
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । परीक्षा अहिले विहान ८ देखि ११ बजेसम्म संचालन हुनेछ ।
२० गतेसम्म जारी रहने परीक्षामा आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार भोली अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको परीक्षा हुनेछ । ‘चैत १० गते शनिबार र ११ गते आइतबार चैते दशैं परेकाले परीक्षा हुदैन् ।’ नियन्त्रक रेग्मीले भने, ‘अन्य दिन भने क्रमिक रुपमा परीक्षा चल्नेछ ।’
परीक्षाका लागि देशभर एकहजार ९५६ परीक्षा केन्द्र तोकिएको र परीक्षामा एक हजार ९५६ केन्द्राध्यक्ष, ३ हजार ९१२ सहायक केन्द्राध्यक्ष र २३ हजार निरीक्षक खटाइएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । उनका अनुसार प्राविधिक तर्फका परीक्षा चैत १४ गते शुरु भई २० गतेभित्र सम्पन्न हुनेछन् ।
यसवर्ष नियमिततर्फ ४ लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार परीक्षार्थी रहेको बताइएको छ । गतवर्ष चैत ३ गतेबाट एसइई परीक्षा सञ्चालन भएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij