
मस्को । विश्ववकप फुटबलअन्तर्गत समूह सि को खेलमा पोर्चुगल र स्पेन प्रतिस्पर्धा गर्दैछन् । एक पटक विश्वकप विजेता स्पेन र उपाधि विहीन पोर्चुगलबीच यो विश्वकपमा आ–आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।
जुन १५ मा हुने यो खेलमा रोनाल्डोलाई रोक्ने चुनौती उनकै रियल मेड्रिडका डिफेन्डर सर्जियो रामोस र बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको हुनेछ।
यसअघि सन् २०१० को विश्वकपमा यी दुई आमनेसामने भएका थिए। जहाँ डेभिड भियाको एक मात्र गोलमार्फत स्पेनले १–० को जित दर्ता गर्यो। तथ्यांकअनुसार यी दुईले अहिलेसम्म ३६ म्याच एक अर्का विरुद्ध खेलेका छन्। जसमध्ये स्पेनले १७ खेल र पोर्चुगलले ६ खेलमा जित हासिल गरेका छन् भन १३ खेल बराबरीमा टुङ्गिएको छ।
पोर्चुगलमा रोनाल्डोका अलावा रिकार्डो क्वारिस्मा, बेर्नान्डो सिल्भा, जोआओ मारिओ, पेपे, राफेलजस्ता स्टार खेलाडी रहेका छन्। त्यस्तै स्पेनमा पनि इस्को, आन्दे इनेस्टा, डिएगो कास्टा, डेभिड सिल्भा, रामोस र पिकेजस्ता स्टार खेलाडीले भरिपूर्ण रहेको छ।
रसियाको सोची शहरस्थित फिष्ट रंगशालामा नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा यी दुई टिमबीचको खेल सुरु हुनेछ । आफ्नो पहिलो खेलमा नै जित हात पार्दै अघि बढ्ने लक्ष्यमा दुबै टिम रहेका छन् ।
यस विश्वकपमा समूह चरणको सबैभन्दा ठुलो खेल स्पेन र पोर्चुगलको हुने भएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij