
मस्को । सिरियामा भएको भनिएको संदिग्ध रासायनिक हमलाका विषयलाई लिएर अमेरिका, फ्रान्स र बेलायतले आक्रमण गरेपछि रुस र अमेरिकाबीच चुलिएको मतभेद थप बढ्ने संकेत देखिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई पुनः सिरियामा कुनै सैन्य कारबाही गरेमा विश्वमा अराजकताको अवस्था सिर्जना हुने चेतावनी दिएको छ ।
सिरियाको डुमामा एक साताअघि भएको भनिएको रासायनिक हमलाको जवाफस्वरूप भन्दै तीन देशले शनिबार सिरियाका तीनवटा सैन्य अड्डामा बमबारी गरेका थिए । रुसले आधिकारिक वक्तव्यमा आलोचना गरेको थियो । पहिलोपटक पुटिन आफैंले अमेरिकालाई सिरियामा कुनै कारबाही नगर्न चेतावनी दिएका हुन् ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जारी गरेको वक्तव्यमा राष्ट्रपति पुटिनले राष्ट्रसंघीय बडापत्रको उल्लंघन गरी यस्तो हमला गरेमा अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको अवस्था पैदा हुने बताएको उल्लेख गरिएको छ ।
सिरियाका विषयलाई लिएर पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच पनि कुराकानी भएको छ । सो कुराकानीका क्रममा दुवै नेताले सिरियामा भएको हमलाबाट सिरिया समस्याको राजनीतिक समाधानको बाटोमा ठूलो नोक्सानी भएको निष्कर्ष निकालेका छन् । सिरियाको दमास्कस र होम्समा सैन्य कारबाहीपछि अमेरिका अब अर्को बाटोबाट बसर अल असद सरकारमाथि दबाब बनाउने कोसिसमा छ ।
आइतबार मात्रै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले अमेरिकाले सिरियासँग जोडिएका कम्पनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी थिइन् । सिरियामाथिको हमलालाई लिएर सुरक्षा परिषद्बाट निन्दा प्रस्ताव पारित गराउन असफल भएको रुसले अमेरिकाको कडा विरोध गरिरहेको छ ।
अमेरिकी टेलिभिजन सीबीएसलाई दिएको एक अन्तर्वार्तामा निकी हेलीले सिरिया सरकारको कथित रासायनिक हमलामा साथ दिएका रुसी कम्पनीमाथि आर्थिक प्रतिबन्ध लगाउने बताएकी हुन् । यसको जवाफ दिँदै रुसी संसद्को माथिल्लो सदनको रक्षा समितिका उपनिर्देशक एभगेनी सेरेब्रेनिकोभले रुस यी प्रतिबन्धका लागि तयार रहेको बताएका छन् ।
सरकारी समाचार एजेन्सी आरआईएले उनले आधिकारिक वक्तव्यमा उनले भनेका छन्, ‘प्रतिबन्धले हामीलाई समस्या पार्छ तर हामीलाई भन्दा बढी अमेरिका र युरोपलाई नोक्सानी पु¥याउँछ ।’ ७ अप्रिलमा भएको भनिएको संदिग्ध रासायनिक हमलाको विरोधमा शनिबार अमेरिका, बेलायत र फ्रान्सले १०५ वटा मिसाइल सिरियामा प्रहार गरेका थिए । तीन देशले असद सरकारलाई रासायनिक हमलाका लागि जिम्मेवार ठहर गरेका छन् ।
केही प्रत्यक्षदर्शी र मानवअधिकारवादी संस्थाले यो हमलामा दर्जनौं मानिस मारिएको बताएका छन् । सिरिया सरकार र उसका सहयोगी राष्ट्र रुस र इरानले भने यी आरोपलाई पश्चिमा राष्ट्रको षड्यन्त्र भन्दै खारेज गरेका छन् ।
यो हमलाअघि पनि रुसले अमेरिकाले सिरियामाथि हमला गरेमा युद्धको सुरुवात हुने चेतावनी दिएको थियो । राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेभेन्जियाले गत साता अमेरिकाले सिरियामा हमला गरेमा रुस र अमेरिकाबीच युद्धको आशंकालाई अस्वीकार गर्न नसकिने बताएका थिए ।
ट्रम्प प्रशासनले सिरियामाथि सैन्य कारबाही गर्दा पनि रुसले यसबारे निन्दा गर्नुबाहेक कुनै प्रतिरोध गरेन । अमेरिकाले नै सिरियामा गरिएको कारबाहीबाट रुस र इरानको सैन्य टुकडीमा कुनै क्षति नभएको बताएको छ ।हमलालाई लिएर बेलायतले रुसलाई बमबारीअघि सावधान नगराएको बताएको छ भने फ्रान्सले रुसलाई पहिले नै जानकारी गराएको बताएको छ ।
सिरियाको सरकारी समाचार च्यानलले सिरियाले आक्रमणको पूर्वजानकारी रुसले दिएका कारण पहिले नै खाली गरिएको बताएको छ । त्यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र इरानले पनि अन्तर्राष्ट्रिय नियम तोडेको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।
छिटोभन्दा छिटो सिरिया छाड्न चाहन्छ अमेरिका
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिटोभन्दा छिटो अमेरिकी सैनिक सिरियाबाट बाहिर निकाल्न चाहेको खुलासा भएको छ । शनिबार मात्रै सिरियामाथि हमला गरेको अमेरिकाले आफ्ना सैनिक सम्भव भएसम्म छिटो फिर्ता लैजान चाहेको हो ।
यसअघि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले एक अन्तर्वार्ताका क्रममा ट्रम्पलाई सिरियाबाट अमेरिकी सैनिक फिर्ता नगर्न सहमत गराएको बताएका थिए ।
तर ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले अमेरिकी सैनिक छिटोभन्दा छिटो बाहिर निकाल्ने बताएकी हुन् । उनले सिरिया मिसनमा अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट पारिन् ।
यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले अमेरिकाले छिटोभन्दा छिटो अमेरिकी सेना सिरियाबाट फिर्ता बोलाउने बताएका थिए । तर, त्यसको विपरित अमेरिकाले बेलायत र फ्रान्ससँग मिलेर रासायनिक हमलाको जवाफ भन्दै सिरियामाथि हमला गरेको थियो ।
फ्रान्सका राष्ट्रपति म्याक्रोले अमेरिकालाई सिरियाका केही सैन्य अड्डामा मात्रै हमला गर्न सहमत गराएको पनि दाबी गरेका थिए । राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले भने सिरियाबाट अमेरिकी सैनिक ६ महिनामा फिर्ता गर्ने ट्रम्पको योजना रहेको दाबी गरेकी छन् । उनले सिरियामा रासायनिक हतियार प्रयोग नहोस भन्ने सुनिश्चित गर्न अमेरिकाले चाहेको पनि बताएकी छन् । हेलीले अमेरिका सिरियामा आईएसलाई हराउन र इरानको प्रभाव रोक्नका लागि प्रतिबद्ध रहेको पनि बताएकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij