म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले शुक्रबारदेखि सदरमुकाम बेनी बजारमा माघे सँक्रान्ति मेला गरेको छ । नेपाली सँस्कृतिको संरक्षण गर्दै आन्तरिक पर्यटनको प्रबर्धन गरौं भन्ने नाराका साथ आयोजित मेलामा नृत्य प्रतियोगिता गरिएको छ ।
मेलामा छेलो हान्ने र लठ्ठो तान्ने र अन्धा निशानी प्रतियोगिता पनि गरिँदैछ । समितिकि अध्यक्ष अमृता भण्डारीका अनुसार स्थानीय प्रतिभा प्रस्फुटन गर्न मेला गरिएको हो । संघले विसं २०५९ देखि माघे संक्रान्तिलाई म्याग्दी महोत्सवका रुपमा मनाउन थालेको हो ।
महिला समितिले भने २०६६ देखि माघे संक्रान्तिलाई खाना महोत्सवको रुप दिएको हो । दुई दिने मेला हजारौंले भर्ने संघका महासचिव राजेश शाक्यले बताए । ‘मेलाले संस्कृति सम्बर्धनमा टेवा पुर्याउने छ’, उनले भने । मेलाको उद्घाटन पूर्व राज्यमन्त्री एवं साँसद नरदेवी पुनले गरिन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, संघका अध्यक्ष जीवन विश्वकर्मा, राजनैतिक दलका नेताहरु हरिकुमार श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, चन्द्रबहादुर घिमिरे, नरबहादुर पुन, डम्बरबहादुर बानियाँ, छवि विश्वकर्मा लगायतले मेलाको महत्वमाथि प्रकाश पारेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij