको खेलमा उनी आक्रामक रुपमा मैदानमा देखा पर्न सक्छन् ।
पानामा विरुद्ध खेलेक लुकाकुले २ गोल गरेपछि बेल्जियमले पानामालाई ३—० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, समूह चरणको दोस्रो खेल ट्युनिसियासँगको खेलमा लुकाकुले २ गोल गर्दै रसिया विश्वकपमा आफूलाई गोल्डेनबुटको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् ।
तर, समूह चरणको अन्तिम खेलमा चोटग्रस्त भएपछि मैदानबाहिर रहेका लुकाकु जापान विरुद्धको खेलका लागि फिट रहेको बेल्जियमका प्रशिक्षक रोवर्टो मार्टिनेजले जानकारी दिएका छन् ।
लुकाकुसँगै बेल्जियमका कप्तान इडन हाजार्डलाई पनि जापानसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका रुपमा हेरिएको छ । हाजार्डले यसअघि ट्युनिसिया विरुद्धको खेलमा २ गोल गरेका थिए भने जापानसँगको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
जापानको भर केइसुके होन्डा र सिन्जी कागावा
एसियाली राष्ट्र जापान तेस्रो पटक विश्वकपको अन्तिम १६ खेल्दैछ । तेस्रो पटक प्रि—क्वाटरफाइनल खेल्न लागेको जापानको पहिलो रोजाइका खेलाडीमा केइसुके होन्डा रहेका छन् ।
अनुभवी खेलाडी केइसुके होन्डाले विश्वकप समूह चरणको पहिलो खेलमा एक गोल गरेका थिए । उनले विश्वकप समूह चरणमा कोलम्बिया विरुद्धको पहिलो खेलमा एक गोल गरेपछि जापानले कोलम्बियालाई २—१ गोल अन्तरले परजित गरेको थियो ।
विपक्षीबाट उत्कृष्ट पास निकाल्न सक्ने क्षमता भएका होन्डाले राम्रो खेल्ने अनुमान गरिएको छ । त्यस्तै, जापानका लागि सशक्त खेलाडीका रुपमा सिन्जी कागावालाई पनि हेरिएको छ । उनले यसअघि ट्युनिसिया विरुद्धको खेलमा एक गोल गरेका छन् । कागावा पनि बेल्जियमविरुद्धको खेलमा जापानका लागि पहिलो रोजाइका खेलाडी हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij