
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङले चिनियाँ रेल काठमाडौं पुग्नेमा आफू विश्वस्त रहेको बताएका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा सीले अधिकारीहरूलाई त्यसको सम्भाव्यता अध्ययन छिटो सक्न निर्देशन दिइसकेको पनि बताएको भेटमा सहभागी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए।
बुधबार दिउँसो ग्रेट हल अफ पिपल्समा दुई देशका प्रतिनिधि मण्डलसहित भेटवार्ता भएको हो। प्रतिनिधि मण्डलस्तरिय भेटवार्ता हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच पौने घन्टा एक्लाएक्लै भेटवार्ता भएको थियो। मन्त्री ज्ञवालीले भेट शिष्टाचार भए पनि दुई पक्षीय सम्बन्ध र सहकार्यका विभिन्न विषयमा कुराकानी भएको बताए।
‘नेपालले जे कुरालाई प्राथमिकतामा राख्छ त्यसमा चीन सहयोग गर्न तयार रहेको उहाँले बताउनुभयो,’ ज्ञवालीले संवाददाताहरूसँग भने,’हाम्रा लागि सबैभन्दा महत्वपूर्ण पूर्वाधार नै हो। त्यसमा पनि क्रस बोर्डर रेल्वे हो।’
उनले काठमाडौ-केरूङ रेलमार्गको पूर्वसम्भाव्यता अगस्टमा सकिने र त्यसपछि सम्भाव्यता अध्ययन सुरू हुने बताए।
रेलमार्ग बनाउन हामीले चीनसँग अनुदान मागेका छौं तर नेपालको महत्वपूर्ण र बहुआयामिक परियोजना भएकाले यसमा नेपालले पनि केही योगदान गर्नुपर्छ।’ यसअघि जेठ दोस्रो साता यो रेलमार्गको अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका ८ अधिकारी आएका थिए। एक साता लामो स्थलगत अध्ययन सकेर उनीहरू स्वदेश फर्केका छन्।
चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गर्न चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटलाई नियुक्त गरेको थियो। मन्त्री ज्ञवालीले भेटका क्रममा राष्ट्रपति सीले सबै चिनियाँ सहयोग बेल्ट एन्ड रोड इनिसिएटिभभित्र समावेश हुने बताएको जानकारी दिए। उनले नेपालमा तेल र ग्यासको उत्खनन र अन्वेषण गर्न र
शैक्षिक जनशक्ति उत्पादन सम्भाव्यताका विषयमा पनि छलफल भएको बताए।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij